आज आम निर्वाचन

आज देशभर एकै चरणमा प्रदेशसभा र प्रतिनिधिसभाको निर्वाचन हुँदैछ । निर्वाचनमा करिव १ करोड ८० लाख मतदाता छन् । प्रदेशसभा र प्रतिनिधिसभा गरी हजारौं उमेद्वारहरु मैदानमा छन् । आज हुन गइरहेको आम निर्वाचनबाट प्रतिनिधिसभामा प्रत्यक्ष तर्फ १ सय ६५ र समानुपातिक तर्फ १ सय १० गरी २ सय ७५ जना सांसद चुनिन्छन् । यसैगरी सात वटा प्रदेशसभा तर्फ ३ सय ३० जना प्रत्यक्ष र २ सय २० जना समानुपातिक प्रणालीबाट गरी कुल ५ सय ५० जना सांसद चुनन्छिन् ।

निर्वाचन लगत्तै प्रतिनिधिसभाले नयाँ सरकार निर्माण गर्छ भने सातै वटा प्रदेशसभामा नयाँ सरकार निर्माण हुन्छन् । यसैगरी प्रतिनिधिसभा , राष्ट्रियसभा र प्रदेशसभाका सांसदहरुले केही दिन भित्रै नयाँ राष्ट्रपति तथा उपराष्ट्रपति निर्वाचित गर्छन् । त्यसैले आज हुन गइरहेको आम निर्वाचन विशेष महत्वपूर्ण छ । आशन्न आम निर्वाचन एकातिर संविधान कार्यान्वयन र लोकतन्त्रको संस्थागत विकासका लागि कोशे ढुंगा हो भने अर्कातिर मुलुकमा विद्यामान राजनीतिक दल तथा राजनीतिककर्मीहरुको अग्नी परीक्षा पनि हो ।

लोकतान्त्रिक मुलुकमा सबै भन्दा ठूलो पर्व भनेको आम निर्वाचन हो । आम निर्वाचन आँफैमा ऐतिहासिक पर्व हो । मुलुकको राजनीतिक इतिहासमा आम निर्वाचन सँधै जीवित रहन्छ । कुन आम निर्वाचनमा जनताले कस्ता प्रतिनिधि निर्वाचित गरे ? ति प्रतिनिधिहरुले देश र जनताको हितका लागि के के काम गरे ? भन्ने अभिलेख इतिहासमा अमिट रुपमा रहन्छ । यो कुरा हाम्रा सन्तान दरसन्तानहरुले अध्यायन गर्छन । त्यसैले मतदान गर्दा विवेक पुर्याउनु पर्छ भनिएको हो । क्षणिक आवेग तथा क्षणीक लाभहानीका आधारमा मतदान गरियो भने आँफु त पछुताउनु पर्छ पर्छ भावि सन्तान दरसन्तानलाई पनि पिडा हुन्छ ।
विगतमा मतदान गर्दा भएको गल्तीका कारण यतिबेला हाम्रो मुलुक आफ्नो आम्दानीले कर्मचारी समेत पाल्न नसक्ने अवस्थामा पुगेको छ । जसका कारण नयाँ रोजगारीको क्षेत्र निर्माण हुन सकेन । हाम्रो मुलुकका अधिकांश युवाहरु खाडी मुलुकमा पुगेर रगत र पसिना बगाउन वाध्य भए ।

जसरी अग्रजहरुले मतदान गर्दा क्षणिक लाभका आधारमा गरेको गल्तीको सजायाँ अहिलेको नयाँ पुस्ताले पाइरहेको छ, त्यसरीनै अहिले मतदान गर्दा झुक्किएर पनि गल्ती नहोस् भन्ने तर्फ हरेक मतदाताले सोच्नु पर्छ । चुनाव प्रति मतदाताहरुमा निराशा पक्कै छ , तर निराशा छ भन्दैमा सचेत मतदाताले चुनावमा भाग नलिने हो , या मतदानका क्रममा लापरवाही गर्ने हो भने अझै खराव व्याक्तिहरु शासन सत्तामा पुग्न सक्छन् ।

हामी नेपाली जनता संविधानतः सार्वभौम छौं । तर सार्वभौम अधिकारको प्रयोग हामी आँफैले सिधै गर्ने परिपाटी छैन । हरेक पाँच पाँच वर्षमा हुने आम निर्वाचन मार्फत हामी आफ्ना प्रतिनिधिहरु छान्छौ , तिनै प्रतिनिधिहरुले हाम्रो सार्वभौम अधिकारको प्रयोग गर्ने हुन् । त्यसैले हामीले मतदान गर्दा योग्य उमेद्वारको ख्याल गर्नु त जरुरी छँदैछ , साथ साथै आफ्नो राजनीतिक आस्थालाई पनि भुल्नु हुन्न । छद्मभेषी उमेद्वारहरुको पहिचान गर्नुपनि उत्तिकै आवश्यक छ ।

उदाहरणका लागि हामीले जे विचार बोक्छौं त्यो विचार प्रति हामीले मत दिएका उमेद्वारहरु इमान्दार हुनु पर्छ । अनि मात्रै जनता सार्वभौम छन् भन्ने कुराको पुष्टि हुन्छ । किनकी हामी पटक पटक झुक्किएका छौं । साधन र स्रोतको यति ठूलो खर्च तथा आपार जनसहभागितामा आम निर्वाचन गर्ने, तर जनताको वारेस लिएको कुनै एक व्याक्तिको सनकमा संसद नै विघटन गरिने अत्यान्त खराव परिपाटीबाट हाम्रो मुलुक गुज्रँदै आएको छ । यस्तापात्र तथा प्रवृत्तिलाई दण्डित गर्ने एक मात्रै अवसर हो, निर्वाचन ।

प्रतिक्रिया