विभागीय टोलीको दबदबा, आर्मी टिम च्याम्पियन

कर्णालीमा भेट्ने वाचा गर्दै सकियो नवौं राष्ट्रिय खेलकुद

पोखरा । चार सय चार स्वर्ण पदकको छिनोफानो गर्दै राष्ट्रिय खेलकुद प्रतियोगिताको नवौं संस्करण बिहीबार सकिएको छ । पोखरा रंगशालामा आयोजित भब्य समापन समारोहसँगै राष्ट्रिय खेलकुदको नवौं संस्करणले बिट मारेको हो । पर्यटकीय नगरी पोखरामा गत शुक्रबार नवौँ राष्ट्रिय खेलकुदको उद्घाटन समारोह भएको थियो । उपराष्ट्रपति नन्दबहादुर पुनले प्रतियोगिताको उद्घाटन गरेका थिए । यद्दपि, प्रतियोगिताका केही खेल त्यसअघि नै सुरु भएका थिए ।

नवौं राष्ट्रिय खेलकुदका प्रतियोगिताहरु गण्डकी प्रदेशका आठवटै जिल्लामा सञ्चालन भएका थिए । ‘एकताबद्ध देश : खेलकुदको सन्देश’ भन्ने नारासहित सम्पन्न भएको नवौँ राष्ट्रिय खेलकुदको समापन समारोहमा प्रमुख अतिथिका रुपमा प्रधानमन्त्री शेरबहादुर देउवा उपस्थित थिए ।

उनी राष्ट्रिय खेलकुद परिषद् (राखेप)का संरक्षक पनि हुन् । समापन समारोहअघि पुरुष फुटबलको फाइनल खेल खेलाइएको थियो । फाइनलमा त्रिभुवन आर्मी क्लब र सशस्त्र प्रहरी बलको एपीएफ क्लब भिडेका थिए । अत्यन्तै प्रतिस्पर्धात्मक उक्त खेलमा एपीएफ क्लबले आर्मी क्लबलाई सडन डेथमा हराउँदै उपाधि चुम्यो । प्रधानमन्त्री देउवाले पनि फाइनल खेल हेरेका थिए ।

नवौं राष्ट्रिय खेलकुद प्रतियोगिताको पदक तालिकामा पनि विगतमा जस्तै विभागीय टोलीहरुकै दबदबा रह्यो । प्रतियोगितामा नेपाली सेनाको त्रिभुवन आर्मी क्लब ‘टिम च्याम्पियन’ बन्यो । आर्मी क्लबले १ सय ७२ स्वर्ण पदकसहित कुल ३ सय ७१ पदक जित्यो । ‘टिम च्याम्पियन’ बनेको आर्मीलाई रनिङ शिल्ड ट्रफी प्रदान गरियो । राष्ट्रिय खेलकुद प्रतियोगिताको इतिहासमै पहिलो पटक टिम च्याम्पियन बन्ने टोलीलाई रनिङ शिल्ड ट्रफी प्रदान गरिएको हो । आर्मीले १ सय १० रजत र ८९ वटा काश्य पदक पनि हात पा¥यो । आर्मी क्लब यसअघि आठौं राष्ट्रिय खेलकुदमा पनि टिम च्याम्पियन बनेको थियो ।

नवौं राष्ट्रिय खेलकुदको पदक तालिकामा अर्को विभागी टोली सशस्त्र प्रहरी बलको एपीएफ क्लब दोस्रो भयो । प्रतियोगितामा एपीएफ क्लबले ६५ स्वर्ण, ७३ रजत र ८१ काश्यसहित कुल २ सय १९ वटा पदक जित्यो । यसैगरी अर्को विभागीय टोली नेपाल पुलिस क्लब तेस्रो भयो ।

पुलिस क्लबले ६१ स्वर्ण, ६१ रजत र ७३ काश्यसहित कुल १ सय ९५ वटा पदक जित्यो । आयोजक गण्डकी प्रदेश पदक तालिकाको चौथो स्थानमा रह्यो । प्रतियोगितामा गण्डकी प्रदेशले ३२ स्वर्ण, ३१ रजत र ५७ काश्यसहित कुल १ सय २० वटा पदक जित्यो ।

