सीमा र सीमान्त

मोहनप्रसाद सापकोटा

विषय नै संवेदनशील विषय हो त्यसैले जोखीजोखी शब्दहरू प्रयोग गर्न प्रयाशरत रहनेछु । प्रसंग वर्तमान मौसम र त्यसको पचासौँ वर्षदेखि नेपाल र भारतले भोग्नुपरिरहेको सनातन मारका विषयमा केन्द्रित गर्न प्रयास गर्नेछु । हरेक वर्षातमा कोसी नदीले मच्चाउने वितण्डाका कारण एकताका भारतको बिहारलाई ‘कोसीको दुःख’ उपनामले चिनिन्थ्यो । बाँध बनेपछि धेरै हदसम्म यो समस्या समाधान भयो तैपनि समस्याको पूर्ण समाधान भएन । यही समस्या अग्लो पहाडी भूभाग हुँदै समथर भूभागतिर बहने साना ठूला सबै नदी र खोलाहरूको छ । चाहे नेपालभित्रका हुन् वा नेपाल बाहिरका चुरेभन्दा दक्षिणतिर रहेका कुनै पनि वस्ती वर्षातका बेलामा चयनसँग सुत्न सक्दैनन् । सत्यता यही हो । मनको लड्डु घिउसँग खान र खुवाउन बानी लागेकाहरूलाई सन्तोष लिने बहानाहरू अनेक थिए, छन् र हुनेछन् । हामीले यसो ग¥यौँ र उसो ग¥यौँ भन्दै मञ्चबाट माइक टेस्ट गर्ने र थुतुनु फुलाउने प्रवृत्तिका विषयमा मलाई कुनै टिप्पणी गर्नु पनि छैन ।

दुबै देशका यो समस्याले ग्रस्त क्षेत्रको राजनीति यही समस्यालाई भजाएर आफ्नो दुनु सोझ्याउने गर्दछ । यसो गर्न थालेको पनि एक शताब्धी पुग्न लागिसकेको छ । उताको राजनीतिले सबै दोषजति नेपालतिर थोपरेर तथा यतातिरको सीमान्तकृत राजनीतिले सबै दोष नेपालको केन्द्रीय राजनीतिलाई थोपरेर आजसम्म राजनीति गर्दै आइरहेको छ । नेपालको केन्द्रीय राजनीति पनि नजानिँदो किसिमले भारततिर औँला देखाएर चोखो बन्दै आइरहेको छ । समस्याको दीर्घकालीन समाधान गर्न न ठूल दाजुले चाहिरहेका छन् न हामीले । बाढीले बर्सिनै प्रताडित हुन अभ्यस्त दुबैतिरका जनतालाई म यस मानेमा भेडा जनता भन्न रुचाउँछु । जसरी नेपालमा बाढी आउँदा बोरामा बालुवा भरेर चाङ लगाउँदै र हेलिकोप्टरबाट चाउचाउ खसाल्दै बजेट सक्ने गरिन्छ त्यसैगरी भारततिर पनि सक्ने गरिएको छ ।

नेपालसँग भारतको एउटा मात्र प्रमुख स्वार्थ छ र कालान्तरसम्म रहनेछ, त्यो हो पानी । समान भाषा, समान संस्कृति, समान धर्म आदि कुराहरू गौण कुराहरू हुन् । तिर्खाले आकुल भएको वा भोकले छटपटाएको व्यक्तिले केही खान वा पिउन जात, धर्म आदि कुराको खोजिनीति गर्दैन । यदि यसो हुँदो हो त नेपाललाई डुबाएर भारतले बाँध बाँध्ने काम गरिरहेकै हुँदैनथ्यो । यी कुरा गर्दा हामीले के भुल्नु हुँदैन भने चीनले ब्रह्मपुत्र नदीको पानीलाई आफ्ना लागि नियन्त्रण गरि दिएपछि भारतका लागि पानीका स्रोत साँघुरिँदै गएको छ ।

