सडक र पहिरो

मोहनप्रसाद सापकोटा

हामी जे जस्ता विकास गर्दछौँ, त्यसका लागि यहीँको माटो हातमा लिएर निधारमा दल्दै उच्च शिक्षा हासिल गरेका विज्ञहरू चाहिन्छन् । विश्वका कुनै पनि भूभागमा गरिएको अध्ययनले यहाँ काम गर्दैन । कृष्णभिर र मेलम्ची यसको उदाहरण हो । सिन्धुपाल्चोक र कालिगण्डकी क्षेत्रमा भइरहने विगतको प्रकोप यसको साक्षी हो । कान नसमाती कागका पछिपछि कुदेर प्रकृतिलाई आयस्रोतको माध्यम मात्र बनाउन थाल्यौँ भने विगतमा जेजसरी यहाँका समृद्ध सभ्यता लोप भए त्यसरी नै हाम्रो यो अत्याधुनिक सभ्यता पनि लोप हुनेछ ।

नेपालको पहाडी भेगमा सडक यातायातको सुरुआत राणाकालमा भएको हो । त्यसभन्दा अघिसम्म घोडेटो, गोरेटो, चक्रेटो (गाडा गुडाउने) बाटो आदि नै हाम्रा प्राथमिकतामा पर्ने गर्दथे । केही विदेशी इतिहासकारहरू ‘डोली आदिमा बोकाएर उपत्यका छिराइएका युरोपियनहरूको निमन्त्रणामा युरोप घुम्न पुगेका राणा खलकले आफ्नै उपभोगका लागि भनी केही गाडीहरू बोकाएर उपत्यका लेराए’ भन्दछन् । तर सत्यता यतिमै सीमित छैन । वास्तवमा उपत्यकामा बसेका युरोपियनलाई घुम्न र घुमाउन नै सर्वप्रथम गाडीहरू बोकिएर उपत्यका छिरेका हुन् । अर्थात् सडक यातायातको जग नै आमनेपाली नागरिकका लागि भनी बनेको वा बनाइएको थिएन ।

आफ्ना स्यानब्यानसहित बग्गी चढेर वा गाडी चढेर नगर घुम्न सजिलो होस् भन्ने हेतुले राणाहरूकै पालादेखि सडक फराकिला बनाउन सुरु भएका हुन् । ९० सालको भूकम्पपछि भत्किएका घरहरूलाई पछाडिपछाडि धकेली अहिलेको स्वरूपको न्युरोड बन्न पुग्यो । यसलाई जुद्ध सडक नाम दिइयो । कालान्तरमा सडकको विस्तार पञ्चायतकालमा तीव्रगतिले भयो, सडकको डोब खन्नलाई त्यसबेला अत्यधिक मात्रामा जनसहभागिता हुने गर्दथ्यो । त्यसबेला सडकको निश्चित खण्ड खन्न गाउँगाउँलाई जिम्मा लगाइने प्रचलन थियो । हरेक गाउँमा कटुवाल हुन्थे र ती बाटो खन्न जान उर्दी जारी गर्दथे । म आफैँ पनि सानो फुच्चे हुँदा यस्तो तरिकाको सडक खन्ने कार्यमा संलग्न भएको सम्झना छ । काठमाडौंमा रहेको टुँडिखेलको पश्चिमतिरको सडक पनि २० सालमा नेपाल भ्रमणमा आएकी बेलायती महारानीलाई घुमाउनका लागि भनेर नै फराकिलो बनाइएको थियो ।

समय क्रममा मानिसले सडक यातायातको महत्व बुझ्दै गए र देशभर अनेक सडकहरू बन्न थाले । जेजति सडकहरू बनाइए प्रायः ती सबै नदीको किनार किनार जाने गरी बनाइए । सबभन्दा पुरान हुन् वा भर्खरै बनाइएका, सबै यस्ता सडकलाई हरेक वर्ष पहिरोले दुःख दिइरहेको छ । सडकको जन्म भएदेखि नै यस्ता समस्या हामीले भोग्दै आइरहेका छौँ । सडक यातायातमार्फत राजधानी छिर्ने नेपालीका लागि बर्सिनै पहिरो जाने ‘कृष्णभिर’ नौलो नाम रहेन । कैयौँ घण्टादेखि कैयौँ दिनसम्म यहाँ जाने पहिरोका कारण यात्रुहरू दश गुना महँगो सामान किनेर भोक मेट्न बाध्य भए । कतिपय त्यहाँदेखि हिँडेर उपत्यका छिर्न बाध्य बनाइए । अन्यत्र खनिएका सडक पनि निर्धक्क र निर्वाधरूपमा ढुक्क भएर प्रयोग भएका दृष्टान्त आजका मितिसम्म सुन्न र देख्न पाइएको छैन । दुर्घटनाको पाटो बेग्लै छ । त्यो विषयलाई यो आलेखमा समेट्न चाहिन ।