यसैगरी बागमती प्रदेश पाँचौं भयो । बागमती प्रदेशले २४ स्वर्ण, ४७ रजत र ७४ काश्यसहित कुल १ सय ४५ वटा पदक जित्यो । प्रतियोगितामा प्रदेश नम्बर १ छैटौं भयो । प्रदेश नम्बर १ ले १० स्वर्ण, २३ रजत र ५० काश्यसहित कुल ८३ वटा पदक जित्यो ।

यसैगरी सुदूरपश्चिम प्रदेश पदक तालिकाको सातौं स्थानमा रह्यो । प्रतियोगितामा सुदूरपश्चिम प्रदेशले १० स्वर्ण, १० रजत र ४३ काश्यसहित कुल ६३ वटा पदक जित्यो । एनआरएनए टोली आठौं भयो । एनआरएनए टोलीले १० स्वर्ण, नौ रजत र सात काश्यसहित कुल २६ पदक हात पार्यो ।

यसैगरी लुम्बिनी प्रदेश ६ स्वर्ण, २२ रजत र ४० काश्यसहित कुल ६८ पदक जितेर तालिकाको नवौं स्थानमा रह्यो । १०औँ स्थानमा रहेको मधेश प्रदेशले पाँच स्वर्ण, आठ रजत र २६ काश्यसहित कुल ३९ पदक जित्यो । कर्णाली प्रदेशले दुई स्वर्ण, चार रजत र १२ काश्यसहित कुल १८ वटा पदक हात पार्दै तालिकामा सबैभन्दा तल रह्यो ।

प्रतियोगिताको समापन समारोहमा सहभागी ११ वटै टोलीका खेलाडी र पदाधिकारीहरुले मार्चपास्ट गरेका थिए । मार्चपास्टमा नवौँ राष्ट्रिय खेलकुदका लागि तयार पारिएको गण्डकी प्रदेशमा पाइने कस्तुरी मृगको मस्कटलाई पनि सहभागी गराइएको थियो ।

समापन समारोहमा विभिन्न सांस्कृतिक कार्यक्रम, कलाकारबाट गीत प्रस्तुत, झाँकी, गीत÷संगीत तथा नृत्यलगायतका कार्यक्रम प्रस्तुत गरिएको थियो । विभिन्न जातजातिका सांस्कृति झाँकी प्रस्तुत गरिएको थियो । सात वटै प्रदेशको संस्कृति झल्कने गीत तथा नृत्यहरू पनि प्रस्तुत गरिएको थियो ।

समापन समारोहमा आतासबाजी पनि गरिएको थियो । प्रतियोगिताको उद्घाटन समारोहमा प्रज्ज्वलन गरिएको ओलम्पिक ज्योति पनि समापन समारोहमा निभाइएको थियो । ओलम्पिक ज्योति निभाइएसँगै नवौँ संस्करण पनि सम्पन्न भएको थियो । नवौँ राष्ट्रिय खेलकुदका क्रममा एक जना खेलाडीको मृत्यु भएको थियो । प्याराग्लाइडिङको प्रतिस्पर्धाका क्रममा दुर्घटनामा परेर गत आइतबार त्रिभुवन आर्मी क्लबका खेलाडी निसिम थापाको मृत्यु भएको थियो । गोरखा घर भएका २६ वर्षीय थापा एक सय मिटरमाथिबाट जमिनमा खसेका थिए ।

दुर्घटनामा परेलगत्तै उनलाई उपचारका लागि मेट्रोसिटी अस्पताल लगिएको थियो । तर, अस्पतालले उनको मृत्यु भइसकेको घोषणा गरेको थियो । ब्लु स्काई कम्पनीको प्याराग्लाइडिङबाट उडान गरिरहेका थापा एक्कासि जमिनमा खसेका थिए । समापन समारोहमा थापाको आत्माका चिर शान्तिको कामना गर्दै एक मिनेट मौन धारण पनि गरिएको थियो ।

राखेपको बोर्ड बैठकले दिवंगत प्याराग्लाइडिङ खेलाडी थापाको शालिक पोखरा रंगशालामा निर्माण गर्ने निर्णय पनि गरेको छ । बोर्ड बैठकले पोखरा रंगशाला परिसरमा थापाको अर्धकदको शालिक बनाउने निर्णय गरेको हो । बैठकले थापाको परिवारलाई सहयोगका लागि नेपाल सरकारलाई सिफारिस गर्ने निर्णय पनि गरेको छ ।

