किशोरीलाई निःशुल्क प्याड

वीरेन्द्रनगर । महिनावारीका समयमा पुरानो भइसकेको र लगाउन नमिल्ने झुत्रो कपडाको जोहो गर्थिन्, वीरेन्द्रनगर–१२ की मुना गौतम । त्यस्ता कपडालाई सानोसानो टुक्रा बनाई महिनावारीका समयमा प्रयोग गर्ने गरेको उनले सुनाइन् ।

‘छुई (महिनावारी) भएको बेला कुनामा फालिएका टाला (कपडा) लगाउने गथ्र्यौं,’ मुनाले भनिन्, ‘त्यो पनि घाम पर्ने ठाउँमा सुकाउन हुँदैन भनेर घाम नपर्ने र कसैले नदेख्ने ठाउँमा सुकाउनुपथ्र्यो । एकपटक धोएर राखेको र राम्रोसँग नसुकेको कपडा लगाउँथ्यौँ ।’

महिनावारीका समयमा पुराना कपडालाई प्याडकारूपमा प्रयोग गर्दै आएकी मुनाले आजभोलि नियमितरूपमा सेनेटरी प्याड प्रयोग गर्न थालेकी छन् । ‘स्वास्थ्यचौकीबाट प्रत्येक महिना प्याड लैजाने गरेकी छु,’ उनले भनिन्, ‘प्याड प्रयोग गर्न थालेपछि यही सजिलो लाग्ने रहेछ ।’

महिनावारीका समयमा सफा कपडा प्रयोग गर्नुपर्छ भन्ने विषयमा मुनालाई जानकारी थिएन । त्यति मात्र होइन महिनावारीका विषयमा खुलेर बाहिर कुराकानी गर्न उनी सक्थिनन् । महिनावारीलाई धार्मिकरूपमा मात्र बुझ्दै आएकी उनले सरसफाइबारे पनि बुझ्न थालेकी छन् । उनले भनिन्, ‘यस्तो बेलामा सरसफाइमा ध्यान दिनुपर्ने रहेछ । छोरीलाई पनि बारम्बार यस्तै भन्ने गरेकी छु ।’

महिनावारी हुँदा कुनामा राखिएका झुत्रा र फोहर कपडालाई प्याडका रूपमा प्रयोग गर्ने चलन थियो । कसैले नदेख्ने र नछुने ठाउँमा राख्ने र राम्रोसँग सफा नगरी र घाममा नसुकाएरै राखेको कपडा अर्को महिनावारीका बेलामा लगाउने गरिन्थ्यो । कतिपय ग्रामीण बस्तीमा यस्तै प्रचलन अझै रहे पनि वीरेन्द्रनगरका महिलाले भने पछिल्लो समय त्यस्ता कपडा त्यागेर सेनेटरी प्याड प्रयोग गर्न थालेका हुन् ।

सोही गाउँकी तुल्सी खत्रीले घर नजिकै रहेको स्वास्थ्य चौकीबाट नियमितरूपमा सेनेटरी प्याड लैजाने गरेकी छन् । कोरोना महामारीका कारण भएको लकडाउनका समयमा पनि स्वास्थ्य चौकीबाट प्याड पाउँदा उनी खुसी थिइन् । ‘पहिला पुराना कपडालाई प्याडका रूपमा लगाउने गर्थे । पोहोर सालदेखि स्वास्थ्यचौकीमा आएर प्याड लैजान थालेकी छु,’ उनले भनिन्, ‘पर सरेको बेलामा (महिनावारी) कपडाभन्दा सेनेटरी प्याड प्रयोग गर्न थालेपछि सजिलो भएको छ ।’

उनलाई महिनावारीका बेलामा सफा प्याड प्रयोग गर्नुपर्छ भन्ने विषयमा जानकारी भए पनि महिनैपिच्छे प्याड किन्नलाई पैसा हुँदैनथ्यो । ‘बुबासँग प्याड किन्छु पैसा दिनुहोस् भन्न पनि नसकिने र पढ्ने विद्यार्थी भएकाले आफूसँग पैसा पनि नहुने,’ उनले भनिन्, ‘तर निःशुल्क पाउने भएपछि हरेक महिना स्वास्थ्य संस्थामा आएर प्याड लैजाने गरेकी छु ।’

लकडाउनका बेलामा पनि स्वास्थ्य चौकीबाट निःशुल्क प्याड पाइएकामा खुसी हुँदै वीरेन्द्रनगरकी पवित्रा चौलागाईंले भनिन्, ‘पहिले पुरानै कपडालाई प्रयोग गर्दै आएका थियौँ, स्वास्थ्य चौकीबाट निःशुल्क प्याड पाउनाका साथै जचाउन थालेपछि हामीलाई निकै सजिलो भएको छ ।’ प्याड लिन आउने महिलाले नियमितरूपमा आफ्नो स्वास्थ्य जाँच गराउँदा उनीहरूको स्वास्थ्यमा सकारात्मक प्रभाव परेको अहेब जमुना भण्डारीले बताइन् ।

नगरपालिकाले निःशुल्क प्याड वितरण कार्यक्रमले महिला महिनावारीबारे सचेत हुनाका साथै स्वास्थ्यप्रति सजगता अपनाउन थालेको देखिएको उनले सुनाइन् । विरलै मात्रामा स्वास्थ्य चौकी जाने महिला कम्तीमा प्रत्येक महिना प्याड लिन आएका बेलामा स्वास्थ्य जाँच गराएर जान थालेका छन् ।