पहिले पहिले मानिसहरू बस्ती बस्दा चरिचरन र इन्धनका लागि नजिकै जंगल भएको र पिउनका लागि नजिकै पानीको मूल भएको स्थानलाई रोज्दथे । इन्धनको विकल्प पत्ता लगाइएकाले अब मानिसहरू पिउने पानीलाई बसाईं सर्ने मुख्य आधार बनाउँदै जानेछन् । त्यसैले बाह्रै महिना हिउँले ढाकिने प्रदेशहरू र त्यस आसपासका क्षेत्रमा आगामी दिनमा मानिसहरूको चाप बढ्दै जानेछ ।

यस प्रसंगमा म प्रायः सबै पुराणहरूले एक मुखले गरेको भविष्यवाणी उल्लेख गर्नु सान्दर्भिक ठान्दछु । ‘सुख सुविधाका लागि एकत्रित भएका बस्तीहरू कालान्तरमा खण्डहरमा परिणत हुनेछन् । एकातिर राज्यको अत्यधिक करको बोझ र अर्कोतिर जीवन धान्न चाहिने अत्यावश्यक कुराहरूको अभावका कारण मानिसहरू फेरि जंगल, गुफा र पानीको मुहानतिर छरिएर बस्न थाल्नेछन् ।’

पुराणका यी प्रसंग पढ्दा म आफ्नै राजधानीलाई सम्झन पुग्दछु । काकाकुल काठमाडौंको अवस्था आँखा अगिल्तिर पुराणले भनेका भविष्यवाणीसँग अनायास दाँजिन पुग्दछन् । मानिसहरू विज्ञानलाई बाँच्ने आधारका रूपमा पेस गर्दछन् । यसरी यताबाट पानी लेराउँछौँ उताबाट पानी लेराउँछौँ भन्दछन् । केही चिज लेराएर खान वा पिउन कतै न कतै त्यो चिज हुनै पर्दछ, पर्दैन र ? । स्रोत नै नासिए पछिको अवस्था कस्तो होला ? राजधानीमा कुनै दिन मेलम्चीको पानी खस्ला, तर मेलम्चीमै पानी कम भए वा सुकेपछिको विकल्प के हो ? हामीले गरिरहेको विकासको ढाँचाले स्रोतको संरक्षणतर्फ भविष्यलाई सोचेर ध्यान दिइरहिएको छैन । मृत उपत्यकालाई हेरेर तथा बढ्दो मरुभूमिकरणबाट तर्सेर विकसित देशहरू आफ्ना आफ्ना स्रोतको संरक्षणमा दत्तचित्त भएर लागेका छन्, हामी भने स्रोतको दोहनमै रमाइरहेका छौँ ।

समाजमा घरमा भएको अन्न बेच्ने र भोकले पीडित भएँ भन्दै मागेर खाने प्रवृत्ति बढ्दै गएको छ । यो मगन्ते रोगले झुपडीदेखि सिंहदरबारसम्मलाई गाँजेको छ । बेच्नलाई रोडा, ढुंगा, बालुवा, सिमेन्ट र काठ हुने तर पक्की र विश्वस्त हुने खालका तटबन्ध वा अन्य संरचनाहरू बनाउन स्रोत र साधन छैन भनेर टकटकिने संस्कार यही मगन्ते संस्कृतिको उपज हो । दुबैतिरका राजनीतिले इमानदारीपूर्वक गर्न चाहेको भए यो शताब्धीमा नेपाल र भारतका बाढीका समस्या अहिलेसम्म समाधान भइसकेका हुन्थे । तर हामी दुबैले चाहिरहकै छैनौँ, दुबै देशका कुहिएका राजनीतिले पानीलाई आफ्नो राजनीतिक अभीष्ट पूरा गर्ने माध्यम बनाउँदै आइरहेका छन् ।

फकाउँदा वा लोभमा परी धर्म, छोरीचेली मात्र होइन आफ्नो किड्नी बेच्नसमेत पछि नपर्ने बहादुर (?) हामी नेपालीहरूप्रति भारत कति विश्वस्त छ भन्ने कुरा उसको व्यवहारले देखाउँछ, आदर्श छाँट्ने गफका वा इतिहासका कुरा नगरौँ । त्यसैले उसले आफ्ना लागि नेपालका बनाएका हरेक बाँधको सुरक्षा व्यवस्था आफैँले गर्दै आएको छ । विश्वमा यस्ता देश अपवादमा मात्र छन् र हामी त्यही अपवादभित्र पर्दछौँ । विश्वभर बेचिनु पर्दा इमानदार र बहादुर भनेर नाक फुलाउने नेपालीको खस्केको यथार्थताको प्रमाण थप दिइरहन अब नपर्ला ।

