नेपाली राष्ट्रिय क्रिकेट टोलीको प्रशिक्षण आरम्भ

काठमाडौं । यसै साता नेपाली राष्ट्रिय क्रिकेट टोलीको प्रशिक्षकमा नियुक्त भएका मनोज प्रभाकरले नेपाली टोलीको अभ्यास सुचारु गरेका छन् । कीर्तिपुरस्थित त्रिभूवन अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा प्रभाकरले अभ्यासको थालनी गरेका हुन् । उनको प्रशिक्षणमा नेपाली टोली केन्या भ्रमण गर्दैछ । पुबुदु दाशानायकेले ७ महिनाको प्रशिक्षण यात्रालाई अन्त्य गरेसँगै नियुक्त भएका प्रभाकरले नेपाली टोलीको मुख्य समस्या ब्याटिङलाई सुधार गर्ने प्रतिवद्धता जनाएका थिए ।

पहिलो दिनको सामान्य अवलोकनपछि प्रभाकरले नेपाली टोलीमा टेक्निकको समस्या रहेका बताए । केन्या भ्रमण गर्न लागेको टोलीमा नेपाल क्रिकेट संघ क्यानले पूर्व कप्तान ज्ञानेन्द्र मल्ललाई समेट्दै १६ सदस्यीय नेपाली राष्ट्रिय क्रिकेट टोलीको घोषणा गरिएको छ ।

अगस्ट २५ देखि सेप्टेम्बर ५ सम्म केन्यामा आयोजना हुन लागेको ५ ट्वान्टी–२० र तीन एक दिवसीय सिरिजका लागि क्यानले लेग स्पिनर सन्दिप लामिछानेको कप्तानीमा १६ सदस्यीय टोली घोषणा गरेको हो । जसमा ज्ञानेन्द्र मल्लले पुनरागमन गरेका छन् भने यु–१९ टोलीका विकेटकिपर अर्जुन साउद पनि टोलीमा अटाएका छन् ।

मल्लले पछिल्लो पटक विश्व क्रिकेट लिग–२ अन्तगर्त मार्चमा युएईसँगको खेलमा समावेश थिए । राष्ट्रिय टोलीमा पछिल्लो पटक स्कटल्याण्ड भ्रमण गरेका विनोद भण्डारी, कुशल भुर्तेल र सुनिल धमला टोलीबाट बाहिरिएका छन् भने अर्जुन साउद पहिलो पटक राष्ट्रिय टोलीमा अटाएका हुन् । यस्तै वैकल्पिक खेलाडीमा क्यानले चार खेलाडी समावेश गरेको छ । वैकल्पिकमा तीब्र गतिका बलर जितेन्द्र मुखियासहित भीम सार्की, प्रतिश जिशी र हरिशंकर शाह रहेका छन् ।

घोषणा भएको टोलीले अगस्ट २५ देखि सेप्टेम्बर ५ सम्म केन्यामा आयोजना हुने सिरिज खेल्नेछ । नेपालले भ्रमण गर्ने सिरिजमा ५ ट्वान्टी–२० र तीन एक दिवसीय खेल हुनेछन् । दुवै सिरिज केन्याको घरेलु मैदानमा हुनेछ ।
घरेलु टोली केन्यासँगको सिरिजको लागि तालिका समेत सार्वजनिक गरेको छ । तालिका अनुसार नेपालले ट्वान्टी–२० सिरिज खेल्नेछ । पहिलो ट्वान्टी–२० अगस्ट २५ मा हुनेछ भने दोस्रो अगस्ट २६, तेस्रो अगस्ट २८, चौथो अगस्ट २९ र अन्तिम अगस्ट ३० मा हुनेछ । यस्तै पहिलो एकदिवसीय सेप्टेम्बर २, दोस्रो एकदिवसीय सेप्टेम्बर ३ र अन्तिम एकदिवसीय सेप्टेम्बर ५ मा हुने तालिका रहेको छ ।
नेपाली टोली नवनियुक्त मुख्य प्रशिक्षक मनोज प्रभाकरको नेतृत्वमा नेपाली टोली केन्या भ्रमणमा जानेछ ।

प्रतिक्रिया