‘पहिला बिरामी भएपछि मात्र अस्पताल आउने महिलाले हिजोआज अन्य बेलामा पनि स्वास्थ्य जाँच गराउने गरेका छन,’ अहेब जमुनाले भनिन्, ‘स्वास्थ्य चौकीमा आएका बेला उनीहरूले आफ्ना प्रजनन स्वास्थ्यका विषयमा पनि जानकारी लिने गरेका छन् ।’ वीरेन्द्रनगर–१२ का वडाध्यक्ष चुडामणि चपाईले निःशुल्क प्याड वितरणको कार्यक्रमले सरसफाइमा ध्यान दिनुपर्छ भन्ने चेतनाको विकास गराएको बताए ।

महिनावारी स्वच्छता कार्यक्रमलाई प्रभावकारी बनाउन निःशुल्करुपमा प्याड वितरण गर्दै आएको नगरप्रमुख मोहनमाया ढकालले बताइन् । ‘महिनावारीका विषयमा जोडिएको नकारात्मक धारणा हटाउनाका साथै स्वच्छ महिनावारी हुनुपर्छ भन्ने सचेतना गराउनु कार्यक्रमको उद्देश्य हो,’ उनले भनिनन्, ‘प्रायः महिलामा जचाउन स्वास्थ्य चौकी जाने प्रचलन थिएन । त्यसैले स्वास्थ्य चौकीमार्फत प्याड वितरण गर्दा उनीहरू स्वास्थ्य चौकीमा जाने र जाँच गराउन सक्छन् भनेर यो कार्यक्रम ल्याएका हौँ ।’

अब हरेक माध्यमिक विद्यालयमा किशोरी समूह गठन गरेर कार्यक्रमलाई थप प्रभावकारी बनाइने र नगरका सबै विद्यालयमा प्याड उत्पादन गर्ने उपकरणको व्यवस्था गर्ने तयारी गरिएको नगरप्रमुख ढकालले बताइन् । नगरपालिकाले आर्थिक वर्ष ०७६–७७ देखि बजेट निनियोजन गरी निःशुल्क प्याड उपलब्ध गराउँदै आएको छ । उक्त नगरपालिकाका १६ वटा वडाका स्वास्थ्य संस्थाबाट प्याड उपलब्ध गराइँदै आएको छ । यसका लागि नगरपालिकाले २० लाख रुपैयाँ विनियोजन गरेको छ ।

वीरेन्द्रनगरस्थित नगर अस्पतालमा कार्यरत नर्सिङ इञ्चार्ज सीता आचार्यले प्याड वितरणपछि महिलामा महिनावारीका समयमा सरसफाइमा ध्यान दिनुपर्ने कुराको विकास भएको बताइन् । ‘महिनावारीका बेलामा सबैभन्दा बढी फोहर भएका कपडा लगाउने र जसका कारण विभिन्न इन्फेक्सन भई पाठेघर क्यान्सरसम्म हुने गरेको थियो,’ उनले भनिन्, ‘यो समस्या कम हुँदै गएको देखिएको छ ।’

पछिल्लो समय नगरपाकिलाको केही वडामा महिला समूहले प्याड निर्माण गर्नसमेत थालेका छन् । १९ जना महिला समूहमा बसेर सुतीको कपडाबाट प्याड बनाएका हुन् । गत वर्ष वडा कार्यालय र नगरपालिकाले उनीहरूलाई प्याड बनाउने तालिम प्रदान गरेपछि समूह गठन गरेर उनीहरूले प्याड बनाउन थालेका हुन् ।
आफूले तालिम सिकेर अन्य महिला समूहमा पनि तालिम दिएको महिला उद्यमशील संस्थाका सदस्य विष्णुकुमारी हमालले बताइन् ।

‘हामीलाई अहिले विद्यालय र अन्य संस्थाले पनि तालिम दिनलाई बोलाउँछन् त्यहाँ गएर हामीले तालिम सिकायौँ,’ उनले भनिन्, ‘वीरेन्द्रनगरका ठूला संस्था र नगरका १६ वटै वडाका विद्यालयमा गएर पनि हामीले तालिम सिकायौँ ।’ घरमै भएका कपडालाई मिलाएर पनि प्याड बनाउन सकिने भएकाले यसको उपयोगिता रहेको उनले सुनाइन् ।

यसरी बनाएको प्याड एकपटक प्रयोग गरिसकेपछि सफा गरेर पुनः प्रयोग गर्न मिल्ने खालको छ । ‘महिनावारी हुँदा हुने छुवाछूत र भेदभाव पनि महिला हिंसा हो है भनेर हामीले महिनावारी स्वच्छताका विषयमा सचेतना कार्यक्रम गर्न थाल्यौँ,’ सदस्य हमालले भनिन्, ‘महिनावारी हुँदा सबैसँग प्याड किन्ने क्षमता पनि हुँदैन त्यसैले फोहर कपडा राख्दै आएका थिए दिदी बहिनीहरूले ।

महिलाले महिनावारी हुँदा हुने रक्तश्रावलाई बाहिरी कपडामा लाग्न नदिन सुरक्षित र व्यवस्थित तरिकाले कस्तो प्याड प्रयोग गर्नु उपयुक्त होला भन्ने विषयमा छलफलपछि उनीहरूले पुनःप्रयोग गर्न मिल्ने कपडाको प्याड बनाउने योजना ल्याए ।’

प्रतिक्रिया