महँगीको मारमा मधेस

काठमाडौं । मधेसमा सबैभन्दा बढी महँगी बढेको छ । काठमाडौं उपत्यका, पहाडी र हिमाली भेगको तुलनामा मधेसमा महँगी उच्च दरमा बढेको हो । नेपाल राष्ट्र बैंकले चालु आर्थिक वर्ष ०७९/८० को गत भदौ मसान्तसम्मको तथ्यांकको आधारमा सार्वजनिक गरेको विवरणअनुसार मधेसमा महँगी (मुद्रास्र्फीति) ९ दशमलव ३३ प्रतिशत रहेको पाइएको छ । काठमाडौं उपत्यकामा भने ७ दशमलव ६२, पहाडी भेगमा ८ दशमलव ८२ र हिमाली भेगमा ६ दशमलव ६८ प्रतिशतले महँगी बढेको छ । गत वर्ष भदौमा काठमाडौं उपत्यकामा ३ दशमलव २३ प्रतिशत, तराईमधेसमा ३ दशमलव ६५, पहाडी भेगमा ३ दशमलव ९६ र हिमाली भेगमा ३ दशमलव ५१ प्रतिशत महँगी थियो ।

तथ्यांकअनुसार, चालु आर्थिक वर्षको भदौमा वार्षिक विन्दुगत उपभोक्ता मुद्रास्फीति ८ दशमलव ६४ रहेको पाइएको छ । अघिल्लो वर्ष सोही महिनामा मुद्रास्फीति ३ दशमलव ४९ प्रतिशतमा थियो । ०७८ भदौको तुलनामा चालु आर्थिक वर्षको भदौमा खाद्य तथा पेय पदार्थ समूहअन्तर्गत फलफूलतर्फ १७ दशमलव २९ प्रतिशतले मूल्यवृद्धि भएको थियो ।

यसैगरी घ्यु तथा तेलतर्फ १४ दशमलव ५३ प्रतिशत, रेस्टुरेन्ट तथा होटेलतर्फ १२ दशमलव ३०, मदिराजन्य पेय पदार्थतर्फ १० दशमलव २४ प्रतिशत र तरकारीतर्फ ९ दशमलव ९४ प्रतिशतले मूल्य वृद्धि भएको थियो । उपभोग्य बस्तुतर्फ १२ दशमलव ९१ प्रतिशत, मध्यवर्ती बस्तुतर्फ १५ दशमलव ९३ प्रतिशत र पुँजीगत बस्तुतर्फ ६ दशमलव ३६ प्रतिशतले थोक मूल्य वृद्धि भएको छ । यस्तै निर्माण सामग्रीतर्फ १९ दशमलव ३६ प्रतिशतले मूल्य वृद्धि भएको पाइएको छ ।

यसैगरी चालु आर्थिक वर्षको दोस्रो महिना अर्थात् भदौको अन्त्यसम्म १ खर्ब ८७ अर्ब ४ करोड रुपैयाँ बराबरको विप्रेषण भित्रिएको छ । विप्रेषण आप्रवाह १९ दशमलव ८ प्रतिशतले वृद्धि भएको छ । अघिल्लो वर्षको सोही अवधिमा विप्रेषण आप्रवाह ५ दशमलव ८ प्रतिशतले घटेको थियो ।

अमेरिकी डलरमा विप्रेषण आप्रवाह ११ दशमलव ३ प्रतिशतले वृद्धि भएर १ अर्ब ४७ करोड पुगेको छ । अघिल्लो वर्ष यस्तो आप्रवाह ५ दशमलव ३ प्रतिशतले घटेको थियो । समीक्षा अवधिमा वैदेशिक रोजगारीका लागि अन्तिम श्रम स्वीकृति (संस्थागत तथा व्यक्तिगत–नयाँ) लिने नेपालीको संख्या १ सय ७० प्रतिशतले वृद्धि भएर १ लाख ३ हजार ९ सय ९८ पुगेको छ ।

सरकारको चालु खाता घाटा ३७ अर्ब १८ करोड

चालु आर्थिक वर्ष ०७९/८० को पहिलो दुई महिना अवधिमा सरकारको चालु खाता घाटा ३७ अर्ब १८ करोड पुगेको छ । भदौ मसान्तसम्ममा चालु खाता २९ करोड १७ लाख अमेरिकी डलरले घाटामा रहेको देखिएको हो । गत आर्थिक वर्ष ०७८/७९ को सोही अवधिमा चालु खाता घाटा १ खर्ब ६ अर्ब ८ करोड बराबर थियो ।

यसैगरी भदौ मसान्तसम्ममा शोधनान्तर स्थिति २३ अर्ब ६८ करोडले घाटामा छ । अघिल्लो वर्षको सोही अवधिमा शोधनान्तर स्थिति ९४ अर्ब ८० करोडले घाटामा थियो । चालु आर्थिक वर्षको पहिलो दुई महिना अवधिमा विदेशी विनिमय सञ्चितिमा पनि कमी आएको छ । गत असार मसान्तमा १२ खर्ब १५ अर्ब ८० करोड बराबर रहेको कूल विदेशी विनिमय सञ्चितिमा २ दशमलव २ प्रतिशतले कमी आएर भदौ मसान्तमा ११ खर्ब ८९ अर्ब १६ करोड कायम भएको छ ।

