सरकारले ६८ वर्ष उमेर नाघेकालाई वृद्ध भत्ता प्रदान गर्दै आएको छ । यसका लागि राज्य कोषबाट मासिक अर्बाैं रुपैयाँ खर्च हुने गरेको छ । ६८ वर्ष उमेर नाघेपछि आय आर्जनको सक्रिय जीवन समाप्त हुने भएकोले राज्यले भत्ता दिएर पाल्नुपर्ने सरकारको नीति छ ।
आसन्न आमनिर्वाचनका क्रममा कतिपय राजनीतिक दलहरूले वृद्ध भत्ता पाउने उमेर ६८ बाट घटाएर ६५ वर्षमा झार्ने प्रतिवद्धता व्यक्त गरेका छन् । तर वृद्ध भत्ता वितरणको जस लिन तँछाडमछाड गर्दै आएका प्रमुख राजनीतिक दलका सक्रीय पदमा भने वृद्ध भत्ता खाने उमेर नाघेकाहरूकै हालीमुहाली देखिन्छ ।
पार्टीका पदमा त स्वभाविकै थियो, तर मुलुकका लागि अहोरात्र सक्रिय हुनुपर्ने राज्यका पदहरूमा समेत यही बुढो पुस्ता स्वयं उत्रिएको छ । उदाहरणका लागि प्रतिनिधिसभा तथा प्रदेशसभाको आशन्न आमनिर्वाचनका क्रममा दलहरूले अघि सारेका उम्मेद्वारहरूको अनुहार हेरे हुन्छ ।
महन्थ ठाकुर, रामचन्द्र पौडेल, चित्रबहादुर केसी र शेरबहादुर देउवा ८० वर्ष नाघिसकेका छन् । अर्जुननरसिंह केसी, दीपक बोहोरा, झलनाथ खनाल, कृष्णप्रसाद सिटौला, लक्ष्मणलाल कर्ण, डा.शेखर कोइराला, दीलेन्द्र प्रसाद बडु, डा.नारायण खड्का, सुवास नेम्वाङ ७० वर्ष नाघिसकेका छन् ।
६५ वर्ष नाघेकाहरूको त ठूलो लर्को नै छ । केपी शर्मा ओली, पुष्पकमल दाहाल प्रचण्ड, पूर्णबहादुर खड्का, ईश्वर पोखरेल, माधवकुमार नेपाल, कमल थापा, दीपकबहादुर सिंह, राजेन्द्र पाण्डे, सुजाता कोइराला, हृदयेश त्रिपाठी, सोमप्रसाद पाण्डे, विनोद चौधरी, कृष्णगोपाल श्रेष्ठ, भीमसेनदास प्रधान, पृथ्वीसुब्बा गुरुङ, किरण गुरुङ, अर्जुन जोशी, उमेश श्रेष्ठलगायत छन् ।
वृद्ध भत्ता पाउने उमेर काटिसकेका कतिपय नेताहरू सांसद बन्न मात्रै आशन्न आमनिर्वाचनमा उम्मेद्वार बनेका होइनन् । आमूल परिवर्तन हुने गरी नतिजा आएन भने अब प्रधानमन्त्री बन्ने पनि यिनै वृद्धहरू मध्येबाट हो । बहुमत त कुनै दलले ल्याउँदैनन्, आमनिर्वाचनपछि पनि अहिलेको जस्तै दलहरूबीच सत्ता बा“डचुड हुने निश्चित जस्तै छ ।
बाँडचुडका क्रममा प्रधानमन्त्री पद कांग्रेसको भागमा परे पुनः ८० वर्षीय देउवाले सत्ता संहाल्नेछन् । एमालेको भागमा परे ७० वर्षीय ओलीको हातमा सत्ता पुग्नेछ, माओवादीको भागमा परे ६७ वर्षीय प्रचण्डको हातमा सत्ता पुग्नेछ ।
यी बाहेकका पार्टी मध्ये पनि एकीकृत समाजवादीका अध्यक्ष माधव नेपाल ६९ वर्ष भइसके, मधेसी दलका नेता महन्थ ठाकुर ८० वर्ष नाघिसके । यतिसम्मकी देउवा, प्रचण्ड, ओली र रामचन्द्र पौडेलले त प्रधानमन्त्री बन्छु भन्दै भोट मागिरहेका छन् ।
त्यसैले उनीहरू प्रधानमन्त्री बने भने जनचाहना नै मान्नुपर्ने हुन्छ । मतदान गर्ने बेलासम्म के हुन्छ थाहा छैन, तर अहिलेसम्मको माहौल हेर्ने हो भने विगतका तुलनामा मतदातासचेत भइसकेको देखिन्छ । मतदाताले एउटै व्यक्तिलाई सधैँ किन जिताएर पठाउने ? भन्ने प्रश्न राख्न थालेका छन् ।
वृद्ध भत्ता खाने उमेर काटिसकेका पटके उम्मेद्वारहरू जहाँजहाँ पुग्छन्, त्यहाँत्याहाँ मतदाताले प्रश्न राख्ने गरेका छन्, ‘अहिलेसम्म तिमीले देश र जनताका लागि के गर्यौँ र अब यो वृद्ध उमेरमा के गर्न सक्छौँ ? तर वृद्ध उम्मेद्वारहरूले यो प्रश्नको सिधा जवाफ दिन सकिरहेका छैनन् ।
उनीहरूको भनाइ छ, ‘अब फेरी उम्मेद्वार बन्दिनँ, यसपटक बनिहालेँ, अन्तिम मौका दिनुहोस् ।’ यो उत्तरको अन्तैर्य हो, ‘भत्ता खानका लागि मौका पाउँ ।’ सहानुभूतिको भोट बटुल्ने मेलो हो यो । यस्ताहरूले जिते भने मुलुक सधँै यसरी नै चल्ने निश्चित छ ।
कम्तिमा पनि युवाहरू आउनुपर्छ । आजीवन जागिर खाएर पेन्सन लिने, त्यसपछिको फुर्सदिलो जीवन बिताउन सांसद बन्ने चाहनाका साथ पार्टीलाई चन्दा दिएर टिकट फुत्काउनेहरूको संख्या पनि उल्लेख्य छ । त्यसैले अबको पा“च वर्ष पछुताउनु नपर्ने गरी मतदान गर्न जनता जागरुक हुनु जरुरी छ ।
प्रतिक्रिया