गण्डकी प्रदेश खेलकुद परिषद् नेतृत्वविहीन

कास्की । नवौँ राष्ट्रिय खेलकुद प्रतियोगिताको औपचारिक सुरुवात हुन अब तीन दिनमात्र बाँकी छ । गण्डकी प्रदेशका आठ जिल्लामा हुने प्रतियोगिताको उद्घाटन अगावै केही खेल भने पोखरामा सुरु भइसकेका छन् भने अधिकांश खेल यही असोज २८ देखि हुँदैछन् ।

प्रतियोगिताका लागि खेलस्थलको मर्मत र अन्य व्यवस्थापकीय काम अहिले तीव्रताका साथ भइरहेको छ । राष्ट्रिय खेलकुद यही असोज २८ देखि कात्तिक ३ गतेसम्म सञ्चालन हुँदैछ ।

राष्ट्रिय खेलकुद आयोजनाको जिम्मेवारी संघीय सरकारको राष्ट्रिय खेलकुद परिषद् (राखेप) को भए पनि स्थानीय आयोजकका रूपमा गण्डकी प्रदेश सरकार मातहतको खेलकुदको कार्यकारी निकाय प्रदेश खेलकुद परिषद् रहेको छ ।

स्थानीय आयोजक र व्यवस्थापनको जिम्मेवारी रहेको प्रदेश खेलकुद परिषद् भने अहिले नेतृत्वविहीन बनेको छ । राष्ट्रिय खेलकुदको पूर्वसन्ध्या र केही खेलका प्रतियोगिता सञ्चालन भइरहँदा परिषद्का सदस्यसचिवको पद आइतबारदेखि रिक्त भएको हो ।

परिषद्का सदस्यसचिव तेजबहादुर गुरुङले ६० वर्षे उमेरहदबन्दीका कारण अनिवार्य अवकाश पाएपछि प्रदेश खेलकुदको कार्यकारी निकाय परिषद् नेतृत्वविहीन भएको हो ।

प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचन आचारसंहिताका लागू भइसकेका कारण सरकारले तत्कालै परिषद्मा नयाँ नियुक्ति गर्न पाउँदैन । परिषद्को कार्यकारी प्रमुखको पद खाली भएसँगै राष्ट्रिय खेलकुदको तयारी र सरकारका खेलकुदसम्बन्धी अन्य काम प्रभावित हुने ठानिएको छ ।

युवा तथा खेलकुद मन्त्रालयले भने सदस्यसचिवको पद खाली रहँदैमा खेलकुदका काम अघि बढाउन असर नपर्ने जनाएको छ । राष्ट्रिय खेलकुद प्रतियोगितालगायतका अन्य परिषद्का सदस्यसचिवले गर्ने सबै कामको जिम्मेवारी मन्त्रालयको खेलकुद महाशाखा प्रमुखले गर्ने मन्त्रालयका सचिव बद्रीनाथ अधिकारीले बताए ।

उनले भने, ‘परिषद्को नेतृत्व खाली हुँदैमा नवौँका लागि गर्नुपर्ने कुनै पनि काम रोकिँदैन, खेलकुद परिषद् ऐनमै सदस्यसचिवको पद रिक्त भएमा खेलकुद महाशाखा प्रमुखले जिम्मेवारी सम्हाल्ने भन्ने छ, सोहीअनुसार गर्छौँ ।’

प्रदेश खेलकुद परिषद् गण्डकीको स्थापनासँगै हाल अवकाश पाएका सदस्यसचिव गुरुङले खुल्ला प्रतिस्पर्धामार्फत चार वर्षको लागि गण्डकी प्रदेश सरकारबाट नियुक्ति पाएका थिए ।

अवकाश भएका सदस्यसचिव गुरुङले आफ्नो कार्यकालमा प्रदेशको खेलकुदलाई चुनौतीपूर्ण घडीमा स्थापित गर्न सफल भएको बताए ।

उनले भने, ‘हामीले जुन भूमिका खेल्यौँ, त्यो महत्वपूर्ण र उपलब्धिमूलक रहेको छ, प्र्रदेशको खेलकुदलाई चलायमान बनाउन भूमिकामात्रै खेलेनौँ निश्चित गन्तव्यमा पुग्नका लागि ठोस रणनीतिक योजना तय गरेका छौँ ।’

प्रतिक्रिया