प्रशिक्षकको टुंगो २/३ दिन भित्रै लाग्छ : क्यान

काठमाडौं । नेपाल क्रिकेट संघ (क्यान)ले राष्ट्रिय क्रिकेट टिमको प्रमुख प्रशिक्षक २/३ दिन भित्रमा नै नियुक्त गर्ने बताएको छ । क्यानका कार्यवाहक सचिव प्रशान्त विक्रम मल्लले नेपाली राष्ट्रिय क्रिकेट टोलीको केन्या भ्रमणअघि नै नेपाललाई प्रशिक्षक चाहिएकाले छिट्टै नियुक्त गरिने बताए । उनले भने, ‘हामीलाई जति सक्दो छिटो प्रशिक्षक चाहिएकोले २÷३ दिन भित्र नै प्रशिक्षकको टुङ्गो लगाउने क्यानको तयारी रहेको छ ।’

उनका अनुसार यसअघि पुबुदु दाशानाइके नियुक्त हुँदा बैकल्पिकमा रहेका भनिएका मध्येबाट मात्रै नभई नयाँ व्यक्ति नै प्रशिक्षक बनेर आउने सक्ने उनले बताएका हुन् ।
उनले भने, ‘पहिलाको सर्टलिष्टबाट नै आउँछ भन्ने छैन । त्यो भन्दा राम्रो प्रशिक्षक अझ छिटो उपलब्ध हुने भएमा अन्य पनि हामी अनुबन्ध गर्न सक्छौं ।’

यसका साथै उनले नेपालले केन्याले प्रस्ताव गरेको सिरिजप्रति पनि सकरात्मक प्रतिक्रिया दिएका छन् । उनले भने, ‘सम्पूर्ण तयारी पूरा भइ सकेको छ । अब क्यानले आधिकारीक निर्णय सार्वजनिक गर्न भने बाँकी नै छ ।’ पुबुदु राजीनामा दिएर क्यानडा फर्के लगत्तै नेपाली क्रिकेट टिम प्रशिक्षक विहीन छ ।

प्रतिक्रिया