विश्वकै उच्च स्थानमा गल्फ हुने

काठमाडौं । विश्वकै सबैभन्दा उचाइमा गल्फ प्रतियोगिता हुने भएको छ । लोमान्थाङस्थित मुस्ताङ गल्फ कोर्समा भदौ ११ गते ‘टप अफ दि वल््र्ड गल्फ च्यालेन्ज’ प्रतियोगिता हुने भएको हो । मुस्ताङको लोमान्थाङस्थित मुस्ताङ गल्फ कोर्स समुन्द्री सतहबाट ४ हजार ६३५ मिटर उइईमा रहेको बताइएको छ । जुन अहिलेसम्म सबैभन्दा उच्च स्थानमा रहेको सिक्किमको याक गल्फ कोर्षभन्दा उचाइमा रहेको बताइएको छ । पूर्वी सिक्किमको कुपपमा रहेको याक गल्फ कोर्ष तीन हजार ९७० मिटर उचाइमा रहेको प्रफेसनल गल्फर संघका महासचिव दीपक आचार्यले बताए ।

मुस्ताङ गल्फ कोर्समा पहिलोपटक प्रतियोगिता आयोजना गर्न लागिएको हो । प्रतियोगितामा २८ गल्फरले प्रतिस्पर्धा गर्नेछन् । जसमा ४ जना महिला गल्फर पनि छन् । प्रतियोगिता ९ होलमा स्टेबलफोर्ड ३ वाई ४ ह्याडिक्यापमा खेलाइनेछ । प्रतियोगितामा विजेता र उपविजेता, महिला विजेता, वेस्ट ग्रस, क्लोज टू दी पिन, लङ्गेस्ट ड्राइभ र मस्ट बर्डिजलाई पुरस्कृत गरिनेछ । गण्डकी प्रदेशका लागि मुस्ताङका सांसद इन्द्रधारा बिस्टले यसअघि त्यहाँ परीक्षण खेल भइसकेको बताए । उनले भविष्यमा यस प्रतियोगिताको दायारालाई अझ फराकिलो बनाउने बताए ।

‘मुृस्ताङ बसेर हेर्दा यस गल्फ प्रतियोगिताले मुस्ताङको पर्यटनमा ठुलो टेवा पुग्छ भन्ने लाग्थ्यो । तर, काठमाडौं आएपछि लाग्यो यस प्रतियोगिताले मुस्ताङको मात्र होइन, नेपालकै पर्यटनमा टेवा पुग्नेछ,’ सांसद विष्टले भने, ‘जसरी हिमाल चढ्नेहरूका लागि सगरमाथा चढ्ने धोको हुन्छ । त्यस्तै भविष्यमा गल्फ खेल्नेका लागि मुस्ताङ गल्फ कोर्समा खेल्ने धोको हुनेछ ।’

पहिलोपटक आयोजना हुन लागेको प्रतियोगिताबाट गल्फ कोर्सको गुणस्तर पहिचान गर्ने र आवश्यकता अनुसार परिमार्जन गर्दै लगिने आयोजक लोमान्थाङ क्लबले जनाएको छ । गण्डकी प्रदेशसभा सांसद बिस्टकै सक्रियतामा गल्फ कोर्स निर्माण गरिएको हो । सांसद बिस्ट आफैँ पनि गल्फ खेल्छन् । सांसद विकास कोर्सको १० लाख, लोमान्थाङ गाउँपालिका र मुस्ताङका सांसद बिस्टको लगानीमा कोर्सको निर्माण भएको बताइएको छ ।

नेपाल गल्फ कोर्सका अध्यक्ष टासी घलेले पहिलो पटक प्रतियोगिता आयोजना हुन लागेकाले चुनौतीपूर्ण रहेको बताए । उनले थपे, ‘अहिले त्यहाँ पर्फेक्ट कन्डिसन नहुन सक्छ । तर, भविष्यमा सबैलाई एकपटक जाने वातावारण बन्नेछ । त्यसका लागि गल्फ संघले प्राविधिक रूपमा पूर्ण सहयोग गर्नेछ ।’ भदौ ११ गते प्रतियोगिता आयोजना भएपछि यस गल्फ कोर्सलाई विश्वकै हाई अल्टिच्युडमा रहेको गल्फ कोर्स भनेर गिनिज बुकमा नाम लेखाउन प्रयास गर्ने दीपक आचार्यले बताए । त्यस्तै नेपाल माउन्टेन स्पोर्ट्स फेडेरेसनका अध्यक्ष गोविन्द भट्टराईले लोमान्थाङ पोखरा रंगशालापछि गण्डकीको दोस्रो ठुलो स्पोर्ट्स हब बन्न लागेको बताए । ‘हामीले क्वालिटी पर्यटन ल्याउने कि क्वान्टिटी पर्यटन ल्याउने भनेर बहस नै गरेनौँ । यो गल्फ प्रतियोगिताले सफलता हासिल गर्दै गयो भने नेपालमा क्वालिटी पर्यटन भित्राउन सहयोग गर्नेछ । संसारका लागि यो नयाँ गन्तव्य बन्नेछ,’ भट्टराईले थपे, ‘हामीले अब मुक्तिनाथ र गल्फ कोर्षलाई प्रोडक्ट बनाएर विश्व बजारमा बेच्न सक्नुपर्छ ।’

प्रतिक्रिया