अध्ययन गरौँ अन्धभक्त नबनौँ

धार्मिक चिन्तन

मोहनप्रसाद सापकोटा

अहिले विषय नै पिच्छेका पढाइ भएजस्तै हजारौँ वर्ष अघि पढ्न, पढाउन र अनुसन्धान गरेर नतिजा निकाल्न एउटा कठोर नियममा बाँधिन सक्ने समूहलाई जिम्मा दिइयो । नियम कठिन भएकाले तीनले गति छाडे । कर्मकाण्डी भएर बसे । यजुर्वेदले समेत जात कर्मअनुसार विभाजन गरिएको हो, निश्चित काम गर्न निश्चित व्यक्तिलाई जिम्मा दिइयो भने नतिजा उत्कृष्ट आउँछ त्यसैले यो यो कर्म गर्नेले यो यो नियममा बसेर गर्नु भनेको छ । हामी कतै ‘ब्राह्मणोस्य मुखमासिद्…’ लाई गलत ढंगले व्याख्या गरिरहेका त छैनौँ । पुराणमा विश्वकर्माको जन्म र त्यसपछिका अन्य जातका उत्पत्तिका विषयमा लेखिएको वर्णनले हामीले लामो समय अघिदेखि अँगालेको मार्ग नै कतै गलत त थिएन भनेर सोच्न मलाई बाध्य बनाएको छ

वेददेखि पुराणसम्म सबैले यो संसारको उत्पत्ति एउटा अण्डबाट भएको हो भन्दछ । मूल अण्ड जसलाई ब्रह्माण्डको सुरुको अवस्था भनिन्छ त्यसको आकार अण्डाकार हुन्छ । त्यो पुरुषत्व (पोजिटिभ) हो । त्यसमा माया वा प्रकृति (नेगेटिभ) को सञ्चार भएपछि त्यो फुट्छ र त्यसैबाट सृष्टिको क्रम अघि बढ्दछ (बिगब्यांगको आधुनिक तर विवादास्पद सिद्धान्त) ।

मूल अण्ड जस्तो आकारको हुन्छ त्यसबाट हुत्पन्न भएका सबै खगोलीय पिण्डको आकार पनि अण्डाकार नै हुन्छ । मूल अण्ड वा पिण्डबाहेक अरू अण्ड वा पिण्डको गति जस्तो हुन्छ त्यसबाट बन्ने सबै पिण्डको गति पनि त्यस्तै हुन्छ । अर्थात जसरी पृथ्वीले सूर्यलाई घुम्दछ त्यसरी नै सूर्यले पनि उसको माउ पिण्डलाई घुम्दछ । (पृथ्वीको आकार र गतिका सम्बन्धमा पूर्वीय दर्शनको स्पष्ट धारण यही देखिन्छ, पश्चिमतिर जस्तो चेप्टो, गोलो आदि विवाद पूर्वीय दर्शनमा देखिन्न । ती एक आपसमा बलपूर्वक तान्निन खोज्दछन् । बलमा तलमाथि हुँदा युद्ध हुन्छ (पिण्डहरू जुद्धछन्) । यसबाट कहिले नयाँ ग्रह वा उपग्रह वा क्षुद्रग्रहको जन्म हुन्छ त कहिले कुनै तारा वा ग्रहको अस्तित्व नै लोप हुन्छ । (कुनै बेला बृहस्पतिको उपग्रह तारा (पत्नी भनिएको छ) चन्द्रमाको गुरुत्वाकर्षण क्षेत्रमा प्रवेश गरेको देखिन्छ । त्यसपछि त्यो भन्दा शक्तिशाली चुम्बकीय क्षेत्रले हस्तक्षेप गरी चन्द्रमाको आकार सानो बनाएको र बुध ग्रह बनेको (पुराणमा बुधलाई चन्द्रमा र बृहस्पतिकी पत्नीको नाजायज सन्तान भनिएको छ) प्रसंग देखिन्छ ।) यो प्रक्रिया मूल अण्डसम्म चलिरहन्छ । पृथ्वीले सूर्यलाई, सूर्यले ध्रुव तारालाई र ध्रुव ताराले मूल अण्डलाई घुमिरहने गर्दछ । जब महाप्रलयको समय आउँछ तब सबभन्दा पछि उत्पन्न भएका पिण्डको पहिले विनास हुन्छ । अर्थात पहिले पृथ्वी आदि ग्रह उपग्रहको त्यसपछिसूर्यको अनि धु्रवताराको विनाश हुन्छ । एवं क्रमले अनेकौँ पृथ्वी, अनेकौँ सूर्य र अनेकौँ ध्रुवतारा मूल पिण्डमा गएर विलीन हुन्छन् । भागवद्गीताले त्यो अन्तिममा सबैलाई विलीन गराउने मूल पिण्डलाई श्रीकृष्ण भनी नाम दिएको छ ।

