धनुषामा चुनावी माहोल तात्दै, मतदाता जोड घटाउमा व्यस्त

जनकपुरधाम । यही ४ मंसिरमा हुने प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनका लागि उम्मेद्वारी दर्ता गराएका उम्मेद्वार धनुषामा प्रचारप्रसारमा गाउँ पसेका छन् । विभिन्न पार्टीका केन्द्रीय नेताहरू चुनावी प्रतिस्पर्धामा रहेकाले जिल्लामा यतिबेला चुनावी माहोल तातेको छ । चुनावी तयारीलाई तीव्र पारेको सत्तारूढ पाँच दलीय गठबन्धन र नेकपा एमाले–जसपा गठबन्धन छुट्टाछुटै बैठक, भेला र घरदैलोलाई तीव्रता दिएका छन् । पाँच दलीय गठबन्धनमा आबद्ध दलका नेता आन्तरिक तथा सामूहिक बैठक, छलफल र भेलालाई तीव्र पारेको नेकपा (माओवादी केन्द्र) धनुषाका अध्यक्ष दीपक यादवले जानकारी दिए ।

‘गठबन्धनका उम्मेदवारसँगै हामी पनि चुनावी तयारीमा जुटेका छौँ’, उनले भने, ‘अहिले दलहरूको आफ्नो आन्तरिक तथा गठबन्धनको बैठक, छलफल जारी छ ।’ उम्मेद्वारले पनि आफ्नो र दलको एजेन्डा बोकेर जनतामाझ पुग्न थालेका छन् उनको भनाइ छ । एमाले–जसपा गठबन्धनले पनि धनुषाको सबै क्षेत्रमा चुनावी रणनीति बनाउन बैठक, भेला जारी राखेको एमाले नेता रामसुन्दर यादवले बताए । दलका नेता कार्यकर्ता र झण्डासहित उम्मेद्वार गाउँगाउँ पुग्न थालेपछि यतिबेला सहरी क्षेत्रमा मात्र होइन्, ग्रामीण भेगमा पनि चुनावी माहोल बन्दै गएको छ । स्थानीय तहको निर्वाचन सम्पन्न भएको करिब सात महिनापछि पुनः अर्काे महत्वपूर्ण जनप्रतिनिधि छनोट गर्ने अवसर आएकाले यसलाई सहीरुपमा सदुपयोग गर्ने तयारीमा मतदाता छन् । अहिले चोकचोकको चिया पसलदेखि ठूलठूला होटलमा चुनावी चर्चा परिचर्चा हुने गरेको छ ।

यसपालिको चुनावमा कुन उम्मेदवार बलियो छ ? कुन उम्मेदवारले बाजी मार्ने ? चुनावी जोड घटाउ भइरहेको स्थानीयले बताएका छन् । जिल्लामा चार प्रतिनिधिसभा निर्वाचन क्षेत्र र आठ वटा प्रदेशसभा निर्वाचन क्षेत्र छन् । सबै निर्वाचन क्षेत्रमा पूर्वमन्त्री तथा पार्टीका केन्द्रीय नेता चुनावी प्रतिस्पर्धामा रहेकाले सहजरूपमा चुनावी परिणाम आँकलन गर्न गाह्रो रहेको राजनीतिक जानकारले बताएका छन् । ती निर्वाचन क्षेत्रमा विभिन्न पार्टीबाट १० पूर्वमन्त्री चुनावी प्रतिस्पर्धामा छन् ।

क्षेत्र नम्बर १ मा माओवादी केन्द्रका उपमहासचिव तथा पूर्वमन्त्री मातृकाप्रसाद यादव चुनावी प्रतिस्पर्धामा छन् । गत ०७४ सालको निर्वाचनमा तत्कालीन वाम गठबन्धनको उम्मेदवार भएर सो क्षेत्रबाट निर्वाचित भएका उनी यसपटक पाँच दलीय गठबन्धनको साझा उम्मेदवार भएर चुनावी प्रतिस्पर्धामा होमिएका छन् ।

अघिल्लो निर्वाचनमा उनले २६ हजार ४ सय १८ मत ल्याएर निर्वाचित हँुदा उनको निकटतम प्रतिद्वन्द्वी तत्कालीन संघीय समाजवादी फोरमका दीपक कार्कीले १७ हजार २ सय ९६ मत प्राप्त गरेका थिए । यसपटक पुनः यादव र कार्की चुनावी प्रतिस्पर्धामा होमिएका छन् । कार्की जनता समाजवादी पार्टीबाट उम्मेदवार बनेका छन् । एमालेले टिकट नदिएपछि किशोरी साह जनमत पार्टीबाट सो क्षेत्रमा उम्मेदवार बनेका छन् । सो क्षेत्रमा यादव, कार्की र साहबीच त्रिपक्षीय प्रतिस्पर्धा हुने स्थानीयको आँकलन छ ।

यस्तै क्षेत्र नम्बर २ मा पनि तीन जना पूर्वमन्त्री चुनावी मैदानमा उत्रिएका छन् । धनुषाको पूर्वी दक्षिण क्षेत्र नम्बर २ को प्रतिनिधिसभा सदस्यका लागि नेपाली कांग्रेसबाट पूर्वमन्त्री रामकृष्ण यादव, एमालेबाट पूर्वमन्त्री उमाशंकर अरगरिया, नेकपा (एकीकृत समाजवादी) बाट पूर्वमन्त्री रामचन्द्र झा र जनता समाजवादी पार्टी (जसपा) बाट गंगाराम यादव चुनावी प्रतिस्पर्धामा छन् ।