नवौँ राष्ट्रिय खेलकुदमा ३६ वटा खेल र दुई वटा प्रदर्शनी खेल समावेश गरिएको थियो । प्रतियोगितामा कुल ६ हजार १ सय ५७ जना खेलाडीले सहभागिता जनाएका थिए । पोखरामा ३९ वर्षपछि राष्ट्रिय खेलकुद प्रतियोगिता आयोजना भएको हो ।

नेपालमा २०३८ सालदेखि सुरु राष्ट्रिय खेलकुद प्रतियोगिताको दोस्रो संस्करण २०४० सालमा पोखरामा आयोजना भएको थियो । राष्ट्रिय खेलकुद प्रत्येक दुई/दुई वर्षमा आयोजना हुन्छ । नवौँ राष्ट्रिय खेलकुद आयोजना गर्न सरकारले ६० करोड रुपैयाँ बजेट उपलब्ध गराएको थियो ।

नवौँ राष्ट्रिय खेलकुदमा सबैभन्दा बढी गण्डकी प्रदेशबाट ७ सय ६ जना खेलाडीले ३६ खेलमा प्रतिस्पर्धा गरेका थिए । गण्डकीपछि सर्वाधिक खेलाडी आर्मीले सहभागी गरायो । आर्मीले ३६ वटै खेलमा भाग लिन ६ सय ६८ जना खेलाडी मैदानमा उतारेको थियो । त्यसपछि बागमती प्रदेशले ३६ खेलका लागि ६ सय ५६ जना खेलाडी सहभागी गराएको थियो । अन्य टोलीले भने सबै खेलमा भाग लिएका थिएनन् ।

प्रदेश नम्बर १ ले ३५ खेलमा ६ सय ८४ जना, सुदूरपश्चिम प्रदेशले ३२ खेलमा ६ सय १८ जना, एपीएफ क्लबले ३१ खेलमा पाँच सय ५८ जना, नेपाल पुलिस क्लबले २९ खेलमा पाँच सय ८७ जना र मधेश प्रदेशले २८ खेलमा ५ सय ४५ जना खेलाडी सहभागी गराएका थिए । लुम्बिनी प्रदेशले ३५ खेलमा ३ सय ४८ जना, कर्णाली प्रदेशले ३० खेलमा ५ सय ३ जना र एनआरएनएले १७ खेलमा १ सय १६ जना खेलाडीले प्रतिस्पर्धा गरेका थिए ।

दशौँ राष्ट्रिय खेलकुद कर्णालीमा

राष्ट्रिय खेलकुद प्रतियोगिताको दशौँ संस्करण कर्णाली प्रदेशमा आयोजना हुने भएको छ । राष्ट्रिय खेलकुद परिषद् (राखेप)को बोर्ड बैठकले राष्ट्रिय खेलकुदको दशौं संस्करण कर्णाली प्रदेशमा आयोजना गर्ने निर्णय गरेको हो । कर्णाली प्रदेशमा हालसम्म राष्ट्रिय खेलकुद आयोजना भएको छैन ।

राखेपका सदस्यसचिव टंकलाल घिसिङले दशौं संस्करण २०८१ साल मंसिर २ देखि ९ गतेसम्म कर्णाली प्रदेशमा आयोजना गर्ने निर्णय भएको जानकारी दिए । सदस्यसचिव घिसिङले नवौँ राष्ट्रिय खेलकुदको समापन समारोहमा आफ्नो मन्तब्य राख्नेक्रममा दशौँ संस्करणको तयारीमा जुटन सम्बन्धित सबैलाई आग्रह पनि गरे ।

नवौं संस्करणको समापन समारोहमा प्रधानमन्त्री एवं राखेपका संरक्षक शेरबहादुर देउवाको उपस्थितिमा दशौं संस्करण आयोजना गर्ने जिम्मेबारीसहित कर्णाली प्रदेशको खेलकुद परिषद्लाई झण्डा पनि हस्तान्तरण गरिएको छ ।
दशौँ राष्ट्रिय खेलकुदको लोगो र मस्कट रारातालबाट सार्वजनिक गरिने भएको छ । राष्ट्रिय खेलकुद परिषद्को पोखरामा बसेको बैठकले स्वर्गकी अप्सरा भनेर चिनिने कर्णाली प्रदेशको चर्चित पर्यटकीयस्थल रारामा लोगो र मस्कट सार्वजनिक गर्ने निर्णय गरेको हो ।

प्रतिक्रिया