राजनीतिलाई शास्त्रीय भाँडोमा घोल्दा

मोहनप्रसाद सापकोटा

व्यवस्था बदलिए तर नेता बदलिएनन् । नेता बदलिएनन् किन कि मतादाताको मन बदलिएन । राणाशासन ठीक छैन भन्नेहरू, पञ्चायत ठीक छैन, राजतन्त्र ठीक छैन आदि भन्दै राजनीति गर्नेहरू अहिले पनि आफूभन्दाबाहेक अर्को ठीक छैन भनेर नै राजनीति गरिरहेका छन् र हामी तिनैलाई नेता मानिरहेका छौँ । आफूमा कुनै उल्लेखनीय गुण भएर होइन कि अर्कोमा बैगुन भएर नै यी शासन गर्न सक्षम भइरहेका छन् । अपवादमा बाहेक निश्चित उमेर पुगेपछि राजतन्त्रमै पनि छोरोलाई राज्यभार सुम्पिएर राजाहरू वनतिर लाग्दथे । तर, अहिले बच्चादेखिको र्याले घाँटीमा झुण्ड्याएका र नक्कली दाँत फुकालेर माझ्न पल्केका व्यक्तिहरू नै आदर्श नेता बनिरहेका छन् । एकपछि अर्को गर्दै व्यवस्थाका विकल्प रोज्दै गयौँ तर नेताको विकल्प रोज्ने बुद्धि जनतामा आएन । यसै भएर अहिले पनि देशमा जहानियाँ राणाशासन नै चलिरहेको छ तर नाम भने बदलिएको छ । गर्भे जर्नेल हुने परिपाटी अहिले पनि यथावत नै देखिन्छ ।

शास्त्र भन्दछ, ‘जवानी, जीवन, मन, छाया, धन र स्वामित्व : यी ६ कुरा चञ्चल हुन्छन् स्थिर बनाउन नखोज्नू समयको बर्बादी मात्र हुन्छ ।’ यी हरेक कुरालाई हामीले स्थिर बनाउन खोज्यौँ त्यसैले नेताका विकल्पहरूको उत्पादन नै हुन सकिरहेको छैन । कुनै बेला साँढे, कुकुर आदिलाई दल वा नेता विशेष बनाएर मानिसको सोचलाई बदल्न खोजिन्थ्यो अहिले त बहुला कुकुर नै भए पनि दलले टिकट दिएपछि विरोध गर्न नसक्ने खालका जनता बनाइए । कमसेकम पञ्चायतकालमा पद्धतिको विरोध गर्न अरू केही उपाय नलागे नानीमैयाहरूलाई जिताएर पठाइन्थ्यो अब त त्यति बुद्धि पनि हामीसँग रहेन ।

मानिसलाई गंगामा गएर नुहाएपछि पाप पखालिन्छ भनियो । त्यसमै विश्वास गर्नेहरू पाप गर्दै गंगामा जाँदै चोपलिएर पाप पखाल्दै आउने र पुनः पाप गरिरहने आदत नै बस्न पुग्यो । यसरी मानिसहरू परोक्षरूपमा गंगाको महिमालाई पाप घटाउनतिर नभई बढाउनतिर केन्द्रित हुन पुगे । पापीको पाप पखाल्नकै लागि भनेर गंगा बलजफ्ती लेराइएकी थिइन् । त्यसैले उद्देश्य नै असफल भयो पनि कसरी भनौँ ? राजनीतिक गंगा पनि त्यस्तै हुन पुगेको छ । स्वेच्छाले वा बाध्यताले पापीहरूको पाप पखाल्दा पदाल्दा ऊ आफैँ प्रदूषित हुन पुगेको छ । पापीहरूलाई पाप पखाल्नु छ त्यसैले प्रदूषित राजनीतिक गंगाको पनि गुणगान गाइरहन्छन् । गलतले गलतलाई सही देख्दछ त्यसैले ऊ अन्धभक्त हुने गर्दछ, भजन वा भाट शैलीको निरन्तरताको कारण सायद यही हुनुपर्दछ ।

