इङ्लिस प्रिमियर लिग : म्यान युनाइटेडको लज्जास्पद हार

लन्डन । इङ्लिस प्रिमियर लिग फुटबलमा म्यानचेस्टर युनाइटेडले लज्जास्पद हार भोगेको छ । जारी सिजनको लिगमा म्यान युनाइटेडको यो लगातार दोस्रो हार हो । ब्रेन्टफोर्डले शनिबार राति खेलिएको खेलमा म्यान युनाइटेडलाई ४—० गोलको फराकिलो अन्तरले पराजित गर्यो ।

ब्रेन्टफोर्डको घरेलु मैदानमा खेलको प्रारम्भदेखि नै म्यान युनाइटेडले निराशाजनक प्रदर्शन गरेको थियो । ‘अवे मैदान’मा म्यान युनाइटेडका लागि पोर्चुगलका स्टार खेलाडी क्रिष्टियानो रोनाल्डोसमेत नुकै प्रभाव देखाउन सकेनन् ।
ब्रेन्टफोर्डले चारवटै गोल खेलको पहिलो हाफमै गरेको थियो । ब्रेन्टफोर्डलाई सजिलो जित दिलाउन जोस डासिल्भाले १०औं मिनेटमा पहिलो गोल गरे । १८औं मिनेटमा म्याथिस जेन्सनले टोलीको अग्रता दोब्बर बनाए । ३०औं मिनेटमा बेन मीले टोलीका लागि तेस्रो गोल गरे ।

निर्धारित समयको ३५औं मिनेटमा बायर्न एमबेउमोले ब्रेनफोर्डका लागि चौथो गोल गरेका थिए । लगातार दोस्रो खेलमा पराजित भएको म्यान युनाइटेड अंक तालिकामा सबैभन्दा तल छ । ब्रोनफोर्ड भने एक जित र एक बराबरीको नतिजा निकाल्दै चार अंकसहित तालिकाको तेस्रो स्थानमा आसिन छ ।

सोही राति भएका अन्य खेलमा साविक विजेता म्यानचेस्टर सिटी र आर्सनलले भने सहज जित निकालेका छन् । म्यान सिटीले घरेलु मैदानको फाइदा उठाउँदै बर्नमाउथलाई ४–० गोलको फराकिलो अन्तरले पराजित गर्यो ।

इत्तिहाद रंगशालामा भएको खेलमा म्यान सिटीलाई सजिलो जित दिलाउन इल्की गुन्डोगानले १९औं, केभिन डी ब्रुनले ३१औं र फिल फोडेनले ३७औं मिनेटमा गोल गरे । बर्नमाउथका जेफर्सन लेर्माबाट ७९औं मिनेटमा एउटा आत्मघाती गोल भएको थियो ।

जारी सिजनको लिगमा म्यान सिटीको यो लगातार दोस्रो जित हो । म्यान सिटी दुई खेलबाट दुई जित निकाल्दै ६ अंकसहित तालिकाको पहिलो स्थानमा आसिन छ । बर्नमाउथ भने दुई खेलबाट तीन अंक बटुल्दै तालिकाको १०औं स्थानमा छ ।

अर्को खेलमा आर्सनलले लेस्टर सिटीलाई ४–२ गोलले हरायो । आर्सनलका लागि ग्याब्रियल जिससले दुई गोलको योगदान गरे । उनले २३औं र ३५औं मिनेटमा गोल गरेका हुन् । आर्सनलका लागि ग्रानिट जाखा र ग्याब्रियल मार्टिनेल्लीले पनि एक÷एक गोल थपे ।

लेस्टर सिटीका लागि भने विलियम सालिबा र जेम्स माडिसनले एक÷एक गोल फर्काएका थिए । जारी सिजनका लिगमा आर्सनलको यो लगातार दोस्रो जित हो । आर्सनल दुई खेलबाट ६ अंक बटुल्दै तालिकाको दोस्रो स्थानमा छ । दुई खेलबाट एक अंक जोडेको लेस्टर सिटी १४औं स्थानमा छ ।

प्रतिक्रिया