तराईका फाँट हरियाली बनाउने मेगा प्रोजेक्ट

सुनकोसी–मरिन डाइभर्सनको सुरुङ ‘ब्रेक–थ्रू’

सिन्धुली । सुनकोसी–मरिन डाइभर्सन बहुउद्देश्यीय आयोजनाको सुरुङको ‘ब्रेक थ्रु’ भएको छ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले सुनकोसी गाउँपालिका–७ कानढुंग्रीमा एक समारोहबीच सुरुङको ‘ब्रेक थ्रु’ गरेका हुन् । प्रधानमन्त्री प्रचण्डले टिबिएम स्विच थिचेपछि आयोजनाको प्रवेशद्वार कमलामाई नगरपालिका–२ कुसुमटारबाट सुरुङ खन्न पसेको टिबिएम मेसिन सुनकोसी नदी किनार कानढुंग्रीबाट बाहिर निस्किएको थियो । राष्ट्रिय गौरवको आयोजना सुनकोसी–मरिन डाइभर्सनअन्तर्गत कमलामाई–२ कुसुमटारदेखि सुनकोसी–७ कानढुंगीसम्म सुरुङ रहेको छ । यसको क्षेत्रफल १३ दशमलव ३ किलोमिटर छ । लक्ष्यभन्दा एक वर्षअघि नै सुरुङ ब्रेक थ्रु गर्न सफल भएको सुनकोसी–मरिण डाइभर्सन बहुउद्देश्यीय आयोजनाका प्रमुख मित्र बरालले जानकारी दिए । खन्न सुरु भएको १९ महिनामा सुरुङ ब्रेक थ्रु भएको छ । एकैदिन ७२ मिटरसम्म सुरुङ खनिएको आयोजनाले जनाएको छ । २०७९ असोज २८ देखि सुरुङ खन्ने काम आरम्भ भएकामा यसबीचमा ६ पटक अवरोध भएको प्रमुख बरालले बताए । सुरुङभित्र सुक्खा पहिरो खस्ने, लेदोसहित पाखो नै खस्ने हुँदा सुरुङ खन्ने टिबिएम मेसिन अगाडि बढ्न नसक्दा काम रोकिएको थियो ।

उच्च प्रविधिबाट ५ दशमलव ५ डायमिटरको सुरुङ मार्गमा गुणस्तरीय सेगमेन्ट प्रयोग भएको आयोजनामा कानढुंग्रीस्थित सुनकोसी नदीमा ३० मिटर उचाइ र १५८ मिटर लम्बाइको बाँध निर्माण गरी सुरुङमार्फत पानी कुसुमटारस्थित मरिन खोलामा खसालिनेछ । त्यहाँ ६६ मिटर उचाइबाट पानी झारेर ३१ दशमलव शून्य ७ मेगावाट विद्युत् उत्पादन गरिनेछ । सुरुङ निर्माणको ठेक्का चिनियाँ कम्पनी चाइना ओभरसिज इञ्जिनियरिङ (कोभेक) ले पाएको हो । यस कम्पनीले यसअघि भेरी बबई डाइभर्सनमा सुरुङ निर्माणको काम गरिसकेको छ । सुनकोसी मरिनमा सुरुङ खन्न मात्र कोभेकले १० अर्ब ५ करोड ६८ लाखमा ठेक्का लिएको प्रमुख बरालले जानकारी दिए ।

नदीमा बाँध बाँधेर सुनकोसीको पानी मरिन खोलामा खसाली मधेसका ५ जिल्लामा वर्षैभरि सिँचाइ तथा विद्युत् उत्पादन गर्ने लक्ष्यअनुसार काम सुरु भएको हो । आयोजनाको मुख्य उद्देश्य विद्युत् उत्पादनसँगै बागमती सिँचाइ आयोजनाको पूर्वाधार प्रयोग गरेर तराईका बारा, रौतहट, सर्लाही, महोत्तरी र धनुषामा १ लाख २२ हजार हेक्टर क्षेत्रमा सिँचाइ सुविधा पु¥याउने लक्ष्य छ । आयोजनाको कुल लागत ४९ अर्ब ४२ करोड रुपैयाँ रहेको आयोजनाले जनाएको छ ।