हरेक स्वतन्त्रताको मेरुदण्ड राजनीतिक स्वतन्त्रता हो । हामी भने राजनीतिक दास हुनुमै गर्व गर्दछौँ । राजनीति अब त व्यवसाय बनेको छ । लगानी गर्ने र नाफा कमाउने कुरा प्रमुख भएका छन् र अन्य सबै कुरा हात्तीका देखाउने दाँतजस्ता मात्र भएका छन् । मै हुँ भन्ने सबै खालको राजनीति अब वैशाखी नटेकी पाइलो सार्न पनि नसक्ने गरी कुँजो भएको छ, कुँजो बनाइएको छ । धर्म, संस्कृति, प्राकृतिक सम्पदा आदि बेच्न नहुने कुरा बेचिएका छन् र विदेशीले दिएको त्यसको मुखुण्डो लगाएर अस्तित्व जोगाउने काम भइरहेछ । मुखुण्डो फुकालौँ जनताले लात हान्छन् मुखुण्डो नफुकालौँ विदेशीले लात हान्छ । यही दुई डुंगामा दुई पाइला राखेर नदी तर्ने काम गर्दै छ नेपालको पूरै राजनीति । हामी यिनैलाई अभूतपूर्व क्षमताका माझी मानी यिनका मुख वरिपरिको ¥याल पुछिदिन र यिनको लाज छोप्ने गरी लगाँैटी लगाइदिनमै जिन्दगी बिताइरहेछौँ । हाम्रो परिवेश राजनीतिक तस्करबाट यसरी भ्रमित बनाइएको छ कि यी नहुँदा हामी बाँच्न पनि सक्दैनाँै । त्यसैले बाहिरी विकल्पका बारेमा त कुरै छाडौँ दलभित्रको आन्तरिक विकल्पका बारेमा पनि दास र तस्कर मनोवृत्ति नराम्रोसँग गाँजिएको छ ।

जसरी करोडौं लगानी गरेर पढ्ने व्यक्तिले देश र जनताका लागि सोच्न सक्दैन त्यसरी नै टीके, चन्दा दिएर टिकट लिने तथा दबाबमा टिकट लिने नेताले देश र जनताका लागि सोच्न सक्दैन । टिकट लिन करोड र चुनाव जित्न करोड खर्च पर्ने अवस्था बनाइयो । अनि त्यसले कहिले लगानी उठाउला ? कहिले अर्को चुनावलाई पुग्ने खर्च चुस्ला ? र कहिले देश र जनताका लागि केही गर्ला ?

यस्तो हुन्छ भन्ने ठानेको भए म कदापि परिवर्तनको चाहना गर्ने थिइनँ । तपाइँ त अर्कै तरिकाले सोच्ने वर्गभित्र पर्नुहुन्छ होला, होइन त ?


मानिसलाई गंगामा गएर नुहाएपछि पाप पखालिन्छ भनियो । त्यसमै विश्वास गर्नेहरू पाप गर्दै गंगामा जाँदै चोपलिएर पाप पखाल्दै आउने र पुनः पाप गरिरहने आदत नै बस्न पुग्यो । यसरी मानिसहरू परोक्षरूपमा गंगाको महिमालाई पाप घटाउनतिर नभई बढाउनतिर केन्द्रित हुन पुगे । पापीको पाप पखाल्नकै लागि भनेर गंगा बलजफ्ती लेराइएकी थिइन् । त्यसैले उद्देश्य नै असफल भयो पनि कसरी भनौँ ?