पहिले पहिले सडक बन्न लाग्दा हाम्रो रोजीरोटी जान लाग्यो भनेर भरियाहरूले विरोध गर्दथे । सडकले नछुने खालका परम्परागत बजार र गाउँबाट सामूहिक विरोध हुन्थ्यो । अहिले प्रत्यक्ष वा अप्रत्यक्ष तरिकाले जग्गा दलालहरूबाट विरोध हुन्छ । हाम्रो जस्तो गरिब देशमा सडक यातायातबाट भइरहेको क्षति हेर्दा कतै नेपालका लागि सडक यातायात अभिशाप त होइन जस्तो लाग्न थालेको छ । तर पुनः गोरेटोतिरै हामी फर्कनु पर्दछ भन्ने मेरो अभिप्रायः होइन । प्राविधिक वा विशेषज्ञ नभए पनि एक नागरिकका हैसियतले सडकमा जाने पहिरोका केही कारणहरू यहाँहरूसमक्ष राख्न अनुमति चाहन्छु ।

नेपालको भूबनोट विश्वका कुनै पनि देशसँग मिल्दैन । छोटो दुरीमा विश्वको सबभन्दा अग्लो सगरमाथा र एसियाकै होचो भूभाग कचनाकलन नेपालमा छ । कालीगण्डकी जस्ता गहिरा गल्छी छन् । माला उनिए जसरी उनिएका पर्वत शृंखला छन् । अनि ती पर्वतका पाउ धुँदै बगिरहेका हजारौँ खोला, नाला छन् । लुकेर बगिरहेको नदीमाथि पोखराजस्ता उपत्यका बनेका छन् । हरेक सय सय वर्षको अन्तरालमा ठूलठूला र हरेक दिनजस्तो ससाना भूकम्प जान्छन् ।

यही विशिष्ट शैलीको भूवनोटले गर्दा वल्लो छेउको घरबाट छिरेको बिरालो पल्लो छेउको घरबाट निस्कन एक महिना लाग्दथ्यो भनिएको जुम्लाको खस साम्राज्यकालीन सहरको जगसमेत अहिले पाइन्न । उपत्यकाका कैलाशकूट भवन, मानगृह, शंखमूलदेखि बूढानीलकण्ठसम्म अति व्यवस्थित तरिकाले बसाइएको सहर आदिको कुनै अस्तित्वसमेत हामीसँग छैन । यति मात्र होइन पूर्व मेचिदेखि पश्चिम महाकालीसम्म र उत्तर मुस्ताङदेखि दक्षिण मिथिलानगरीसम्मका प्राचीन समृद्ध सहरका भग्नावशेषसम्म हामीसँग छैन । समृद्ध थिए भनेर धेरथोर पढ्न मात्र पाउँदछौँ ।

एउटा प्राचीनवस्ती समृद्धिको शिखरमा पुग्दथ्यो र विविध कारणले केही समयपछि तहसनहस हुँदै जान्थ्यो । अर्को भूगोलबाट आएर पुनः वस्ति बसाल्दथे र आआफ्नै पाराले त्यो स्थानको नाम राख्दै जान्थे । यसैले पुराण आदिमा लेखिएका यस क्षेत्रका स्थान पहिचान गर्न कठिन भएको छ । यसो भनिरहँदा पनि अति समृद्ध र शक्तिशाली सहर बन्ने र नासिने क्रम पौराणिक कालमा पनि चल्दथ्यो । जालन्धर, महेन्द्रदमन आदिका कथा प्रसंगले यसको पुष्टि गर्दछन् । प्राचीन र मानव सृष्टिको सुरुआती थलो भएर पनि हिमालको उत्तर त्रिविष्टप (स्वर्ग) अर्थात् तिब्बत र दक्षिण अर्थात् आर्यावर्ततिर प्राचीन समृद्धिको प्रमाण नभेटिनुको प्रमुख कारण यहाँको भूबनोटले समयसमयमा गर्ने महाप्रलय नै हो, अरू होइन । जतिजति दक्षिणातिर सर्दै गयो त्यतित्यति प्राचीन सभ्यताका प्रमाण बढी भेटनुको कारण पनि यही भौगोलिक उथलपुथल नै हो ।

हजारौँ वर्ष वा लाखौँ वर्षको नियमित प्रक्रियाले माटो, ढुंगा, वन, जंगल आदिको सामूहिक अस्तित्व बन्ने र नासिने सिलसिला चलेको हुन्छ । यो संरचनालाई प्रकृति आपैmँले प्राकृतिक तरिकाले र मानवमार्फत कृत्रिम तरिकाले बिथोल्ने काम गर्दछ । यहाँका नदीका धार अति नै तेजिला छन् त्यसैले त नेपाललाई विश्वको दोस्रो ठूलो जलविद्युत् निकाल्न सकिने देश भन्ने गरिन्छ । नदीका तेजिला धारले दायाँबायाँका हरेक पर्वतलाई निरन्तर ससाना भूकम्पले हल्लाए जसरी हल्लाइरहेको हुन्छ । यो हल्लाइले गर्दा नदी दायाँबायाँका पहाडमा अन्यत्रभन्दा बढी पहिरो जाने गर्दछ ।