राष्ट्रिय अर्थतन्त्रमा गुणात्मक योगदान पुग्ने

प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ सुनकोसी मरिन डाइभर्सन बहुउद्देश्यीय आयोजना कार्यान्वयनमा आएपछि राष्ट्रिय अर्थतन्त्रमा गुणात्मक योगदान पुग्ने बताएका छन् । सुनकोसी मरिन डाइभर्सन बहुउद्देश्यीय आयोजनाको सुरुङ ‘ब्रेक–थ्रू’ कार्यक्रममा प्रधानमन्त्री प्रचण्डले आयोजना सम्पन्न भएपछि सिँचाइ प्रणालीमा सुधार भएर कृषि उत्पादन वृद्धि हुने दाबी गरेका हुन् । ‘बागमती प्रदेशको सिन्धुली जिल्लास्थित यस आयोजनाले मधेस प्रदेशको ५ जिल्लाका उर्वरभूमिमा वर्षैभरि सिँचाइ सुविधा पुग्नेछ, राष्ट्रिय अर्थतन्त्रमा गुणात्मक योगदान एवं जलविद्युत् उत्पादन हुनेछ,’ प्रधानमन्त्री भने, ‘आज सुरूङको ‘ब्रेक–थ्रू’ भएको छ, यस आयोजनाको बाँकी कामसमेत निर्धारित समयमा नै सम्पन्न हुनेछ ।’

सुनकोसी मरिन डाईभर्सन बहुउद्देश्यीय आयोजना रुपान्तरणकारी राष्ट्रिय गौरवको आयोजना भएको उल्लेख गर्दै प्रधानमन्त्री प्रचण्डले आयोजनाहरू सम्पन्न हुँदा उत्पादकत्व अभिवृद्धि र समृद्धिको लक्ष्यमा महत्त्वपूर्ण योगदान पुग्ने विश्वास व्यक्त गरे । कृषि क्षेत्र नेपालको आर्थिक विकासको मुख्य मेरुदण्ड हुनुका साथै कुल ग्रार्हस्थ उत्पादनमा झण्डै एकतिहाइ योगदान रहेको उल्लेख गर्दै प्रधानमन्त्री प्रचण्डले देशका लागि आवश्यकपर्ने खाद्यान्न आपूर्तिमा आत्मनिर्भर हुन, खाद्य सुरक्षाको सुनिश्चित गर्न, जनताको आर्थिक उत्थान र समृद्धिका साथै गरिबी न्यूनीकरण गर्न कृषि उत्पादन र उत्पादकत्व वृद्धि अपरिहार्य रहेको बताए ।

नेपालको ६० प्रतिशत कृषियोग्य भूमि तराई मधेस तथा भित्री मधेसभित्र नै पर्ने उल्लेख गर्दै प्रधानमन्त्री प्रचण्डले तराई–मधेस क्षेत्रमा विकास भई सञ्चालन भइरहेका सिँचाइ आयोजनाहरू नदी बहाव प्रणालीमा आधारित रहेको बताए । प्रधानमन्त्री दाहालले सुनकोसी मरिन डाइभर्सन बहुउद्देश्यीय आयोजनाको बाँकी काम निर्धारित समयमा सम्पन्न गर्नसमेत निर्देशन दिएका छन् । आयोजनास्थलमा अनुगमनका क्रममा सुनकोसी गाउँपालिकामा ब्रिफिङ लिएपछि प्रधानमन्त्री प्रचण्डले आयोजनामा आउन सक्ने समस्याको पहिचान गरेर त्यसलाई समयमै सल्टाउन निर्देशन दिएका हुन् । उनले आयोजना समयमै सम्पन्न गरी लगानीको प्रतिफल पनि समयमै प्राप्त गर्नेगरी काम गर्न निर्देशन दिए ।

प्रतिक्रिया