मेरो छिमेकी बजेटमै कोसीउच्च बाँध बनाउने वा नेपालको यो भागमा यो विकास गर्ने भनेर यसरी बजेट विनियोजन गर्दछ कि मानौँ नेपाल उसैको प्याओ हो । यहाँका देशभक्तहरूको कथा के लेखिरहनु ? अरूले केही बेच्दा घोक्रो फुकाउँछन् र आफूले बेच्दा त्यही घोक्रो फेरि सुकाउँछन् । देशभक्ति पनि बजारमा किन्न बेच्न पाइन थालेको छ ।

इतिहासको त्यो पक्ष जो हामीलाई पढाइएन
काश्मिरका राजा जयापीड र नेपालका राजा अरमुडीका विषयमा कल्हणले लेखेको राजतरंगिणीका यी विवरण उद्धृत र अनुवाद गरी आज म हजूरहरूलाई सेयर गर्न अनुमति चाहान्छु । यो पुस्तक वि.सं. १२०५–१२०७ का बीचमा लेखिएको थियो भनेर इतिहासकारहरूले भनेका छन् । काठमाडौं उपत्यका मात्र नेपाल भनेर चिनिन्थ्यो भन्ने अजकल्टो हाम्रो ज्ञानलाई यो जानकारीले मिथ्या सावित गर्न हजूरलाई पनि सहायता गर्नेछ भन्ने आश गरेको छु । यसलाई पूरा पढी मेरो प्रयाशलाई केलाइ दिनुहोला ।
…काश्मिरका नरेश जयापीडको विजय–यात्राको क्रम चलिरहेको थियो । नेपाल देशका राजा अरमुडी जो अति चलाख, विद्वान्, पराक्रमी थिए, राजा जयापीडलाई हराउने वा फसाउने उपायका बारेमा सोचिरहन्थे । एकपटक जयापीडले उनीमाथि आक्रमण गरे । तर ती राजा अरमुडी जयापीडको गुलामी अस्वीकार गर्दै सेनासहित पहाडका दुर्गम भागतिर भाग्न लागे । राजा जयापीडले पनि कुनै पनि हालतमा अरमुडीलाई हराएरै छाड्ने दृढ विचार गरी उनलाई पछ्याउन वा लखेट्न थाले ।
यस क्रममा बाटामा पर्ने अनेक राजालाई उनले जिते । राजा अरमुडी कहिले अदृश्य हुन्थे, कहिले देखिन्थे । जयापीड पनि परेबाका पछि लागेको चील जसरी चारैतिर उनलाई खोज्दै हिँड्न थाले । भाग्दाभाग्दा राजा अरमुडीका अगिल्तिर अगाडि भाग्ने स्थान थिएन । उनले विशाल नदी (समुद्रगामिनी नदीका किनारमा सैनिक शिविर बनाएर बसे । जयापीड पनि उनलाई खोज्दै त्यही विशाल नदी र समुद्रको तिरमा पुगी शिविर खडा गरेर बसे । दुई÷तीन दिन त्यहाँ बसेपछि राजा जयापीड समुद्री हावाले फहराएका झण्डासहित ती पूर्व सागरतिर अगि बढे । त्यही नदीको अर्को किनारमा राजा अरमुडीको सैनिक शिविरका सेता झण्डा फरफराइरहेको थियो । अरमुडीको विशाल सेना र युद्धमा बजाइने बाजाको आवाजले जयापीडको रिसको आगोमा घिउ थप्ने काम गर्न पुग्यो । त्यस बेला बहिरहेको नदीको पानी घुँडाघुँडासम्म मात्र आउनेदेखि नदी तरेर अरमुडीलाई स्वाद चखाउँछु भन्ने सोचीआवेशमा सेनासहित नदी तर्न लागे । जब ती नदीको बीच धारमा पुगेका थिए अनायाश त्यो नदीमा अथाह पानी बहन लाग्यो ।