ब्रह्म पुराण एवं पद्म पुराणमा जसरी नै ब्रह्मवैवर्त पुराणमा पनि हाम्रो यो सौर्यमण्डलले ध्रुवतारालाई घुम्छ भनिएको रहेछ । अहिलेसम्म सौर्य परिवारका अरू ग्रह एवं उपग्रहले सूर्यलाई घुम्दछन् भनेर विज्ञानले भनिरहेको छ । सूर्यले कसलाई घुम्छ वा घुम्दैन हाम्रो विज्ञानको सीमामा आइसकेको छैन । हाम्रै सौर्य परिवारमा भएका ग्रहहरूको संख्या पनि आधुनिक विज्ञानले स्थिर भएर भन्न सकिरहेको अवस्था छैन । कहिले बढाउँछ, कहिले घटाउँछ । मलाई लाग्छ एकदिन पूर्वीय दर्शनले भनेका कुरा सही सावित हुनेछन् । तर, हामीले त्यतिञ्जेल यो हाम्रो हो भनेर जोगाउन भने सक्नुपर्दछ ।


सांकेतिक रूपमा लेखिएका पौराणिक प्रसंगहरू हामी आफूजस्तै रूप, आकार र प्रकार दिएर पढिरहेका छौँ र त्यसैमा भुलिरहेका छौँ । अठार वटै पुराणले एकैस्वरमा भन्दछन् कि सूर्यका विषयमा नबुझिकन न त विष्णुका विषयमा बुझ्न सकिन्छ न त शिव वा दुर्गाका विषयमा नै । (सूर्यको आराधना गर, उनी खुसी भएपछि शिवको वा विष्णुको वा दुर्गाको आराधना गर्न सिकाउनेछन्, यी तीन खुसी भएपछि बल्ल तिमी मूल ईश्वरका विषयमा जान्न योग्य हुनेछौ) । किन ‘अरू सामान्य देवताले झुक्याउँछन् सूर्यसम्म पनि मानवलाई पुग्न दिँदैनन्, केही दिएर भुल्याउँछन्’ भनिएको होला ? किन श्रीकृष्ण (ब्रह्मवैवर्त महापुराण), माता दुर्गा (देवी भागवत) र भगवान शिव (शिव महापुराण) ले समेत ‘पहिला सूर्यको आराधना गर’ भनेका होलान् । हाम्रा शास्त्रले केही संकेत (क्लू) अवश्य दिएका छन्, हामी मिहिनेत गरेर अध्ययन गरी नतिजा पाउनतिर भन्दा पनि अन्धभक्त हुनतिर अभ्यस्त भएका छौँ । सदियौँदेखि पुराणवाचन हुँदै आए तर एकाध विद्वानले बाहेक यसरी सोचेको मैले पाएको छैन । पन्ध्रौँ शताब्दीमा यसरी नै सोचेर लेखिएको एक ग्रन्थ भेटिएको छ । तर उनको हत्या भएको थियो भनिएको रहेछ । समयले साथ दिए त्यसका कुरा पनि कुनै दिन उप्काउँला नै अलि अक्षर स्पष्ट छैनन् त्यो पुस्तकका मलाई खुब कठीन भइरहेछ ।

