
काठमाडौं । प्रश्नपत्र चुवाहट काण्डमा चौतर्फी घेराबन्दीमा परेका भारतका शिक्षामन्त्री धर्मेन्द्र प्रधानको राजीनामाको विषयलाई लिएर केन्द्र सरकार र आन्दोलनकारीबीचको गतिरोध झन् चर्किएको समय वार्ता भएको छ ।
पछिल्लो घटनाक्रम अनुसार भारतमा केन्द्र सरकारले काक्रोच जनता पार्टी (सीजेपी) को माग सम्बोधन गर्न भोलि शनिबारसम्मको समय मागेको छ । राजधानी दिल्लीको कन्स्टिट्युसन क्लबमा प्रधानन्यायाधीश र केन्द्र सरकारका प्रतिनिधिहरूबीच दुई घण्टासम्म चलेको वार्तामा शिक्षामन्त्री प्रधानको राजीनामाको मुद्दा नै वार्ताको मुख्य अड्को बनेपछि रक्षात्मक बनेको सरकारले २४ घण्टाको समय मागेको हो ।
आफ्नो लापरवाहीका कारण लाखौँ विद्यार्थीको भविष्य अन्धकारमा धकेलिएको र कयौँ युवा आत्महत्या गर्न बाध्य हुँदा पनि पद टाँसिएर बसिरहेका शिक्षामन्त्री प्रधानको राजीनामालाई प्रदर्शनकारीहरूले गैरसम्झौताहीन मुख्य अडान बनाएका छन् ।
वार्तामा केन्द्रीय मन्त्रीहरू जेपी नड्डा र जितेन्द्र सिंहले सरकारको बचाउ गर्ने प्रयास गरे पनि आन्दोलनकारी प्रवक्ताहरू सौरभ दास र आशुतोष रांकाले शिक्षामन्त्रीको बर्खास्ती, मृतक विद्यार्थीका परिवारलाई १–१ करोड क्षतिपूर्ति र पक्राउ परेका युवाहरूमाथिका एफआईआर फिर्ता नभएसम्म सम्झौता नहुने स्पष्ट पारेका छन् ।
प्रधानमन्त्री नरेन्द्र मोदीले फास्ट–ट्र्याक कोर्ट र २२ लाख विद्यार्थीको पुनः परीक्षाको दुहाई दिएर शिक्षामन्त्रीको गम्भीर लापरवाही ढाकछोप गर्ने प्रयास गरे पनि आक्रोशित युवाहरूले त्यसलाई ठाडै अस्वीकार गरिदिएका छन् ।
निर्दोष विद्यार्थी र वकिलहरूमाथि प्रहरी प्रशासन लगाएर दमन गरी कुर्सीमा टिकिरहने शिक्षामन्त्री प्रधानको हत्कण्डाले झन् आक्रोशको आगोमा घिउ थपेको छ । यदि भोलि दिउँसोसम्म शिक्षामन्त्रीले राजीनामा दिएनन् भने जन्तरमन्तरमा जारी विरोध प्रदर्शनलाई देशव्यापी आँधीबेहरीमा परिणत गर्ने चेतावनी आन्दोलनकारीहरूले दिएका छन् ।
प्रतिक्रिया