नदी तर्ने क्रममा राजा जयापीडका हात्ती, घोडा र सिपाही एकै छिनमा नदीले बगाएर लग्यो । जोशमा होस हराएका राजा जयापीडका पनि लगाएका बस्त्र र गहना नदीले बगायो । बलिया बाहुबलका कारण राजा नदीमा भेलसँगै पौडिरहेका थिए । तिनलाई नदीले बगाएर तलतल लगिरहेको थियो । जयापीडका सेनाको चित्कार तथा अरमुडीका सेनाको विजय स्वरले दसैदिशा गुञ्जायमान भइरहेको थियो । अरमुडीका सेना हावा भरिएका छालाका थैला लिएर किनारामा उभिइरहेका थिए । राजा अरमुडीले ती सेनालाई लगाएर राजा जयापीडलाई समाउन लगाए । उनलाई नदी किनारामा लेराई बाँधियो अनि बडो धूमधामसँग विजय उत्सव मनाइयो ।

भाग्य र बादल यी दुबै कुरामा सधैँ अनुकूल हुने अभ्यास हुँदैन । भाग्यले झिनो आश देखाएर मानिसलाई ठूलो शंकटमा धकेल्दछ भने बादल पनि पानीको आश देखाएर घनघोर वर्षा र चट्याङ दिने गर्दछ ।

राजा अरमुडीले राजा जयापीडलाई कालगंडिका (कालिगण्डकी) को किनारमा ढुंगैढुंगाले बनाइएको अत्यन्त बलियो किल्लामा अत्यन्त कडा पहराका साथ बन्दी बनाए । यसरी काश्मिरका राजा जयापीड फेरी संकटमा फसी महाशोकमा जल्न लागे । विद्वान राजा अरमुडीले उनीमाथि यति कडा पहरा दिन लगाएका थिए कि राजालाई घाम र जून पनि कहिल्यै दर्शन हुँदैनथ्यो । कालकोठरीमा राजाले एकदिन हावा छिर्ने सानो झ्यालबाट नजिकै नदी बगिरहेको देखे र त्यो बन्दीगृहबाट भाग्ने उपाय सोच्न लागे ।

त्यो बन्दीगृहमा बस्दा राजा जयापीडले आफ्नो निराशाजनक अवस्थाका बारेमा केही कविता लेखेका थिए, ती श्लोक पढ्दा आज पनि कोमल हृदयका विद्वानहरूका आँखा रसाउने गर्दछन् ।

यसरी राजा जयापीड बन्दी बनाइएको कुरा सुनेर काश्मिरका उनका चलाख मन्त्री देव शर्मा अत्यन्त दुःखी भए । त्यसपछि मित्र शर्माका पुत्र ती देव शर्माले ज्यानकै बाजी लगाएर भए पनि राजा जयापीडको उद्धार गर्ने विचार गरी राजा अरमुडीलाई दूतहरूमार्फत विभिन्न किसिमका प्रलोभन दिन थाले । उनले ‘जयापीडका सारा सम्पत्ती र काश्मीर राज्य म हजूरलाई सुम्पन्छु’ भनेर खबर पठाए । यो खबर पाएपछि राजा अरमुडीले प्रस्ताव स्वीकार गरेको खबर आफ्ना दूतमार्फत पठाए ।

यसरी सन्देश आदानप्रदान भएपछि काश्मिरका मन्त्री देवशर्मा आफ्ना सेना लिई नेपाल आए । तीनले आफ्ना सबै सेनालाई कालिगण्डकीको वल्लो तिरतिरै राखी केही विश्वासिला र सीमित सहयोगीलाई लिई नदीको पल्लो किनारमा रहेको राजा अरमुडीको किल्लामा गए ।

भारदारहरूले आएर ती मन्त्रीको स्वागत गरे र उनलाई राजा अरमुडीका सामु पेस गरे । देवशर्माले राजा अरमुडीलाई यथायोग्य अभिवादन गरे । राजाले पनि उनलाई उचित सत्कार गरी बसाए । केही छिनको कुराकानीपछि मन्त्री थकित भएको देखी राजाले उनलाई आराम गर्न बिदा दिए । देवशर्माले पनि राजाले दिएका उपहार स्वीकार गरी त्यो दिन आराम गृहमा बिताए ।
अर्को दिन देवशर्मा र अरमुडीका बीचमा ढुकुटी निरीक्षणका र भविष्यका योजनाका विषयमा छलफल भयो । त्यसपछि मन्त्री देवशर्माले भने, ‘जयापीडले जम्मा गरेको धन सैनिकका साथमा छ, तर अरू धन राखेको ठाउँ राजा जयापीड र उनका केही विश्वासपात्रलाई मात्र थाहा छ ।’