राजनीतिक गंगा पनि त्यस्तै हुन पुगेको छ । स्वेच्छाले वा बाध्यताले पापीहरूको पाप पखाल्दा पदाल्दा ऊ आफैँ प्रदूषित हुन पुगेको छ । ‘राम तेरी गंगा मैली हो गई पापियोँकी पाप धोते धोते ।’ पापीहरूलाई पाप पखाल्नु छ त्यसैले प्रदूषित राजनीतिक गंगाको पनि गुणगान गाइरहन्छन् । गलतले गलतलाई सही देख्दछ त्यसैले ऊ अन्धभक्त हुने गर्दछ, भजन वा भाट शैलीको निरन्तरताको कारण सायद यही हुनुपर्दछ ।

गंगालाई स्वच्छ बनाउनुभन्दा पनि पापी बढाएर त्यो गंगामा चोपलिने संख्या बढाउन पाए बढी नाफा हुने संस्कृतिको विकास भयो । कता जाउँ र नुहाई शुद्ध होउँ, मनैदेखि ताजगी महसुस गर्नेगरी नुहाउन देशभरीका सबै राजनीतिक नदीनाला प्रदूषित भइसकेका छन् । जताजाउ त्यता पाप पखाल्नका लागि कुम्भ भेला लागेको छ । हरेक तीर्थमा देखाउने दाँतलाई ‘सेवा’ र चपाउने दाँतलाई ‘पेसा’ भन्न थालिएको छ ।

यो चुनावको राजनीतिक कुम्भमेलामा एउटै व्यक्तिले दिनको दशपटक भेट्दा दशैपटक ढोग्छ । मजा लाग्दछ । अब कति नै दिन बाँकी छ र कुम्भ मेला सकिनलाई वा नमस्ते खानलाई ? जे होस् गजबको बस्यो परम्परा, सदियौँदेखिको राजनीतिक दासता जदौ लिन र दिनमै व्यस्त छ । भित्री नियतलाई दबाउँदै, कुण्ठा र तूषलाई चपाउँदै ऊ एकाबिहानै, भात खाँदाखाँदै, दिउँस, साँझ जतिखेर पनि टुप्लुक्क आइपुग्दछ र ङिच्च दाँत देखाउँदै भन्दछ ‘हजुर नमस्कार, उठेको छु मलाई नलडाउनु होस् है ।’ व्यक्ति त कोही उठ्लान् अनि कोही लड्लान् केही फरक पर्दैन तर राजनीतिक नदी जेजसरी कहालीलाग्दो तरिकाले प्रदूषित हुँदै गइरहेको छ, त्यसले कालान्तरमा शुद्ध हुन खोज्नेले समुद्रतिर जानुपर्ने अवस्था आउनेछ । १० पानाको मेनु हेरी टोपलो अर्डर दिने बेलामा मुखबाट मःमः र चाउमिनभन्दा बाहेक अरू कुराको नामै आउँदैन । जिभ्रो पनि दास भइसकेछ ।

देशको स्थानीय निर्वाचनको नतिजा पनि आइसकेको छ । नतिजा मध्येको नतिजा भने धरानको रहेको छ । किनकी सबैको ध्यान खिच्न धरान सफल भएको छ । जित्न र जिताउनका लागि धरानका जनताले अपनाएको शैली विशेष प्रशंसनीय छ । गलत र निकृष्ट छनोट विधिमार्फत छानी मतदातालाई जबरजस्ती कोच्याइएका राजनीतिक उम्मेरवारहरूबाट वाक्क र दिक्क भएका सचेत नागरिकले बल्ल विवेक प्रयोग गर्न थालेका छन् । म धरानका जनतालाई हृदयदेखि नै नमन गर्न चाहन्छु । विवेक उत्ताउलो भएर प्रकट गरिने विषय होइन । बेला आउँदा प्रयोग गर्ने विषय हो । धरानका जनताले विवेक प्रयोग गर्न देशभरका जनतालाई सिकाए । यसैगरी हामी सबै नागरिक भेडो बन्नबाट बेलैदेखि जोगिएको भए देश यो स्थितिमा नै हुँदैनथ्यो । राजनीति तस्करहरूको अखाडा हुँदैनथ्यो ।

