अर्थतन्त्र ठप्प

उत्पादन वृद्धिको सूचक भनेको इन्धन हो । गत आर्थिक वर्षको सुरुका तीन महिनाको तुलनामा चालु आर्थिक वर्षको सुरुका तीन महिनामा पेट्रोलियम पदार्थको खपत ३० प्रतिशत घटेको छ, तर बिजुलीको खपत बढ्न सकेको छैन । इन्धनको खपत ३० प्रतिशत घट्दा औद्योगिक उत्पादन कति प्रतिशत घटेको होला ? बेरोजगारी कति बढेको होला ? विकास निर्माणको काम के कति ठप्प भएको होला ? भन्ने प्रश्नको उत्तर खोज्ने हो भने कहाली लाग्न सक्छ । किनकी आमनिर्वाचन घोषणा भए यताको तीन महिनाका अवधिमा १ लाख ७० हजार युवा श्रम स्वीकृति लिएर वैदेशिक रोजगारीमा गएका छन् । अन्य बाटोबाट बिदेसिनेहरूको संख्या त अझ कति छ कति ? हाम्रो देशको रोजगारीको मुख्य स्रोत भनेको निर्माण व्यवसाय हो । यो व्यवसायमा समाजका धनी वर्गभन्दा गरिब वर्गले अझ बढी रोजगारी पाइरहेका हुन्छन् । तर, निर्माण सामग्रीको व्यापार आधाभन्दा बढी घटेको व्यवसायीहरूले बताएका छन् । इँटा उत्पादन ८० प्रतिशत घटेको छ । छड उत्पादन ४० प्रतिशत घटेको छ । गिट्टी बालुवाको बिक्री ६० प्रतिशत घटेको छ । सिमेन्ट उत्पादन ७५ प्रतिशत घटेको छ । रङ उत्पादन ४० प्रतिशत घटेको छ । बेरोजगारी र महँगी बढेका कारण बैंकमा निक्षेप संकलन निकै घटेको छ ।

निक्षेप संकलनमा कमी आएका कारण बैंकहरूले व्याजदर बढाएका छन् । ब्याजदर बढेका कारण उद्योगी व्यवसायीहरू पलायन भएका छन् । उद्योगी व्यवसायी पलायन भएका कारण बेरोजगारी र महँगी बढेको छ । यसरी अर्थतन्त्रको चक्रमा नै गडबढ भइसकेको छ । समयमै होस नपुर्याउने हो भने कुनै पनि बेला मुलक धरापमा पर्छ । हुन त धेरैले श्रीलंका हुँदै छ भन्ने गरेका छन्, तर श्रीलंकाको संकट र नेपालको संकट फरक हो । श्रीलंकामा वैदेशिक मुद्राको मात्रै संकट परेको हो । स्वदेशी उत्पादन तथा प्रतिव्यक्ति आम्दानीमा खासै ठूलो गिरावट आएको छैन । प्रतिव्यक्ति आम्दानीको हिसाबले श्रीलंंका अहिले पनि नेपालभन्दा सात गुणामाथि छ । तर नेपालको संकट भनेको वैदेशिक मुद्राको होइन । किनकी स्वदेशमा बेरोजगारी बढेका कारण वैदेशिक रोजगारीमा जानेहरूको संख्या बढेको छ । पर्यटन व्यवसायले थोरै भए पनि राहत पुर्याएको छ । जनता कंगाल हुँदै गएपछि उपभोग स्वतः घट्छ । उपभोग घटेका कारण नेपालमा वैदेशिक मुद्राको त्यति ठूलो संकट नपरेको हो ।

यतिबेला सबैको ध्यान यही मंसिर ४ गते हुन लागिरहेको प्रदेशसभा र प्रतिनिधिसभा तर्फ छ । जुन स्वभाविक पनि हो । आमनिर्वाचन भनेको सबैभन्दा ठूला राष्ट्रिय पर्व भएकोले सबैको ध्यान जानु स्वभाविकै हो । तर चुनावमा ध्यान केन्द्रित गर्दै गर्दा अरू गतिविधिहरू ठप्प बनाउनुपर्छ भन्ने छैन । राज्य सञ्चालनको गति नबिग्रने गरी अन्य गतिविधि हुनुपर्छ । मुलुक सञ्चालनका लागि राज्यका अंग, निकाय तथा संयन्त्रको आआफ्नो भूमिका हुन्छ । राज्यका अंग, निकाय तथा संयन्त्रले आफ्नो भूमिकालाई कुनै पनि बहानामा बिर्सन मिल्दैन । दुर्भाग्यबस् यतिबेला राज्यका अंग, निकाय तथा संयन्त्रमा बस्ने कतिपयले आफ्नो जिम्मेवारी बिर्सेका छन् ।

चुनावमा होमिएका कारण जनप्रतिनिधिहरू काम चलाउ बनेको बेला स्थायी सरकार मानिने कर्मचारी संयन्त्र झन गम्भीर र अझ बढी जिम्मेवार बन्नुपथ्र्यो । तर यही मौकामा चौका हान्ने मानसिकताबाट हाम्रो कर्मचारी संयन्त्रमा रहनेहरू मुक्त भएको देखिएन । जसका कारण मुलुकको अर्थतन्त्र चौपट भएको छ । अर्थतन्त्रलाई टेवा पुर्याउने क्षेत्रमध्ये यो क्षेत्र त राम्रो छ भनेर सन्तोष मान्न सकिने अवस्था छैन । विदेशी मुद्राको सञ्चिति के कस्तो छ ? राज्यको आयव्ययको अवस्था के कस्तो छ ? भन्ने प्रश्न त अब गौण भइसकेका छन् । स्वदेशी उत्पादनहरू प्रायः सबै घटेका छन् । कतिसम्म घटेका छन् ? भन्ने एकीन तथ्यांक नयाँ सरकार आएपछि सार्वजनिक होला नै ।

प्रतिक्रिया