त्यसैले राजा जयापीडलाई ‘तिमीले धन दिए काराबाट मुक्त हुन्छौ, कहाँ राखेको छौ धन भनेर सोधियोस्’ समेत भने । यसैकारण मैले आफ्ना सेनालाई परै राखेको छु । त्यो खजानाका बारेमा जानकारी राख्ने सैनिकलाई सेनाका बीचमा बन्दी बनाउन सकिन्न । तीमध्ये एक÷दुई जनालाई बोलाएर थुन्न सजिलो हुन्छ । अरू सैनिकले हाम्रो योजना थाहा पाउने छैनन् ।

यसरी कुराकानीमा भुलाएर चतुर मन्त्री देव शर्मा आफ्ना राजा जयापीड भएको स्थानमा पुग्न सफल भए । बन्दीगृहभित्र मन्त्रीले राजालाई उनको शारीरिक शक्तिका बारेमा सोधे र पौडेर नदी पार जान सक्ने नसक्ने भन्ने विषयमा प्रश्न गरे । झ्यालबाट नदीमा हामफाली नदी तर्नसके नदीको पल्लोतिरमा आफ्ना सैनिक रहेको जानकारी गराए ।

राजाले हावा भरिएका छालाको थैलोबिना यो नदी तर्न नसकिने बताए । थैलै लिएर यति माथिबाट नदीमा हाम फाल्दा पनि छालाको थैलो प्वाल पर्न वा फुट्न सक्दछ । अतः यो तरिकाले यहाँबाट भाग्न सकिन्न, तर त्यत्तिकै यो अपराधी राजालाई दण्ड नदिई मर्न पनि उचित हुन्नसमेत भने ।

त्यसपछि मन्त्री देव शर्माले राजा जयापीडलाई भने ‘महाराज हजूर केही निहुँमा दुई घडीका लागि बाहिर जानुहोस् । अनि आएर देख्नुहुनेछ कि हजूरलाई नदी तर्ने उपाय यहाँ ठिक्क भइरहेको हुनेछ । हजूर त्यो उपायलाई विनासंकोच प्रयोग गर्न सक्नुहुनेछ ।’

मन्त्री यस्तो कुरा सुनेपछि राजा दिशा गर्ने निहुँमा बन्दीकोठाबाट बाहिर गए र मन्त्रीले बताएको समयसम्म बाहिरतिरै बसे । समय बितेपछि जब राजा भित्र आए तब मन्त्री देवशर्मा झुन्डिएर मरिरहेको देखे ।

एकछिन त राजाको होसहवासले कामै गरेन । एकछिन पछि उनले यताउता हेरे । कुनामा रगतले केही लेखिएको देखे । त्यहाँ लेखिएको थियो ‘महाराज म अब मरेर हजूरका लागि फुलेको र कहिल्यै नफुट्ने थैलो बनेको छु । यसैका आधारमा हजूर नदीमा हाम फाल्नु र पारी तर्नु । हजूरका गोडाको सहयोगका लागि मेरो कम्मरका पगडी छ त्यसैमा टेकेर उक्ली हाम फाल्नु होला ।’

राजाले आफ्ना अति भक्त मन्त्रीको सन्देश पढे । एकछिन उनका लागि आँशु बहाए । त्यसपछि मन्त्रीको लाशको सहयोग लिई नदीमा झ्यालबाट हाम फाले र तैरिँदै नदीका पारी पुगे । त्यसपछि सेना लिई नेपालमाथि आक्रमण गरी सबै सखाप बनाए ।

