साफले एक साता भारतको बाटो हेर्ने

काठमाडौं । दक्षिण एसियाली फुटबल महासंघ (साफ) ले फिफाबाट निलम्बित भारतको क्षेत्रीय प्रतियोगितामा सहभागिताबारे निर्णय गर्न लागि एक साता बाटो हेर्ने भएको छ । फिफाले मंगलबार विज्ञप्ति जारी गर्दै भारतको फुटबल संघ एआइएफएफलाई निलम्बन गरेको थियो । तेस्रो पक्षबाट हस्तक्षेप भएको भन्दै फिफाले उक्त कदम चालेको थियो । फिफाको उक्त निर्णयसँगै भारतले अन्तर्राष्ट्रिय खेल तथा प्रतियोगितामा सहभागिता जनाउन नपाउने भएको थियो । तर साफले बुधबार बसेको बैठकबाट अर्को सातासम्म भारतको बाटो हेर्ने निर्णय लिएको छ ।

बुधबार बसेको भर्चुअल बैठकबाट भारतको सहभागिता नभएको खण्डमा आउने महिना हुने दुई प्रतियोगिताबारे पनि निर्णय भएको छ । यदि २३ अगष्टसम्म फिफाको निर्णय परिवर्तन नभए साफले अर्को महिना नेपालमा हुने साफ महिला च्याम्पियनसिपमा ६ टोलीसहित प्रतियोगिता गर्नेछ । पुरानै समूह विभाजनबाट प्रतियोगिता अघि बढ्नेछ ।

भदौ २१ देखि असोज २३ गते सम्म दशरथ रंगशालामा हुने साफ च्याम्पिनसिपका लागि साफले यसअघि नै समूह विभाजन र खेल तालिका सार्वजनिक गरेको थियो । च्याम्पियनसिपको छैटौं संस्करणमा आयोजक नेपालसँगै श्रीलंका र भुटान छन् । नेपालले हालसम्म साफ च्याम्पियनसिपमा श्रीलंका र भुटानविरुद्ध सबै खेलमा जित्दै आएको छ । भारत बाहिरिए समूह ए मा अब बंगलादेश, माल्दिभ्स र पाकिस्तान रहने छन् ।

भारत च्याम्पियनसिपको साविक विजेता हो । पहिलाको भन्दा अब च्याम्पियनसिपमा ३ खेल कम गरि ९ खेल मात्र हुनेछ । समूह चरणपछि समूहका शीर्ष दुई टोली सेमिफाइनलमा पुग्नेछन् । त्यस आधारमा समूह चरणमा ६ खेल तथा २ सेमिफाइनल र फाइनल खेल हुनेछ । साफले अब खेल तालिका भने संशोधन गर्ने सम्भावना रहन्छ ।

कुमार थापाको मुख्य प्रशिक्षणमा नेपाली टोलीले साफ च्याम्पियनसिपको तयारी गरिरहेको छ । पहिलो चरणमा ५८ खेलाडी छनोट भएका थिए भने अहिले ३५ खेलाडीले प्रशिक्षण गरिरहेका छन् । पाँचौं संस्करण विराटनगरमा भएको थियो । त्यति बेला नेपाल भारतसँग पराजित भएको थियो ।

श्रीलंकामा हुने साफ यू–१७ प्रतियोगिताको हकमा भने प्रतियोगिताको प्रारूप परिवर्तन हुनेछ । यसअघि ६ टोलीलाई ३ समूहमा विभाजन गरिएकोमा अब भने राउन्ड रोबिन लिग हुने सम्भावना छ । साफले यसबारे भने विस्तृत खुलाएको छैन ।

प्रतिक्रिया