कर प्रशासनको प्रभावकारिताबारे बृहत् छलफल

एटिआईको कार्यशाला नेपालमा

काठमाडौं । आन्तरिक राजस्वको प्रभावकारी कार्यान्यवनका लागि सहकार्य गर्दै आएको एडिस ट्याक्स इनिसिएटिभ (एटिआई) को क्षेत्रीय प्राविधिक बैठक काठमाडौंमा आयोजना गरिएको छ । बिहीबारसम्म सञ्चालन हुने बैठक कर प्रणालीको निष्पक्षता, पारदर्शिता, दक्षता र प्रभावकारितामा सुधारका लागि सहकार्य गर्ने उद्देश्यले आयोजना गरिएको हो । काउन्सिल अन इकोनोमिक पोलिसी (सिइपी) र जर्मन इन्स्टिच्युट फर डेभलपमेन्ट एन्ड सस्टेनेबिलिटीसँगको सहकार्यमा आन्तरिक राजस्व विभागले कार्यक्रमको आयोजना गरेको हो । बैठकमा एटिआई सदस्य १६ मुलुकका कर प्रशासक, विज्ञ र विकास साझेदारका प्रतिनिधि गरी ६० जनाभन्दा बढी सहभागी रहेको बताइएको छ । गत वर्ष फिलिपिन्सको मनिलामा सम्पन्न क्षेत्रीय कार्यशालाले एटिआईको कार्यशाला काठमाडौंमा आयोजना गर्ने निर्णय गरेको थियो ।
कार्यशालाको अर्थ मन्त्रालयका सचिव (राजस्व) डा. रामप्रसाद घिमिरेले उद्घाटन गरे । उनले नेपालमा बैठक राखिएको र विभागलाई कार्यक्रमको सह–आयोजकको भूमिका प्रदान गरेकामा धन्यवाद दिँदै सदस्य देशहरूले भोग्दै आएका वित्तीय चुनौती सामना गर्न कार्यशाला फलदायी हुने बताए ।

घिमिरेले सदस्य मुलुकहरूबीचको सहकार्य थप बलियो, कर प्रशासनलाई पारदर्शी, जवाफदेही र प्रभावकारी बनाउन तथा वित्त परिचालनमार्फत समावेशी र दिगो विकासको लक्ष्य हासिल गर्ने दिशामा अघि बढ्न कार्यशालाले मागदर्शन गर्ने पनि बताए । साथै राजस्व परिचालन र कर छुटसम्बन्धी नीतिहरूमा समीक्षा गर्दै आगामी दिनमा लिनुपर्ने नीतिबारे सामूहिक धारणा बनाउने पनि बताए ।

कार्यशाला उद्घाटनसत्रमा एडिस कर सञ्चालक समितिका एलिस्टेयर लोबोले कार्यशालाको उद्देश्य र कार्यक्रमबारे जानकारी दिए । उनले सदस्य राष्ट्रहरूले दिगो विकास लक्ष्य हासिल गर्न सहयोगी हुने कर प्रणाली अपनाउनुपर्नेमा जोड दिए । एटिआईको घोषणापत्रअनुसार कर खर्चको पारदर्शिता बढाउन, लागत लाभ मूल्यांकन सहज बनाउन तथा करदातामाथिको करभार घटाएर विश्वास जित्नेगरी काम गर्नुपर्ने उनले बताए । लोबोले कार्यशाला निष्पक्ष र पारदर्शी कर प्रणालीको विकास गर्न, क्षेत्रीय संयन्त्रको थप विकास गर्न, दिगो विकासका लक्ष्य हासिल गर्ने नीति तय गर्न उपयोगी हुने विश्वास व्यक्त गरे । यस्तै, नेपालका लागि संयुक्त राष्ट्रसंघीय विकास कार्यक्रम (युएनडिपी) की आवासीय निर्देशक आयशानी मेडागांगोेडा लाबेले दिगो विकास लक्ष्य हासिल गर्न आवश्यक वित्त परिचालनका लागि कार्यशालाले प्रभाकारी भूमिका खेल्ने बताइन् । राष्ट्र संघो सहश्राब्दी विकास लक्ष्य हासिल गर्न एटिआई सदस्य मुलुकहरूले गरेको प्रयासको उनले सराहनासमेत गरिन् ।

कार्यक्रममा सहभागीहरूलाई करको अनुमान, रिपोर्टिङ, र मूल्यांकनका प्राविधिक पक्षका साथै कर प्रशासनमा प्रविधिको प्रयोग र भावी दिनमा गरिने सहकार्यका क्षेत्रबारे विज्ञले प्रशिक्षणसमेत दिनुहुनेछ । कार्यशालामा नेपालका तर्फबाट संघीय संसद् सचिवालय, अर्थ मन्त्रालय, आन्तरिक राजस्व विभागका प्रतिनिधि सहभागी छन् । संस्थागत साझेदारका रूपमा संयुक्त राष्ट्रसंघीय विकास कार्यक्रम –युएनडिपी) र एसियाली विकास बैंक (एडिबी) का प्रतिनिधिको पनि कार्यशालामा सहभागिता छ । कार्यशालाले नेपालको कर प्रशासनलाई अन्तर्राष्ट्रिय स्तरमा पुर्याउन क्षतमा विकास गर्नुका साथै नेपालले कर प्रशासनका क्षेत्रमा हासिल गरेका अनुभबारे सदस्य राष्ट्रहरूलाई अवगत गराउन फलदायी हुने आन्तरिक राजस्व विभागका महानिर्देशक शिवलाल तिवारीले बताए ।

निष्पक्ष र प्रभावकरी राजस्व परिचालन, कर प्रणालीमा नीतिगत सुधार तथा साझेदारीमार्फत दिगो विकास लक्ष्य हासिल गर्ने, अनुभव आदानप्रदान गर्ने, विकास साझेदारहरूबीच समन्व गर्ने उद्देश्यसहित इथियोपियाको राजधानी अदिस अबाबामा सन् २०१५ को जुलाइमा आयोजित विकासका लागि वित्तीय सम्मेलन (फाइनान्सिङ फर डेभलपमेन्ट) ले एटिआई स्थापना गरेको थियो ।

प्रतिक्रिया