
सुर्खेत । प्रदेश तथा प्रतिनिधिसमा निर्वाचनको समय नजिकिएसँगै कर्णाली प्रदेशको राजधानी रहेको सुर्खेतको वीरेन्द्रनगरका १ देखि १४ वटा वडा रहेको सुर्खेत निर्वाचन क्षेन नं २ (क) मा विभिन्न पार्टीबाट उम्मेदवारहरु सिफारिस भइरहेका छन् ।
नेकपा एमालेले वर्तमान प्रदेशसभा सदस्य तथा यामलाल कँडेललाई नै एकल उम्मेदवार सिफारिस गरेको छ । कांग्रेसले यसअघि प्रदेशसभा निर्वाचनमा एमालेका यामलाल कँडेलसँग पराजित भएका कमल रेग्मी, वीरेन्द्रनगर नगरपालिकाका पूर्वमेयर देवकुमार सुवेदीसहितलाई सिफारिस गरेको छ ।
गठबन्धन हुने भएका कारण र यो क्षेत्र नेपाली कांग्रेसको भागमा पर्ने आँकलनका साथ माओवादी र नेकपा एसले उम्मेदवार सिफारिस गरेका छैनन् । एमालेले यामलाल कँडेललाई नै प्रदेशसभा सदस्यका उम्मेदवारको रुपमा दोहोर्याउने गरी एकल सिफारिस गरेपछि कांग्रेसबाट कँडेलसँग भिड्न सक्ने नेताको रुपमा देवकुमार सुवेदीको चर्चा हुन थालेको छ ।
वीरेन्द्रनगर नगरपालिकाको मेयरको रुपमा पाँचवर्षे कार्यकाल वितासकेका सुवेदी युवामाझ लोकप्रिय नेताको रुपमा परिचित छन् । गठबन्धनबाट देवकुमार सुवेदी नै प्रदेशसभा सदस्यको लागि बलिया दावेदार हुन सक्ने आँकलन सुरु भएको छ ।
मेयरको कार्यकालमा पनि विवादमा नआएका सुवेदी कांग्रेसको जिल्ला सचिवसमेत हुन् । सुवेदी वीरेन्द्रनगरका युवाहरुमाझ लोकप्रिय नाम रहेकोले पनि यामलाल कँडेललाई पराजित गर्न सक्ने कांग्रेसको बिलयो उमेदवारको रुपमा उनको चर्चा हुन थालेको हो ।
‘यामलाल कँडेललाई पराजित गर्न देवकुमार सुवेदी नै उत्तम उमेदवार हुन्’, कांग्रेस सुर्खेतका एक नेता भन्छन्, ‘संघमा हृदयराम थानी र प्रदेशमा देवकुमार सुवेदी उमेदवार भएमा दुबै निर्वाचन क्षेत्रमा हाम्रो जित हुन्छ, दुवै पक्षको सन्तुलन पनि मिल्छ, सुवेदी यहाँका नागरिकमाझ लोकप्रिय नाम हो ।’
सुर्खेतमा दुई प्रतिनिधिसभा निर्वाचन क्षेत्र र चारवटा प्रदेशसभा निर्वाचन क्षेत्र छन् । निर्वाचनमा गठबन्धन हुने लगभग निश्चित भएसँगै सुर्खेतका २ वटा प्रदेश निर्वाचन क्षेत्र माओवादीले पाउनेछ । कांग्रेसको भागमा २ प्रतिनिधिसभा र २ प्रदेशसभा बाँकी रहनेछन् ।
क्षेत्र नं १ मा कांग्रेस उपसभापति पूर्णबहादुर खड्का एकल उम्मेदवार सिफारिस भइसकेका छन् । संस्थापन इतर समूहबाट क्षेत्र नं २ बाट पूर्वकेन्द्रीय सदस्य हृदयराम थानी सम्भावित उमेदवार हुन् ।
गएको महाधिवेसनबाट सुर्खेतमा आफ्नो बलियो पकड बनाएको संस्थापन समूहले चारमध्ये कम्तिमा तीन स्थानमा दाबी गर्नेछ । प्रतिनिधिसभा २ मा संस्थापन इतर समूहबाट थानीले टिकट पाएमा २ (क) मा प्रदेशसभामा संस्थापन समुहबाट देवकुमार सुवेदी बलिया दावेदार मानिनेछन् । त्यसो हुँदा प्रतिनिधिसभामा संस्थापन इतर र प्रदेशसभामा संस्थापन समूहको उम्मेदवारी भइ सन्तुलन हुनेछ ।
२०७४ सालको स्थानीय तहको निर्वाचनमा कांग्रेसबाट गेहेन्द्रप्रसाद दाहाल बागी उमेदवार हुँदासमेत सुवेदी विजयी भएका थिए । बागी उमेदवार दाहालले १८९७ मत पाएका थिए । सुवेदीले १४४०५ र उनका प्रतिस्प्रधि एमालेका बालाराम शर्माले १३८९९ मत पाएका थिए । जबकी कांग्रेसबाट उपमेयरकी उम्मेदवार जानकी सिंहले १४००२६ मतमात्रै पाएकी थिइन्।
२०७९ को स्थानीय तहको निर्वाचनमा वडाध्यक्षले पाएको मतपरिणामको आधारमा यस निर्वाचन क्षेत्रमा २०३२ मतले गठबन्धन अगाडि छ। यस क्षेत्रमा गठबन्धनको २०६४७ मत हुँदा एमालेको १८६१५ मत मात्रै छ ।
गएको स्थानीय तहको निर्वाचनमा वीरेन्द्रनगरका अधिकांश वडाहरुमा संस्थापन इतर समूहले सहयोग नगरेका कारण यस निर्वाचन क्षेत्रका १४ वटा वडामध्ये १० वटा वडामा कांग्रेस पराजित भएको थियो । यसले पनि कांग्रेसको मत कम देखिएको विश्लेषण हुने गरेको छ ।
प्रतिक्रिया