स्वाभिमान

आफ्नाले केही गरे वा गर्न खोजे वा केही लेखे वा बोले भित्तामा पुग्नेगरी उछित्तो काट्ने नागरिक हुन् नेपालीहरू । हामी यति विघ्न विद्वान बन्दै गएका छौँ कि मनमा अब विझ्नै छोडेको छ । कसले के नियतले के भनेर गाली गरिरहेको छ वा लोलोपोतो गरिरहेको छ, हाम अब नबुझ्ने भएका छौँ । अरू कुराले जतिसुकै उन्नति गरे पनि, स्तरोन्नति भए पनि मानसिकरूपमा दरिद हुँदै गएका छौँ हामी । धेरै पुराना कुरातिर नलागौँ । करिब दुई सय वर्षको सेरोफेरोकै कुरा गरौँ ।

हाम्रा पुर्खा वीर थिए, शत्रुसँग झुक्दैनथे, बरु लडेर वीरगति प्राप्त गर्न रुचाउँथे । नेपालको बारेमा लेखिएका अधिकांश विदेशी इतिहासकारहरुले नेपाल–अंग्रेज युद्धताका एवं विश्वयुद्धताका स्रोत र साधनको सीमितताका बाबजुत नेपालीले देखाएको वीरताको मुक्त कण्ठले प्रशंसा गरेका छन्, रहेछन् । कसैले ‘मूर्ख जात’ पनि भनेका छन् । जोसँग लडेर हाम्रा पुर्खा वीर कहलाइए, हामी विश्वभर गोर्खाली भनेर चिनियौँ, तिनैले हामीलाई आजका मितिसम्म खुट्टा बजारेर सलाम ठोक्न लगाइरहेका छन् । हाम्रो सलाम ठोकेर जीवनस्तर उकासिएको छ, तर स्वाभिमान नालीमा पुगेको छ । त्यत्रो युद्ध लडेर पुर्खाले नाम कमाए हामीले त्यो नाम बेचेर धन कमाइरहेका छौँ ।

केही समय अघि अर्जेन्टिना र बेलायतबीच फकल्यान्ड टापुलाई लिएर युद्ध हुँदा ‘गोर्खाली’ शब्द भाडाको वीरता प्रदर्शन गर्न जुरमुरायो । अर्जेन्टिनाका समाचार पत्रले नेपालीलाई घोच्नसम्म घोचेर लेखे । त्यहाँका जिम्मेवार राजनीतिक तहबाट समेत ‘गोर्खाली’ को दुरुपयोगले गर्दा सम्पूर्ण नेपालीले गाली खाए । तिनका कुरा सुनेर हामी खूब रिसायौँ । तिनका विरुद्ध अन्ठसन्ठ बोल्यौँ र लेख्यौँ पनि । अन्तमा, हामीले अर्जेन्टिनाको फुटबल टोलीमा त्यो आक्रोश पोखेर बदला लियौँ र सेलायौँ । ‘गोर्खाली’ को दुरुपयोगमा हाम्रो मन बिझेन । सतही र सामान्य ठान्यौ तिनका कुरालाई, त्यही अनुसार हलुका प्रतिक्रिया जनायौँ, तिनका कुरालाई ईश बनाएनौँ ।

विश्वयुद्ध ताका इन्डोनेसिया र मलेसियामा पनि ‘गोर्खाली’ शब्द उपहार बनाइएर लडाइएको थियो । ती देशका ती नागरिक जसले त्यो इतिहास जानेका छन्, तिनमा ‘गोर्खाली’ प्रति अचम्मको अन्तरभाव देखिन्छ, नजानिँदो घृणा मिसिएको देखिन्छ । इन्डोनेशियाले त सकेको छैन तर मलेशियाले ‘गोर्खाली’ हरूसँग मजाले बदला लिइरहेको छ । जुन देशमा गएर हाम्रा पुर्खाहरू लडाइए, त्यही देशमा गएर हामी भाँडा माझ्न पाउँदा गर्व गर्ने भइरहेका छौँ । अफगानिस्तान पनि जुन दिन बलियो होला, त्यो दिनदेखि ‘गोर्खाली’ लाई लगेर भाँडा मझाउनेछ । हामी आङ तन्काउँदे सलाम ठोक्न गर्व गरिरहेका हुनेछौँ । किनकि अफगानिस्तानको बजरीस्थानमा भएको युद्धमा पनि ‘गोर्खाली’ वीरता बजारिएको थियो ।