अहिले विषय नै पिच्छेका पढाइ भएजस्तै हजारौँ वर्ष अघि पढ्न, पढाउन र अनुसन्धान गरेर नतिजा निकाल्न एउटा कठोर नियममा बाँधिन सक्ने समूहलाई जिम्मा दिइयो । नियम कठिन भएकाले तीनले गति छाडे । कर्मकाण्डी भएर बसे । यजुर्वेदले समेत जात कर्मअनुसार विभाजन गरिएको हो, निश्चित काम गर्न निश्चित व्यक्तिलाई जिम्मा दिइयो भने नतिजा उत्कृष्ट आउँछ त्यसैले यो यो कर्म गर्नेले यो यो नियममा बसेर गर्नु भनेको छ । हामी कतै ‘ब्राह्मणोस्य मुखमासिद्…’ लाई गलत ढंगले व्याख्या गरिरहेका त छैनौँ । पुराणमा विश्वकर्माको जन्म र त्यसपछिका अन्य जातका उत्पत्तिका विषयमा लेखिएको वर्णनले हामीले लामो समय अघिदेखि अँगालेको मार्ग नै कतै गलत त थिएन भनेर सोच्न मलाई बाध्य बनाएको छ । फुर्सदमा यी विषय पनि छास्सछुस्स कोट्याउँला नै ।

मानव हुन् वा दानव जबजब तिनले प्रकृतिमाथि विजय गर्न खोजे तब तब नासिए । हजारौँ वर्षसम्म पृथ्वीमा मानवका पनि शासन भएका छन् र दानवका पनि भएका छन् । अन्तरीक्षमा वस्ती पनि बसेका थिए । दुबैको उत्पत्ति र शक्तिको स्रोत एउटै हो भनेर सबै शास्त्रले भन्ने गर्दछन् । जालन्धर, राजा पृथु, राजा बेन आदि मुख्य मुख्य पौराणिक पात्रका विषयमा सबै पुराणका कथालाई एकै ठाउँमा लेराएर हेरिरहेको छु । जबजब म मूल देवी वा देवतालाई कुनै पात्र बनाएर पढ्छु तबतब कतै केही पनि मिल्दैन पत्याउन नै सकिन्न । तर, जब म तिनै पात्रलाई कुनै ग्रह वा शक्ति (न्युट्रोन, प्रोटोन, जल, वायु, अग्नि आदिका रूपमा कल्पना गरेर पढ्न थाल्दछु तब नजानिँदो किसिमले गाँठो फुक्दै जाने गर्दछ ।


हामीले मान्ने भगवान् शिव यो सौर्यमण्डलका पुरुष तत्व र हामीले मान्ने गरेकी देवी दुर्गा स्त्री तत्व हुन् । पुरुष तत्व (प्लस) र स्त्री तत्व (माइनस) सबभन्दा सानो अणुदेखि लिएर सबभन्दा ठूलो बृहत् तत्व (पुराणका अनुसार) सम्म सबैमा हुन्छ । यी दुवै तत्वलाई सक्रिय पार्ने (आकर्षण वा विकर्षण गर्ने) तेस्रो तत्व हुन्छ, त्यो विष्णु तत्व हो । यी तीन तत्व एउटाको अनुपस्थितिमा अर्को बेकम्मा हुन्छन् । फरक फरकजस्ता देखिन्छन् तर एउटै हुन् । हाम्रो जस्तै सूर्य, पृथ्वी, ग्रह, नक्षत्र आदि भएका करोडौँ ब्रह्माण्ड (सोलार सिस्टम) छन् र ती सबै ब्रह्माण्डमा शिव, ब्रह्मा, विष्णु, दुर्गा आदि सबै छन् । जबसम्म हामी हाम्रो सूर्यका विषयमा रहस्य जान्दैनौँ तबसम्म बाँकी अरू सौर्य परिवारका विषयमा केही पनि थाहा पाउन सक्दैनाँै । सबै प्रमुख देवदेवीले ‘सूर्यको पहिले आराधना गर’ भन्नुको रहस्य मैले जानेसम्म यही नै हो ।

