मतदानको मिति नजिकै आइसक्दा पनि यसपटक चुनावी रौनक देखिएको छैन । मतदाताहरू खासै उत्साहित छैनन् । ठूला दलका शीर्ष नेताहरूले संवोधन गर्ने सभाहरूमा ह्वीप लगाएर कार्यकर्ताको भिड उतारिएबाहेक अधिकांश चुनावी सभामा मतदाताको सहभागिता देखिएको छैन । गाउँ घर तथा सहरका गल्लीहरूमा घुम्दासमेत चुनावी रौनक आएको महसुस गर्न सकिने अवस्था छैन । कसैलाई टेलिफोन गर्दा रिङटोनमा बज्ने घण्टी तथा मिडियाहरूमा आएका समाचारबाहेक चुनाव आउन लागेको महसुस मतदाताले गरेका छैनन् । पटकपटक सत्ता संहालेका नेताहरू समेत दुई÷चार जना मान्छे मात्रै लिएर घरदैलो गरेको देखिन्छ । उनीहरूको कुरा मतदाताले पनि खासै चासो दिएर सुन्ने गरेका छैनन् ।
विगतको तुलनामा तडकभडकपूर्ण प्रचार छैन । यो राम्रो पक्ष हो । तर, चुनावजस्तो सबैभन्दा महत्वपूर्ण र अपिरहार्य पर्वप्रति जनताको चासो घट्दै जानु, जुन पार्टी पनि उस्तै त हुन् नि भन्ने अभिव्यक्ति जनताको मुखबाट आउनु लोकतन्त्रका लागि अशुभ संकेत हो । पार्टीहरू प्रभावकारी नभएसम्म बहुदलीय संसदीय व्यवस्था संस्थागत हुँदैन । साविकका पार्टीहरूप्रति जनताको रुची घट्दै जाने तर नयाँ पार्टीहरू प्रभावकारी ढंगले स्थापित हुन नसक्ने अवस्था भयो भने बहुदलीय संसदीय व्यवस्था अघि बढ्न सक्दैन । दुर्भाग्यबस त्यही बाटोतिर मुलुक अघि बढिरहेको छ ।
मतदानको मिति आउन अब एक साता मात्रै बा“की छ । त्यसमा पनि पछिल्ला तीन दिन चुनावी प्रचारप्रसार गर्न मिल्दैन । अब प्रमुख दलहरूका लागि जनताबीच पुग्ने समय अत्यन्त कम छ । अहिलेसम्म जे जस्ता नारा, कार्यक्रम तथा भाषण लिएर प्रमुख दल तथा तिनका उम्मेद्वार जनताकहाँ पुगेका छन्, त्यसले मतदातालाई भड्भाउनेबाहेक केही गरेको छैन । सधैँ एउटै भाषण र नारा लिएर भोट माग्न आउने तर आफ्ना प्रतिवद्धता पूरा नगर्ने बासीअनुहारप्रति जनता वाक्कदिक्क भइसकेका छन् । उम्मेद्वारलाई मात्रै होइन दलहरूलाई समेत जनताले बासी भन्न थालेको अवस्था छ । व्याक्तिको विकल्प सहज हुन्छ तर पार्टीको विकल्प सहज हुन्न । पार्टी बन्न र स्थापित हुन दशकौँ वर्ष लाग्छ । नेपालका विद्यमान प्रमुख पार्टीहरू त सात दशकभन्दा लामो इतिहास पार गर्दै अनेक उतारचढाव बेहोरेका पार्टी हुन् । जनअधिकार स्थापित गर्नका लागि ठूलो संघर्ष गरेका पार्टी हुन् । यस्ता पार्टीप्रति त जनताको चाख खतरनाक ढंगले घटिरहेको छ भने विकल्प दिन्छौँ भन्दै आउने पार्टीहरू त पानीको फोकाजस्तै बिलाउने खतरा छ ।
उदाहरणका लागि गत आमनिर्वाचनका विकल्प दिने भन्दै उदाएका विवेकशील साझा पार्टीप्रति जनताको सहानुभूति राम्रै देखियो । तर पाँच वर्ष बित्दानबित्दै यो पार्टीको नामोनिशान छैन । पार्टीका अध्यक्ष स्वयं अर्को पार्टीमा प्रवेश गरेर उम्मेद्वार बनेको अवस्था छ । ०६४ सालदेखि तराईको मधेसी बाहुल क्षेत्रमा बैकल्पिक शक्तिका रूपमा उदाएका मधेसी दलहरू क्रमशः खिइँदै खिइँदै यतिबेला अस्तित्व रक्षाका चरणमा पुगेका छन् । यसपटकको चुनावमा नयाँ पार्टीका रूपमा राष्ट्रिय स्वतन्त्र पार्टीको नाम अधिकांश क्षेत्रका मतदाताले लिएको देखिएको छ । यो नयाँ पार्टीले चुनाव जित्ने मत ल्याउन सक्ला या नसक्ला, के कति सिट हासिल गर्ला ? त्यो त परिणामले नै देखाउँछ । तर, साविकका राजनीतिकदलहरू प्रति जनता के कति वाक्कदिक्क बनेका रहेछन् ? भन्ने कुरा स्वतन्त्र पार्टी तथा केही निर्वाचन क्षेत्रमा स्वतन्त्र उम्मेद्वारको पक्षमा आएको लहरले पनि पुष्टि गरेको छ ।
प्रमुख दलहरूले गलत उम्मेद्वार खडा गरेको निर्वाचन क्षेत्रमा जनता विकल्पका लागि उन्मुख हुनु स्वभाविक हो, हुनु पनि पर्छ । तर, ठूला दलले असल उम्मेद्वार खडा गरेका कतिपय निर्वाचन क्षेत्रमा समेत स्वतन्त्र तथा स्वतन्त्र पार्टीका पक्षमा लहर आउनु भनको गम्भीर संकेत हो । प्रमुख दलहरूका लागि सच्याउने ठाउँ अझै छ । आमनिर्वाचनपछि नयाँ र युवा उम्मेद्वार प्रधानमन्त्री बन्ने सन्देश लोकतान्त्रिक बाम गठबन्धन र वाम दक्षिणपन्थी गठबन्धनले यथाशीघ्र नदिने हो भने आफ्नो हातबाट अवशर गुम्छ भन्ने हेक्का ठूलादलहरूले राख्नै पर्छ । शेरबहादुर, प्रचण्ड या यस्तै यस्तै बासी अनुहारलाई भावी प्रधानमन्त्रीका रूपमा देख्न मतदाता तयार छैनन् भन्ने स्पष्ट संकेत देखिएको छ ।
प्रतिक्रिया