पीएसजीको जितमा मेसीको दुई गोल

फ्रेन्च लिग फुटबल

पेरिस । फ्रेन्च लिग फुटबलको नयाँ सिजन पनि शनिबार रातिदेखि सुरु भएको छ । फ्रेन्च लिगको पहिलो दिन तीन खेल भएका छन् । साविक विजेता पेरिस सेन्ट जर्मन (पीएसजी) ले पनि सिजनको सुखद सुरुआत गरेको छ । स्टार खेलाडीहरुले भरिएको पीएसजीले आफ्नो पहिलो खेलमा क्लेयरमन्ट फुटमाथि ५—० गोलेको सजिलो जित हासिल गरेको छ । एकतर्फी उक्त खेलमा पीएसजीलाई सजिलो जित दिलाउन अर्जेन्टिनी स्टार लियोनल मेसीले दुई गोलको योगदान गरे ।

खेलको पहिलो हाफमा तीन गोल गरेको पीएसजीले दोस्रो हाफमा पनि दुई गोल थपेको थियो । खेल सुरु भएको नवौं मिनेटमै ब्राजिलियन स्टार नेमारले गोल गर्दै पीएसजीलाई अग्रता दिलाएका थिए । नेमारले थप तीन गोलका लागि पास पनि उपलब्ध गराएका थिए । खेलको २६औं मिनेटमा अचरफ हकिमीले पीएसजीका लागि दोस्रो गोल थपेका थिए । निर्धारित समयको ३८औं मिनेटमा कप्तान मार्किन्होसले अर्को गोल थपेपछि पहिलो हाफमै बलियो पीएसजी ३—० गोलले अगाडि बढेको थियो ।
त्यसपछि खेलको अन्त्यतिर अर्जेन्टिनी स्ट्राइकर मेसीले लगातार दुई गोल थपेका थिए । उनले सात मिनेटको बीचमा दुई गोल गरेका हुन् । मेसीले ८०औं मिनेटमा पीएसजीका लागि चौथो गोल गरेका थिए । ८६औं मिनेटमा उनले ब्यक्तिगत रुपमा दोस्रो र टोलीका लागि पाँचौं गोल गरे ।

जितसँगै साविक विजेता पिएसजीले पहिलो खेलबाटै तीन अंक बटुलेको छ । पीएसजीले हालसम्म १० पटक फ्रेन्च लिगको उपाधि चुमिसकेको छ । पीएसजी हालसम्म नौ पटक फ्रेन्च लिगमा उपविजेता पनि बनेको छ । पीएसजी र सेन्ट एटिनले मात्र हालसम्म १०/१० पटक फ्रेन्च लिगको उपाधि जित्न सकेका छन् । सोही राति भएको अर्को खेलमा मोनाकोले स्ट्रासबर्गमाथि २—१ गोलको जित हासिल ग¥यो । मोनाकोले दुबै हाफमा एक/एक गोल गरेको थियो । खेल सुरु भएको ४३औं मिनेटमा क्रेपिन डियाट्टाले मोनाकोका लागि पहिलो गोल गरे ।

निर्धारित समयको ५३औं मिनेटमा सोफियन डियोपले अर्को गोल थपेपछि मोनाको २—० गोलले अगाडि बढेको थियो । स्ट्रासबर्गका लागि भने एकमात्र गोल ६५औं मिनेटमा हबिब डियाल्लोले गरेका थिए । जितसँगै मोनाकोले तीन अंक जोडेको छ । अर्को खेलमा लियोनले अजासियोमाथि २—१ गोलको प्रतिस्पर्धात्मक जित हासिल ग¥यो । खेल सुरु भएको १२औं मिनेटमा लियोनका लागि टेटेले पहिलो गोल गरेका थिए । २२औं मिनेटमा लियोनका लागि एलेक्जेन्डर लाकाजेट्टीले पेनाल्टीमार्फत दोस्रो गोल थपेका थिए ।
निर्धारित समयको ३१औं मिनेटमा अजासियोका लागि थोमस मंगानीले पेनाल्टीमार्फत एक गोल फर्काएका थिए । खेलको पहिलो हाफमै दुबै टोली १०/१० खेलाडीमा समेटिएका थिए । २७औं मिनेटमा लियोनका एन्थोनी लोपेज र पहिलो हाफको इन्जुरी समयमा अजासियोका रोमाइन हामुमाले रातो कार्ड पाएका थिए ।

प्रतिक्रिया