वेद अर्थात् ज्ञान

समाजमा दुई थरी अतिवादी हुन्छन् । कुनै पनि कुराको अन्ध समर्थक र अन्ध विरोधी । एकथरी भन्छन् अहिले विज्ञानले जेजति प्रगति गरेको छ त्यो पहिले पनि भएको थियो, वेदमा सबैथोक छ । अर्काथरी वेदको नाम नै सुन्न चाहँदैनन् । तेस्रो थरी धार हुन्छ जो पूजा गरिरहन्छ तर वेदको अर्थ जान्दैन । वेदको अर्थमा पनि संकलनमा छ । लामो कुरा बताउन आवश्यक छैन वेदको अर्थ भनेकै ज्ञान हो भन्दा पुग्दछ । वेद ब्रह्मा वा व्यास आदि कसैले पनि लेखेका होइनन् । जब लोप हुन खोज्दछ तब यिनले सम्झेर पुनर्जीवन दिन्छन् । किन कि स्मृति आदिले ‘ज्ञान कसैले सृष्टि गर्ने विषय नै होइन’ भनेका छन् ।

उपनिषदमा भनिएको छ, ‘जेजति ज्ञान छ त्यो सबै वेदमा छ र यो ब्रह्माण्डमा कुनै पनि कालखण्डमा जेजति प्रगति जीवले गर्दछ त्यसको स्रोत वेद नै हो ।’ समयअनुसार जीवले पाउने ज्ञान र त्यसमार्फत उसले गर्ने प्रगति फरक हुन्छ । सत्ययुगको एउटा चरणसम्म धर्म र पापको जन्म नै भएको हुँदैन । त्यतिखेर तिनले जे ज्ञान स्वतः पाउँदथे त्यहीमार्फत नै तिनका सबै आवश्यकता पूरा हुन्थे । समय बित्दै गएपछि त्यो ज्ञान लोप भयो । धर्म र पाप जन्मिए । कर्तव्य र अकर्तव्य बनाइए । त्यसपछि मानव सभ्यतालाई निरन्तरता दिन अर्को ज्ञानको उदय भयो । पहिले खेती, पशुपालन आदि नै गर्नु पर्दैनथ्यो अब खेती गर्ने र पशुपालन गर्ने ज्ञान तिनले पाए । यसैगरी हरेक युगमा नयाँ नयाँ ज्ञानको जन्म र लोप हुने गर्दछ । युगैपिच्छे ज्ञानको उत्कर्षको चरण (अप्टिमम प्वाइन्ट) हुन्छ र त्यसपछि त्यो ज्ञान लोप हुन्छ ।

शास्त्रमा अहिलेको विज्ञानको कल्पनाभन्दा पनि बाहिरका विज्ञानका चरम उत्कर्षका अनेकौँ उदाहरण दिइएका छन् । अन्तरिक्षमा बस्ती बसाएको, अन्तर–ग्रह आवतजावत गरिएको आदि अनेकौँ आश्चर्यजनक कुराहरू पाइन्छन् । महाभारत कालमै पनि यस्ता अनेकौँ कुरा पाइन्छन् । तर, ती सबै ज्ञान वा उपलब्धी अहिले रहस्यमय मात्र बनेका छन्, अर्थात् लोप भएका छन् ।

शास्त्र मूलतः दुई खण्डमा विभाजन भएका हुन्छन् । एउटा इतिहास वा कथा खण्ड र अर्को विज्ञान खण्ड । यी दुईखण्ड उपन्यास वा कमिक्सका किताब र पाठ्यपुस्तक जस्तै हुने गर्दछन् । कथा रमाइलो लाग्छ, सुन्ने र सुनाउने पनि प्रशस्त हुन्छन् । तर, जब ज्ञानको कुरा आउँदछ, तब बुझ्न बुझाउन अति नै कठिन हुन्छ ।