गत निर्वाचनमा प्रतिनिधिसभामा संघीय समाजवादी फोरमबाट निर्वाचित अरगरियाले ३२ हजार ४४ मत ल्याएर जित हासिल गर्दा नेकपा माओवादी केन्द्रबाट उम्मेद्वार बनेका पूर्वमन्त्री झाले १८ हजार ७ सय १५ मत प्राप्त गरेका थिए । पूर्वमन्त्री अरगरिया अहिले नेकपा एमालेबाट उम्मेद्वार बनेका छन् भने पूर्वमन्त्री झा नेकपा एकीकृत समाजवादी पार्टीबाट उम्मेदवार बनेका छन् ।

अघिल्लो निर्वाचनमा तेस्रो स्थानमा खुम्चिएका कांग्रेस नेता तथा पूर्वमन्त्री यादवसँगै जनता समावादी पार्टीले सो क्षेत्रमा गंगाराम यादवलाई उम्मेदवार बनाएको छ । उनीहरूबीच तीव्र प्रतिस्पर्धा हुने स्थानीयको आँकलन छ । मधेस प्रदेशको राजधानी जनकपुरधामसमेत रहेको धनुषा क्षेत्र नम्बर ३ मा एमाले नेत्री जुलीकुमारी महतो र लोसपा वरिष्ठ नेता अनिल झाबीच मुख्य प्रतिस्पर्धा हुने देखिन्छ ।

पाँचदलीय गठबन्धनबाट लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) नेता झा र एमाले–जसपा गठबन्धनबाट नेत्रृ महतो उम्मेद्वार छन् । उनीहरू दुवै निवर्तमान प्रतिनिधिसभा सदस्य तथा पूर्वमन्त्री हुन् । महतो यो क्षेत्रका लागि पुरानै अनुहार हुन् भने झा नयाँ अनुहार हुन् । गत ०७० सालको दोस्रो संविधानसभा निर्वाचनमा महतो कांग्रेस नेता विमलेन्द्र निधिसँग पराजित भएका थिए । गत ०७४ सालको निर्वाचनमा कांग्रेस नेता निधि लोसपाका वरिष्ठ नेता राजेन्द्र महतोसँग पराजित भएका थिए । यसपटक निर्वाचनमा कांग्रेस नेता निधि समानुपातिक सूचीमा गएका छन् भने लोसपा वरिष्ठ नेता महतो आफ्नै गृहजिल्ला सर्लाही २ बाट चुनाव लड्नेभएका छन् ।

पुरानो महतो र नयाँ अनुहार झाबीच नै मुख्य प्रतिस्पर्धा हुने धेरैको आँकलन छ । पक्का भएको छ । लोसपा उम्मेद्वार झाको जितको लागि कांग्रेसको मत महत्वपूर्ण छ । यो चुनावमा कांग्रेसको तर्फबाट अन्तरघात हुने कुनै सम्भावना नरहेको नेता रामसरोज यादवले बताए । यसैगरी क्षेत्र नम्बर ४ मा नेपाली कांग्रेस र एमालेका दुई ठूला नेता प्रतिस्पर्धामा छन् । सो क्षेत्रमा पाँच दलीय गठबन्धनको तर्फबाट नेपाली कांग्रेसका सहमहामन्त्री तथा पूर्वमन्त्री महेन्द्र यादव र नेकपा एमालेका सचिव तथा पूर्वमन्त्री रघुवीर महासेठको उम्मेदवारीले त्यहाँ रोचक प्रतिस्पर्धा हुने देखिएको छ ।

०७४ सालको निर्वाचनमा पनि दुवै जना चुनाबी मैदानमा उत्रिएका थिए । त्यसबेला महासेठले यादवलाई पराजित गरेका थिए । महासेठले २२ हजार ५ सय ३२ मत ल्याएर जित हासिल गर्दा यादवले १९ हजार ९ सय ९१ मत ल्याएको थिए । पुनः दुवै नेता एउटै क्षेत्रमा आमनेसामने भएपछि चुनाबी सरगर्मी बढेको स्थानीयले बताएका छन् । अघिल्लो निर्वाचनमा भन्दा यसपटक निर्वाचनमा राजनीतिक समीकरण फरक रहेकाले चुनाबी परिणाम कसको पक्षमा जान्छ भन्ने अनुमान गर्न कठिन रहेको स्थानीयवासीको भनाइ छ । जिल्लामा २ लाख ५२ हजार ९ सय १५ पुरुष, २ लाख २१ हजार ६ सय ६५ महिला र अन्य सात गरी कुल ४ लाख ७४ हजार ५ सय ८७ मतदाता रहेको मधेस प्रदेश निर्वाचन कार्यालय जनकपुरधामले जनाएको छ । जिल्लामा ३ सय २२ मतदानस्थल र ६ सय पाँच मतदान केन्द्र तोकिएका छन् ।

प्रतिक्रिया