कुल विदेशी विनिमय सञ्चितिमध्ये नेपाल राष्ट्र बैंकसँग १० खर्ब ५१ अर्ब ५३ करोड र बैंक तथा वित्तीय संस्थासँग १ खर्ब ३७ अर्ब ६३ करोड रहेको छ । भदौ मसान्तको कुल विदेशी विनिमय सञ्चितिमा भारतीय मुद्राको अंश २४ दशमलव ३ प्रतिशत थियो । चालु आर्थिक वर्षको पहिलो दुई महिनाको आयातलाई आधार मान्दा बैंकिङ क्षेत्रसँग रहेको विदेशी विनिमय सञ्चितिले नौ महिनाको वस्तु आयात धान्न सक्ने देखिएको छ ।

दुई महिनामा व्यापार घाटा २ खर्ब ४४ करोड

आर्थिक वर्ष ०७९/८० को पहिलो दुई महिनामा वैदेशिक व्यापार घाटा २ खर्ब ४४ अर्ब ९३ करोड पुगेको छ । नेपाल राष्ट्र बैंकको तथ्यांकअनुसार, सो अवधिमा नेपालले कुल २ खर्ब ७३ अर्ब ६० करोड बराबरको सामान आयात गरेको छ भने २८ अर्ब ६८ करोड बराबरको सामान निर्यात गरेको छ ।

राष्ट्र बैंकका अनुसार गत आर्थिक वर्षको पहिलो दुई महिनाको तुलनामा चालु आर्थिक वर्षको सोही अवधिमा सामान निर्यात ३४ दशमलव ९ प्रतिशतले घटेको छ भने आयात पनि १३ प्रतिशतले घटेको छ । गन्तव्यका आधारमा भारत र चीनतर्फ भएको निर्यातमा क्रमशः ४५ दशमलव २ प्रतिशत र २१ दशमलव ६ प्रतिशतले कमी आएको छ भने अन्य मुलुकतर्फको निर्यात १३ दशमलव २ प्रतिशतले बढेको छ ।

जिंक सिट, ऊनी गलैँचा, पार्टिकल बोर्ड, तयारी पोसाक, आयुर्वेदिक औषधिलगायत वस्तुको निर्यात बढेको छ भने सोयाबिन तेल, पाम तेल, पिना, अलैँची, दन्त मञ्जनलगायत वस्तुको निर्यात घटेको छ । पेट्रोलियम पदार्थ, रासायनिक मल, स्पञ्ज आइरन, औषधि, हवाइजहाज तथा स्पेयर पार्टपुर्जालगायत वस्तुको आयात बढेको छ भने सवारी साधन तथा स्पेयर पार्टपुर्जा, चाँदी, कच्चा सोयाबिन तेल, हट रोल्ड सिट इन क्वाइल, एमएसब्लेटलगायत वस्तुको आयात घटेको छ ।

विदेशी मुद्रा सञ्चिति २ दशमलव २ प्रतिशतले कमी

सरकारले आयातमा कडाइ गरे पनि विदेशी मुद्रा सञ्चिति रित्तिँदै गएको छ । नेपाल राष्ट्र बैंकले शुक्रबार सार्वजनिक गरेको आर्थिक तथा वित्तीय स्थिति विवरणअनुसार २ महिनामै २६ अर्ब ६४ करोड रुपैयाँ बराबरको विदेशी मुद्रा सञ्चिति घटेकोे छ ।

आर्थिक वर्ष ०७८/७९ को अन्त्यसम्ममा कुल १२ खर्ब १५ अर्ब ८० करोड रुपैयाँ बराबर विदेशी विनिमय सञ्चिति रहेकोमा भदौ मसान्तसम्म आउँदा थप २ दशमलव २ प्रतिशतले कमी आएर ११ खर्ब ८९ अर्ब १६ करोड रुपैयाँमा झरेको छ ।

सरकारले विदेशी मुद्रा सञ्चिति घटेको भन्दै सरकारले हाल तीन सय अमेरिकी डलरमाथिका मोबाइल, कार, जिप, भ्यान, १ सय ५० सिसी माथिका मोटरसाइकल तथा विदेशी तयारी मदिराको आयातमा प्रतिबन्ध यथावत छ ।
चालु आवको सुरुआती दुई महिनामा अमेरिकी डलर सञ्चिति दुई प्रतिशत घटेको छ । गत आवको अन्त्यसम्ममा ९ अर्ब ५४ करोड डलर रहेको सञ्चिति भदौ मसान्तसम्म ९ अर्ब ३५ करोड कायम भएको छ ।

हाल कुल विदेशी विनिमय सञ्चिति मध्ये नेपाल राष्ट्र बैंकमा १० खर्ब ५१ अर्ब ५३ करोड छ भने बैंक तथा वित्तीय संस्था (राष्ट्र बैँकबाहेक) सँग १ खर्ब ३७ अर्ब ६३ करोड कायम भएको छ । भदौ मसान्तको कुल विदेशी विनिमय सञ्चितिमा भारतीय मुद्राको अंश २४ दशमलव ३ प्रतिशत रहेको छ ।

असार मसान्तसम्म १३ खर्ब ९९ अर्ब रुपैयाँ बराबर विदेशी मुद्रा सञ्चिति थियो । सञ्चिति घटेपछि सरकारले वैशाख १४ देखि १० प्रकारका वस्तु आयात प्रतिबन्ध गरेको थियो । प्रतिबन्धलाई खुकुलो गर्दै भदौ १४ देखि ६ प्रकारका वस्तु आयात खुलाइएको थियो । यी चार प्रकारका वस्तुको आयात प्रतिबन्ध मंसिर मसान्तसम्मका लागि कायम गरिएको छ ।

प्रतिक्रिया