एउटा उदाहरण दिन चाहेँ । आकाश, वायु, तेज, जल र पृथ्वी यी पाँच तत्वको व्याख्या धेरै ठाउँमा धेरै किसिमले गरिएको पाइन्छ । यी पाँच तत्वमै सम्पूर्ण ब्रह्माण्ड बनेको छ भनिएको छ । आकाशको शक्ति वायुमा हुन्छ । आकाश र वायुको शक्ति तेजमा हुन्छ । आकाश, वायु र तेजको शक्ति जलमा हुन्छ । आकाश, वायु, तेज र जलको शक्ति माटोमा हुन्छ ।

यही मूल सिद्धान्तको प्रयोग गरेर सूर्यको प्रकाशबाट सुदर्शन चक्र, त्रिशूल, वज्र आदि आश्चर्यजनक हतियार बनाइएका थिए । कल्पनाभन्दा बाहिरका अनेकौँ सहर र भवन बनाइएका थिए । कहिले जलभित्र हुने तेज (अग्नि) को विशेष प्रयोग गरेर समुद्र सुकाइएका थिए त कहिले माटोमा हुने जलीय अंशको विशेष प्रयोग गरेर सुक्खा क्षेत्रमा नदीहरू निकालिएका थिए ।

जुन युगमा जसले जे प्रगति गरेको भए पनि त्यसको जड यही पञ्चतत्वको रहस्यमय प्रयोगबाट भएको देखिन्छ । हामी संकुचित दिमागका भएका छौँ । फराकिलो सोच नै आउँदैन । यसैले मानव सभ्यताका विषयमा सोच्न नै नसक्ने हुँदै गएका छौँ । के खान हुन्छ के हुँदैन आदिजस्ता अति सामान्य कुरामा तथा संख्यामा लगेर आआफ्ना धर्मलाई जोडिरहेका छौँ ।

मलाई तब आश्चर्य हुन्छ जब हाम्रै ऋषिमुनिहरू कसैले अत्यावश्यक हुँदा मान्छेकै मासु खाएका कथाहरू पढ्न पुग्दछु । बाँच्नका लागि खाउ, किन कि अरूले पनि खान पाउनु पर्दछ भन्दछ वेद तर हामी खानका लागि बाँचिरहेका छौँ । त्यसैले हामी स्वयं अशान्त छौँ र आफू बाहिर शान्ति खोजिरहेका छौँ ।

हरेक युगमा त्यही युगको ज्ञान अनुसारका प्रगति भए, हुन्छ र हुनेछ । पहिले जस्तो थियो अहिले त्यस्तै वा अहिले जस्तो छ पछि त्यस्तै खोज्नु मूर्खता मात्र हो, यस्तो हुँदैन भनिएको छ । त्यत्रो भव्य द्वारका बनाइयो, त्यसको बनोटको वर्णन हेर्दा अहिलेको विज्ञानले सोच्न पनि सक्दैन । तर प्रयोजन ? प्रयोजन वाणासुरबाट अपहरण गरिएका र पछि अपहरण मुक्त गरिएका हजारौँ स्त्रीहरूको निश्चित अवधिसम्म सुरक्षा गर्नु थियो । प्रयोजन सकियो, द्वारका पनि नासियो । वेद ज्ञानअनुसार पृथ्वीमा हुने प्रगति र पतन यसरी नै हुने गरेको देखिन्छ ।

