भलिबल संघको केन्द्रिय समिति ४१ सदस्यीय हुने !

काठमाडौं । नेपाल भलिबल संघको केन्द्रिय समिति ४१ सदस्यीय बन्ने भएको छ । भलिबल संघको निर्वाचन भदौ २२ गतेका लागि तय भइसकेको छ । निर्वाचन समेत रहेको साधारण सभामा संघले ४१ सदस्यीय केन्द्रिय समितिको विधान संसोधनका लागि प्रस्ताव लाने भएको छ । काठमाडौं मंगलबार बसेको संघको नवौ पूर्ण बैठकले २ पदाधिकारी उपाध्यक्ष थप्ने गरि विधान अनुमोदन गरेको छ । साधारण सभाले पास गरेपछि त्यो कार्यान्वयन हुने संघका महासचिव जितेन्द्रबहादुर चन्ले जानकारी दिए ।

विधान संशोधनका लागि पूर्वअध्यक्ष गंगाबहादुर थापा मगरको संयोजकत्वमा रहेको समितिलेसातै प्रदेशको प्रतिनिधित्व हुने गरि ७ उपाध्यक्ष र २ मनोनितको व्यवस्थासहित ९ उपाध्यक्ष रहने गरि विधान संशोधनको प्रस्ताव तयार गरेको हो । संघको पूर्ण बोर्ड बैठकले संशोधित विधानलाई सर्वसम्मत रुपमा पारित गरेको छ । विधान संसोधन पास भएमा ४१ सदस्यीय कार्यसमिति बन्नेछ । अहिले ३९ सदस्यीय कार्यसमिति रहनेछ । अब सात प्रदेशबाट उपाध्यक्षको प्रतिनिधित्व हुनेछ । संघको वर्तमान विधानमा निर्वाचनबाट ५ उपाध्यक्ष र दुई जनालाई अध्यक्षले मनोनित गर्ने व्यवस्था छ ।

विधान संसोधन प्रस्तावमा खेलाडीको प्रतिनिधित्व हुने गरि पूर्व अन्तर्राष्ट्रिय खेलाडीबाट एक पुरुष र एक महिलालाई साधारण सभामा सहभागी गराउने व्यवस्था गरेको छ । यसअघि राष्ट्रिय टोली महिला र पुरुष टोलीका कप्तानले मताधिकार प्रयोग गर्दै आइरहेको थियो । ‘खेलाडीको प्रतिनिधित्व पूर्व अन्तर्राष्ट्रिय खेलाडीहरुले गर्ने गरि संसोधन प्रस्ताव गरेका छौं, चन्दले भने, ‘अब राष्ट्रिय टोलीको महिला र पुरुषतर्फको कप्तानको सट्टा पूर्व अन्तर्राष्ट्रिय खेलाडीहरु मध्येबाट एक महिला र एक पुरुषले प्रतिनिधित्व गर्ने प्रस्ताव गरेका छौं ।’

संसोधित विधान अनुसार ४१ सदस्यीय कार्यसमितिमा १ अध्यक्ष, ७ उपाध्यक्ष, महासचिव, कोषाध्यक्ष, ७ सचिव र ९ सदस्य गरी २६ जना निर्वाचित हुनेछन् । बाँकी १५ मध्ये १४ जनालाई निर्वाचित कार्यसमितिले मनोनित गर्नेछ । १ जना पूर्व अध्यक्ष पदेन सदस्यका रुपमा रहनेछन् ।
यसपटक ३९ सदस्यीय कार्यसमितिमा अध्यक्ष, ५ उपाध्यक्ष, महासचिव, कोषाध्यक्ष, ७ सचिव र १० सदस्य गरी २५ जना निर्वाचित हुनेछन् । बाँकी १४ मध्ये १३ जनालाई निर्वाचित कार्यसमितिले मनोनित गर्नेछ । १ जना पूर्व अध्यक्ष पदेन सदस्यका रुपमा रहनेछन् ।

निर्वाचनमा १ सय ३६ जना मतदाता रहनेपनि यसपल्ट भने १३३ जनाले मात्र मतदान गर्न पाउनेछन् । ७७ वटै जिल्लाबाट ७७ जना, सात प्रदेशबाट १४ जना, हालको केन्द्रीय कार्यसमितिबाट ३९ जना रहेपनि तीन जना राखेपका कर्मचारी रहेकाले मत हाल्न पाउनेछैनन् । रेफ्री कमिसनबाट १ र राष्ट्रिय खेलाडी (पुरुष र महिला) र तीन सिभिल क्लब (ढोरपाटन भलिबल प्रशिक्षण केन्द्र, न्यू डायमण्ड स्पोर्टस क्लब र जावलाखेल भलिबल प्रशिक्षण केन्द्र) ले संघको निर्वाचनमा मताधिकार पाएका छन् ।
यसपटकको अध्यक्षको लागि हाल उपाध्यक्ष रहेकी निरोज मास्केले अध्यक्षको लागि उम्मेदवारी घोषणा गरिसकेकी छन् । महासचिवमा मनवीर छन्त्यालले उम्मेदवारी दिने चर्चा छ ।

प्रतिक्रिया