अब अहिले फेरी दुई छिमेकी देश भारत र पाकिस्तान बीचको सम्बन्ध चिसिएको छ । हामी गुइँठा उफ्रे जसरी विनाऔकात पक्ष र विपक्षमा उफ्रिरहेका छौँ । हाम्रा बाउ, काका, छोरा, भतिजा भारतीय सेनामा ‘गोर्खाली’ बनिरहेका छन् । हामी आफूले बेचेको रगतलाई सही सावित गर्न पाकिस्तानको पक्षमा नानाभाँती तर्कहरू दिइरहेका छौँ । रगत दान दिइन्छ, बेचिन्न । जब रगत बेचिन्छ नि तब रगतका विषयमा बहस गर्ने सामान्य नैतिकता पनि बाँकी रहन्न । कुनै समय करिब पचास जना सैनिक कश्मिरमा मारिँदा केही ‘गोर्खाली’ पनि त्यसमा परे, अहँ हामीलाई बिझेन, कतै पनि बिझेन । एक पाकिस्तानी पत्रकारले, शीघ्र प्रतिक्रिया दिने र पछि पछुताउने, पैसा पाइन्छ भने जसको जे जतिखेर पनि चाट्ने हाम्रो बानीलाई लिएर होच्याउँदै केही भनिन् । केही पत्रिका र सञ्चारमाध्यमले यो विषयलाई कोट्याए । गम्भीररूपमा कतै कसैले कुरा उठाएन । छाडिदिउँ यार यस्ता कुरा ‘जसले जे देख्छन्, त्यही भन्छन् ।’

केही वर्षअघि जतिखेर यहाँ हाम्रा केही ‘गोर्खाली’हरू भारतसँग उसैको हतियार चलाएर युद्धका लागि सुरुङ खन्दै नाटक देखाइरहेका थिए । त्यतिखेर दिल्लीमा आएका एक अमेरिकी मन्त्री ‘भारत र नेपाल एउटै देश हुनुपर्दछ’ भनेर भाषण ठोकिरहेका थिए । उही धर्म, उही संस्कृति, लिपीको स्रोत उही, देश छुट्टै किन हुनु परो ? यस्ता तर्क बेलाबेलामा विभिन्न अन्तर्राष्ट्रिय सभा, समारोहमा उठाइने गरिन्छ ।

केही वर्ष अघि अमेरिकी राष्ट्रपतिको मुखबाटसमेत यस्तै यस्तै अर्थ दिने शब्द आएका थिए । अहँ हामीलाई अब बिझ्न छाडेछ, स्वाभिमान सकिएछ । कसैले बिझ्ने गरी भन्दछ, तर हामीलाई अर्को कसैले आएर ‘तँलाई त्यसले गाली गरेको थियो, सुनिनस्” भनि दिनु पर्दछ । अनि बल्ल हामी जाग्दछौं र घरबाट बाहिर निस्केर नामर्दले बाहिरतिरको सबै रिस लगेर स्वास्नीलाई पोखेझैँ, रिसाएर आफ्नै देशको सम्पत्ति फुटाउन र जलाउन थाल्दछौँ र आफ्नै दाजुभाइलाई हान्न र मार्न थाल्दछौँ । भारतीय चलचित्र अभिनेता धर्मेन्द्रको विरोधमा कुनै बेला नेपालमा सिनेमा हल जलाइयो, ऋतिक रोसनको विरोधमा नेपालीबाट नेपाली नै मारिए । देशभित्र वा बाहिर रगत बेचेर पैसा कमाउन लाग्दा हाम्रो स्वाभिमान, नैतिकता र राष्ट्रियता खोक्रो भइसकेछ । एउटा सानो प्रसंगसहित आजलाई बिदा हुन चाहेँ ।

सानो छोरो मुरमरिँदै घर गएर आमालाई भन्दछ ‘आमा आमा, त्यो पल्लो घरकी टोड्के तपाईंलाई बाइफाले भनेर गाली गर्दैछे, अहिल्यै गएर त्यसको मुख भस्काइ दिउँ ?’, आमाले शान्त भएर भनिछन् ‘भो बाबु भो, नरिसा, जे देख्छन्, त्यही भन्छन् ।’

प्रतिक्रिया