राष्ट्रिय क्रिकेट टोलीको घोषणा

काठमाडौं । स्कटल्याण्डमा आयोजना हुने विश्वकप लिग टू तथा सो प्रतियोगिताअघि क्यानडामा खेलिने एकदिवसीय खेलका लागि नेपाल क्रिकेट संघ (क्यान) ले आइतबार राष्ट्रिय टोलीको घोषणा गरेको छ । विश्वकप लिग टू प्रतियोगिता असार २९ गतेदेखि सुरु हुनेछ ।
त्यसअघि नेपाली टोलीले क्यानडामा त्यहाँको एक स्थानिय क्लबसँग अभ्यास खेल र क्यानडाको राष्ट्रिय टोलीसँग एकदिवसिय प्रतियोगिता खेल्ने कार्यक्रम रहेको छ । उक्त प्रतियोगिताका लागि क्यानले सन्दिप लामिछानेको कप्तानीमा १४ सदस्यीय टोलीको घोषणा गरेको हो ।

नेपाली टोलीको उपकप्तानमा रोहित पौडेल रहेका छन् । टोलीमा दुई जना नयाँ खेलाडीलाई समावेश गरिएको छ । टोलीका अन्य खेलाडी भने यसअघि अमेरिकामा खेलिएको शृंखलामा सहभागी खेलाडीहरु नै रहेका छन् ।

पवन सर्राफले राष्ट्रिय टोलीमा पुनरागमन गरेका छन् । यसैगरी वसिर अहमदले एकदिवसिय राष्ट्रिय टोलीमा पहिलो पटक अवसर पाएका छन् । सागर ढकाल र सुसन भारी भने यसपटक राष्ट्रिय टोलीमा परेका छैनन् ।

नेपाली टोलीमा कप्तान सन्दिप लामिछाने (कप्तान) र रोहित पौडेल (उपकप्तान), कुशल भुर्तेल, आरिफ शेख, देव खनाल, दिपेन्द्रसिंह ऐरी, आरिफ शेख, करण केसी, सोमपाल कामी, आदिल अन्सारी, वसिर अहमद, किशोर महतो, पवन सरार्फ र बिनोद भण्डारी रहेका छन् ।

नेपालले स्कटल्याण्डमा लिग टूअन्तर्गत घरेलु टोली र नामिबियासँग खेल्नेछ । त्यसअघि क्यानडामा मैत्रीपूर्ण म्याच खेल्नेछ । नेपाली टोलीको मुख्य प्रशिक्षकमा पुवुदु दासानायके रहेका छन् । लिग टू अंक तालिकामा नेपाल पाँचौं स्थानमा छ । नेपालले १६ खेलबाट १५ अंक जोडेको छ । नेपालले सात खेलमा जित, आठ खेलमा हार र एक खेलमा बराबरीको नतिजा निकालेको छ ।

तालिकामा ३६ खेल खेलेको ओमन ४४ अंकसहित पहिलो, २० खेल खेलेको स्कटल्याण्ड २८ अंकसहित दोस्रो, २२ खेल खेलेको संयुक्त अरब इमिरेट्स २६ अंकसहित तेस्रो, २४ खेल खेलेको अमेरिका २३ अंकसहित चौथो, १४ खेल खेलेको नामिबिया १४ अंकसहित छैटौं र २० खेल खेलेको पपुवा न्युगिनी दुई अंकसहित सातौं स्थानमा आसिन छन् ।

प्रतिक्रिया