नदीको धारको असरलाई वा ससाना भूकम्पको नियमित असरलाई माटो, ढुंगा र रुखविरुवा मिलेर सामूहिकरूपमा प्रतिकार गरिरहेका हुन्छन् । एउटा विशाल पत्थर बाहिर रहेको संरचनामा भूकम्पको असर कम पर्दछ । पनौति सहरका विषयमा सुन्नुभएकै होला । आजकल घरको जग पनि यही सिद्धान्तअनुसार बनाउन थालिएको छ । जब पत्थरको संरचना चकनाचूर हुन्छ तब माटो र रुखविरुवाको पत्थरसँगको सम्बन्ध कमजोर हुन पुग्दछ । प्राकृतिक रूपमा गइरहेका भूकम्पले अथवा मानवले गर्ने कृत्रिम भूकम्पले पर्वतको जग अर्थात् पत्थरिलो संरचनालाई हल्लाउने गर्दछ । यसैले बेलाबेलामा डाँडै समेत बग्ने गरी पहिरो जाने गर्दछ ।

यसरी प्राकृतिक र कृत्रिम रूपले असर गरिरहेको पर्वतको भित्री जगलाई त्यहाँ खनिएका बाटोमा गुड्ने ठूलठूला गाडीका कारण निस्कने भूकम्पले झन कमजोर बनाइदिन्छ । राजमार्गमा कान जमिनमा टाँसेर सुन्नुहोस् । एउटा सवारी साधन गुड्दा जमिन कसरी थर्कन्छ भन्ने कुरा अनि थाहा पाउनुहुन्छ । यसरी नदीको धार, नियमित गइरहने ससाना भूकम्प, बेलाबेलामा जाने ठूला भूकम्प, सडक सुरुङ आदि बनाउँदा जाने कृत्रिम भूकम्प र बनाइएका सडकको प्रयोग हुँदा सवारी साधनमार्फत जाने भूकम्पले गर्दा नदी दायाँबायाँका पर्वत बाहिर जस्तोसुकै बलियो देखिए पनि हरदम पहिरोको जोखिममा हुने गर्दछन् ।

अन्तमा हामी जे जस्ता विकास गर्दछौँ, त्यसका लागि यहीँको माटो हातमा लिएर निधारमा दल्दै उच्च शिक्षा हासिल गरेका विज्ञहरू चाहिन्छन् । विश्वका कुनै पनि भूभागमा गरिएको अध्ययनले यहाँ काम गर्दैन । कृष्णभिर र मेलम्ची यसको उदाहरण हो । सिन्धुपाल्चोक र कालिगण्डकी क्षेत्रमा भइरहने विगतको प्रकोप यसको साक्षी हो । कान नसमाती कागका पछिपछि कुदेर प्रकृतिलाई आयश्रोतको माध्यम मात्र बनाउन थाल्यौँ भने विगतमा जेजसरी यहाँका समृद्ध सभ्यता लोप भए त्यसरी नै हाम्रो यो अत्याधुनिक सभ्यता पनि लोप हुनेछ ।

विकास मरुभूमीकरणतिर उन्मुख हुन हुँदैन । मरुभूमि भएपछिको पीडा खाडी क्षेत्रमा गएर काम गर्नेले बढी देखेका छन् । कसरी ती अथक प्रयास गरेर रुखविरुवा रोपिरहेका छन् भनी जान्न सामाजिक सञ्जालमा राखिएका भिडियोहरू हेर्नुहोस् । नहुनेलाई एउटा रुख हुर्कंदा असीम सुख हुन्छ हुनेलाई नासेर सक्नुपरेको छ । मरुभूमी भएपछि एक मुठी मलिलो माटो पाउन पनि कठिन हुन्छ । हामी आफूसँगै भएको मलिलो माटो के गरी हुन्छ नाश गर्नतिर उन्मुख छौँ । कुनै पनि विकसित देशमा विकासका नाममा जंगल सक्ने बानी छैन । ती अरूलाई मास्न लगाउँदछन् र आफ्नो जोगाउँदछन् । उत्तरमा मुस्ताङबाट र पश्चिम तराईबाट नेपालमा पनि मरुभूमिकरण सुरु भएको छ । हामी यसलाई गम्भीर रूपमा लिइरहेका छैनौँ । हामी यसलाई रोक्नतिर नलागी तमासा देखाउनतिर लागिरहेका छौँ । यस्तो नहोस्, तर कथंकदाचित भोलिका दिन तेसो विश्वयुद्ध सुरु भए हामीसँग पछुताएर रुनुबाहेक अरू कुनै विकल्प बाँकी हुने छैन ।

प्रतिक्रिया