वेद र उपनिषदले मानिसको जन्म, वर्ण, लिंग र जातलाई धर्मको आधार बनाएको छैन । हिन्दूले वा ब्राह्मणले होम गर्नु पर्दछ भनिएको छैन । यस्तो यस्तो कर्म गर्ने मानिसलाई ब्राह्मण भनिन्छ त्यसले समाजलाई यसरी अघि बढाउनु पर्दछ मात्र भनिएको छ । स्मृतिकालमा आइपुगेपछि आफूलाई र आफूले लेखेका ग्रन्थलाई जुन ऋषिले जतिसुकै वेदसम्मत भने पनि ती ग्रन्थमा तत्कालीन लथालिंग समाजलाई कठोर तरिकाले नियन्त्रण गर्नुपरेको यथार्थता पाइन्छ ।

पुराणहरूले स्मृतिकाल किन कठोर भयो भन्ने विषयमा कतै कतै केही स्पष्टीकरण दिएका छन् । तिनले स्रोत र साधनको कमी नै कठोर सामाजिक व्यवस्थाको कारण थियो भनी बताएका छन् । अस्तित्व नै संकटमा पर्न लागेको छ, तैपनि विश्वभरका ब्राह्मणमा ‘ब्राह्मणत्व’ छैन अहं मात्र बाँकी छ । पृथ्वीका हरेक खण्डमा र हरेक समूहमा सभ्यतालाई सही तरिकाले अघि बढाउने खालका ब्राह्मण जन्माउने कल्पना वेदले गर्दछ । तर हामी भएका एकाध ब्राह्मणको अस्तित्व पनि सिध्याउने गरी धर्मको अपव्याख्या गरिरहेका छौँ ।

मैले एउटा आधुनिक शब्द ‘बिन्दास’ सँग लगेर धर्मलाई जोड्न खोजेँ । सबै सन्यासी भए मानव सभ्यता पचास वर्षमै समाप्त हुन्छ भनिएको छ । हामी अहिले सबै बिन्दास (आधुनिक सन्यासी) हुन चाहन्छौँ । सन्यासी भए पनि बाँच्न त पर्दछ नै आत्महत्या गर्न हुँदैन । उसलाई बचाउन फेरी गृहस्थ चाहिन्छ ।

वैराग्य कर्मप्रति लक्षित हुनु हुँदैन । त्यसको फलप्रति लक्षित हुनु पर्दछ । व्यक्ति सक्रिय होस् निष्क्रिय उसको कर्म गराइले वा नगराइले मानव सभ्यतालाई असर गर्न हुँदैन । काम गर्नुपर्दा वा जिम्मेवारी वहन गर्नुपर्दा वैरागी हुने र उपभोग गर्नुपर्दा महाको भोगी हुने वर्तमान मानव समाजको प्रवृत्ति विनासोन्मुख छ ।

व्यक्ति बिन्दास हुँदा वा परिवार बिन्दास हुँदा त्यति ठूलो समस्या हुँदैन । तर, जब मानव समाज कर्तव्यकर्मबाट मुण्टो बटार्दै बिन्दास हुन थाल्दछ तब मानव सभ्यता नै संकटमा पर्दछ । बेडी लगाएर घरमा थच्चिन विवश मानवले यी कुरा मनन् गरुन् ।

देवता

ब्रह्माले सृष्टि गर्दा जेजति प्राणीको सृष्टि गरे तीनलाई तीन किसिमले वर्गीकरण गरिएको छ । (क) नांगा आँखाले एकले अर्कोलाई देख्न सक्ने प्राणी । (ख) अती सूक्ष्म (सूक्ष्मदर्शक यन्त्र आदिले मात्र देख्न सकिने) तर बेलाबेलामा (लामो समयको अन्तरमा) स्थूल हुन सक्ने प्राणी र (ग) मानवलगायत धेरै स्थूल शरीर हुने जीवका आँखाले वा कुनै यन्त्रबाट पनि देख्न नसकिने प्राणी । जसरी अति तीव्र वेग भएको प्लेनलाई राडारले देख्न वा जानकारी दिन सक्दैन, त्यसैगरी यी तेस्रो थरीका जीवलाई पनि आँखा आदिको राडारले भेट्न सक्दैन । तेस्रो थरीका सृष्टिमा देवता, राक्षस, भूत आदि लगभग ४० थरीका मुख्य प्राणीको नाम दिइएको पाइन्छ ।

