चुनाव प्रचारमा कलाकारको प्रयोग

भारतीय सिनेमा जगतमा कुनै समय निकै चर्चामा रहेकी अभिनेतृ मनिषा कोइराला केही वर्षदेखि गुमनाम थिइन् । बुढ्यौलीमा प्रवेश गरे सँगै क्यान्सरजस्तो घातक रोगस“ग जुध्नु परेका कारण मनिषाको ‘फिल्मी करिअर’ स्थगित भएको थियो । तर एकसाता यता राजावादी पार्टी राप्रपाको चुनावी आमसभामा मनिषा देखापरेकी छन् । मनिषा सहभागी हुने आमसभालाई राप्रपाले निकै प्रचारप्रसार गर्ने गरेको छ । केही गुमनाम भए पनि मनिषाको ‘क्रेज’ अझै बाँकी रहेछ भन्ने कुरा राप्रपाको आमसभामा भएको उल्लेख्य जनउपस्थितिले पुष्टि गरेको छ । फिल्मी कलाकारलाई पार्टीहरूले उम्मेद्वारका रूपमा मैदानमा उतार्ने, चुनाव प्रचारका लागि प्रयोग गर्ने परम्परा छिमेकी देश भारतमा निकै पुरानो हो । नेपालमा भने अहिलेसम्म फिल्मी कलाकारहरूलाई उपभोग्य बस्तुको प्रचार गर्ने विज्ञापनमा प्रयोग गरिँदै आएको थियो । कलाकारहरूमार्फत आफ्नो पार्टीको प्रचार गर्ने पहिलो पार्टी नेपालमा राप्रपा हो । कोमल ओलीदेखि रेखा थापासम्म तथा करिश्मा मानन्धर सम्मलाई राप्रपाले प्रयोग गरेको थियो । तर यतिबेला कोमल ओली र करिश्मा एमालेमा छन् । कोमल ओली एमालेबाट उम्मेद्वार बनेकी छन् भने रेखा थापा राप्रपाबाट उम्मेद्वार बनेकी छन् । करिश्मा मानन्धर यसपटक निष्कृय छन् ।

नेपाली फिल्म जगतका नाम चलेका प्रभावशाली कलाकारले भन्दा यतिबेला मनिषा कोइरालामार्फत गरिएको प्रचारप्रसारका कारण राप्रपाले बढी चर्चा पाएको छ । जसको मुख्य कारण हो, ‘मनिषाको राजनीतिक पृष्ठभूमि ।’ मनिषा स्वयंमा राजनीतिक व्यक्तित्व नभएर विशुद्ध कलाकार हुन्, तर राजनीति वृत्तमा मनिषाका क्रियाकलापले केही चर्चा पाउँछ । किनकी उनी दूरदर्शी राजनेता बिपी कोइरालाकी नातिनी हुन् । नेपालमा जनअधिकार प्राप्तिको संघर्षमा बिपी कोइरालाको योगदान अतुलनीय छ । यति मात्रै होइन, नेपालको मुख्य समस्या र संवेदनशीलता के हो ? नेपालका लागि कस्तो किसिमको शासन व्यवस्था उपयुक्त हुन्छ ? भन्ने खाका सर्वप्रथम तय गर्ने राजनेता पनि बिपी हुन् ।

उनैले कोरेको मार्गचित्रको सेरोफेरोमा नेपालका लगभग सबै पार्टीहरू आइसकेका छन् । बिपी मात्रै होइन बिपी कोइरालाको सम्पूर्ण परिवारले नै नेपालको राजनीतिमा विशेष पहिचान बनाउँदै आएको छ । नेपाली कांग्रेस जन्माएको र हुर्काएको पनि कोइराला परिवारले नै हो । कोइराला परिवार र नेपाली कांग्रेस एकअर्काका पर्यायवाची जस्तै छन् । यो ७५ वर्षको अवधिलाई हेर्ने हो भने कोइराला परिवारका सदस्यहरू केही अपवादबाहेक सबै कांग्रेसमै छन् । विगत ७० वर्षदेखि कम्युनिस्ट राजनीतिक गर्दै आएका कमल कोइरालासमेत यतिबेला आफ्ना भाइका लागि भोट माग्दै विराटनगरको चोक तथा चिया पसलमा प्रकट हुन थालेका छन् । तर बिपी कोइराला स्वयंकी नातिनी मनिषा राप्रपाको चुनाव प्रचारमा जुटेकी छन् ।

मनिषा एकाएक नेपाली कांग्रेस वृत्तबाट अलग भएकी होइनन् । उनका पिता प्रकाश कोइराला स्वयंले ०४६ सालको जनआन्दोलनको विपक्षमा उत्रेर नेपाली कांग्रेससँगको संबन्ध विच्छेद गरिसकेका थिए । शाही शासनकालमा नेपाली कांग्रेसलगायत सम्पूर्ण दलहरू पूर्णलोकतन्त्रका लागि सडकमा उत्रेका बेला बिपी पुत्र प्रकाश कोइराला राजाका मन्त्री थिए । जनआन्दोलन दबाउन उनको विशेष भूमिका थियो । आफ्नो प्रत्यक्ष शासनकालका बेला तत्कालीन राजा ज्ञानेन्द्र शाहले देशका ५८ वटा नगरपालिकामा चुनाव गराएका थिए । त्यो चुनावको पक्षमा मनिषाको विशेष सक्रियता थियो ।

दलहरूले बहिष्कार गरेका कारण उक्त चुनावमा जम्मा १९ प्रतिशत मात्रै मतदान भएको थियो । कडा सुरक्षाका साथ उनलाई त्यतिबेला धेरै आमसभाहरूमा भाषण गर्न लगिएको थियो । न प्रकाश कोइरालाको प्रयोगले ०४६ सालको आन्दोलन रोकियो, न मनिषाको प्रयोगले ०६२ सालको नगर निर्वाचन सफल भयो । अहिले मनिषाको प्रयोगले राप्रपाले के कस्तो उपलव्धी हासिल गर्छ ? भन्ने थाहा पाउन मंसिर ४ पर्खनैपर्ने हुन्छ । बुझ्नुपर्ने कुरा के हो भने जतिसुकै मलजल गरे पनि हिमाली क्षेत्रमा धान फल्दैन, तराई क्षेत्रमा करु फल्दैन ।

राजतन्त्र ब्यूँत्याउनुपर्ने पक्षमा रहेको मत राप्रपाले यसै पनि पाउँछ । गणतन्त्रको पक्षमा रहेको मत जे सुकै हथकण्डा प्रयोग गरे पनि राप्रपाले पाउँदैन । पूर्खाले खाएको घिउको बास्ना सन्ततीको हातमा आउने युग अब छैन । अनुहार हेर्न मान्छे आमसभामा जालान्, तर मतदानका बेला जसले पनि आफू र आफ्ना सन्ततीको भविष्य हेर्छ । यो चुनाव भनेको सांसद मात्रै होइन राष्ट्रपतिसमेत छान्ने चुनाव हो । फेरि पाँच वर्षपछि कठघरामा उभ्याउने सोचका साथ जनताले मतदान गर्छन् । आफ्नो मतदान अन्तिम होस् भन्ने चाहना राख्ने जनताको तप्का अत्यन्त सानो हुन्छ ।

प्रतिक्रिया