यी तेसो थरीका प्राणीको आवागमनको माध्यम, किरण, हावा, पानी, माटो र अन्तरिक्ष हुने गर्दछ । स्वच्छ आकाश (दिव) मा विचरण एवं खेलबाड गर्ने र स्वच्छ मनका हुनाले देवतालाई ‘देवता’ भनिएको हो । अर्थात् जसले दिव (अन्तरीक्ष) लाई स्वच्छ राख्ने काम गर्दछन् तिनलाई देवता भनिन्छ र जसले दिवलाई प्रदूषित बनाउँदछन् तिनलाई दानव भनिन्छ । यसैले ब्रह्माण्डको अस्तित्व रहेसम्म दानव र देवताको अस्तित्व रहन्छ र कहिल्यै मेल पनि हुँदैन । एक हदसम्मको दानवमार्फत अन्तरीक्षमा हुने प्रदूषणलाई नियामक निकायले सहन्छ, त्यसपछि त्यो प्रदूषण र त्यसका कर्ता प्रदूषकहरू नासिन्छन् । यसैलाई देवताको दानवमाथिको विजय भन्ने गरिन्छ । आजीविकाका लागि वेदको कुनै एक अंश, शाखा, चारमध्ये कुनै एक वेद वा वेदका ६ अंगमध्ये कुनै एक अंगको अध्यापन गर्नेलाई उपाध्याय भनिन्छ ।

वेदज्ञान

सृष्टिको आधार रातमा नै हुन्छ । जब त्यो प्रत्यक्ष हुन वा उत्पन्न हुन वा देखिन चाहन्छ तब मात्र प्रकाशको आवश्यकता पर्दछ । अझ स्पष्टरूपमा भन्नुपर्दा संसारको सारा चल अचल कुराको सृष्टिको सुरुआत वा प्रारम्भ रातबाट नै हुन्छ । वृद्धि रातमा र क्षय दिनमा हुन्छ । यो ब्रह्माले समेत पालना गर्दै आएको बाध्यकारी नियम हो । जसले यो नियम लत्याई आफूलाई दिइएको अधिकारको दुरुपयोग गर्दै उज्यालोमा सृष्टि गर्न सुरु गर्दछ त्यसले विनाशलाई निम्त्याउँदछ । दिनमा सुरु गरिएको सृष्टिबाट जन्मने जीव पशुतुल्य हुन्छ अर्थात् दिनको सहवासबाट जन्मने जीवमा पशुत्व बढी हुन्छ । अपवादमा बाहेक पृथ्वीको आजसम्मको इतिहासमा दिउँस गर्भाधान भई जन्मिएका कुनै पनि चर्चित व्यक्तिको भविष्य उज्ज्वल भएको देखिएको छैन । त्यसैले दिनमा सहवास नगर्नु ।

यसपछि पुनः वेदमन्त्र रातको स्तुति गर्दै भन्दछ, ‘दिनभर चरेर साँझमा गोठतिर फर्किरहेको गाईजस्तै आउन लागेको रातलाई सम्झेर म हर्षित भइरहेको छु । हे भगवान् मलाई पनि ब्रह्माको पत्नीरुपी त्यो रातको उपासना गर्न दिनुहोस्, जसले गर्दा म पनि बलिया छोरानाती र दीर्घायु प्राप्त गर्न सकूँ ।’ जसरी कथा पढिन्छ रहस्य बुझ्न त्यति सहज छैन । संकलनबाट केही समेटेर पस्कन खोजेँ । कतै त्रुटी भए सच्याउन मद्दत गर्नुहोला । पढ्न जाँगर चलेर यहाँसम्म पढ्नुभयो यदि भने प्रतिक्रिया दिन पनि कञ्जुस्याइँ नगर्नुहोला । धन्यवाद ।

प्रतिक्रिया