राजनेताहरू जन्मिसकेका हुन्थे । अन्यत्रका जनतामा यस्तो भित्री ऊर्जा जाग्छ वा जाग्दैन भन्न सक्दिनँ तर धरानका जनतालाई पहिलो समाजवादी नेता जन्माएकोमा बधाई दिन चाहन्छु । धरानलाई आफूले जन्माएका नेतालाई बाछिटाबाट जोगाउँदै उनीजस्तै अरू नेता उत्पादन गरेर देशभर आपूर्ति गर्न सकोस् भनी शुभकामना दिन चाहन्छु । यस्ता नेता जन्मिने अवसर दिइएको भए दलप्रति घृणा नै पैदा हुँदैनथ्यो ।

अब…. । अब नेताका वा नेता हुन खोज्नेका निधारमा के छाप लागेको छ त्यो नहेरी विना कुनै तडकभडक शान्त बसेर उसको नियत चिन्न र केलाएर मतदान गर्न सम्पूर्ण नेपालीले सिक्नेछन् भन्ने आश पलाएको छ । सम्पूर्ण धरानवासीप्रति आभार व्यक्त गर्दै बधाइ तथा शुभकामना दिन चाहन्छु । नेता बन्न देशीविदेशी इन्जेक्सन चाहिँदैन । कसैलाई मारेर योग्य हुनु पर्दैन । करोडौँ चन्दा दिन र लाखौँ खर्च गर्न पनि पर्दैन । जनतालाई चन्द्रमा टिपी लेराएर दिन्छु भनी आश्वासन दिन पनि पर्दैन । मतदानका प्रक्रिया र नियत शुद्ध भए मात्र प्रजातन्त्र बलियो हुन्छ, नत्र हुँदैन । त्यसैले प्रजातन्त्र, समाजवाद वा साम्यवादको परिभाषा धरान गएर सिक्नुपर्ने देखिन्छ ।

विकासको नाममा राजनीति

देशका कुनै पनि ठूला विकासका आयोजना सञ्चालन हुँदा अन्धो भएर समर्थन वा विरोध गर्नु हुँदैन । म कुनै योजनाकार, नीतिविज्ञ र अर्थविद् होइन । तर देशको केन्द्रीय बैंकमा बसेर लामो समय काम गरेको अनुभव छ । वैदेशिक लगानीसँग मिसिएर कस्ता खालका दबाब आउँदछन् र योजना पछाडिको नियत कति सफा हुन्छ भन्ने बारेमा मेरा आफ्नै किसिमका अनुभव छन् । मेलम्ची आयोजना सुरु गर्नुपूर्व मेलम्चीदेखि काठमाडौंको सुन्दरीजलसम्मको भूगोलको अवस्थाका बारेमा अनुसन्धान गरी दिइएको प्रतिवेदन जेजति सार्वजनिक गरिएको थियो त्यो सरसर्ती हेरेपछि मैले समाजिक सञ्जालमा यस योजनालाई लिएर (उपत्यकावासीले त के गर्लान् कुन्नी, तर आयोजनामा संलग्न हुने जतिले भने पानीमै सुत्न, पानीमै खान र पानीमै जहाज चलाउन पाउनेछन्, पानी कहाँको हुन्छ, त्यो बेग्लै कुरा हो’ भनी स्टाटस लेखेको थिएँ ।

बहाना बनाएर रबर जसरी तन्किन अभ्यस्त यहाँका अरू योजनाहरू जस्तै मेलम्ची खानेपानी योजना पनि तन्कियो । रबर छिन्ने स्थितिमा पुगेपछि हतारमा उद्घाटन गरियो । त्यतिखेर पनि मैले बोकाको बलि दिएको समाचारप्रति व्यंग गर्दै स्टाटस लेखेँ ‘बलि बोकाको पो दिएछन् !’ यो मेरो त्यहाँ भइरहेको अनियमितता प्रतिको आक्रोश थियो । यसबीचमा यो आयोजनाका बारेमा क के भयो ? कसले के के भने ? आदि कुरा मेरो अभिलेखमा सुरक्षित भए पनि राख्न चाहन्न ।

अब अहिले मेलम्चीको विकल्प खोज्न थालिएको छ । तीन महिनाभन्दा बढी पानी लेराउन नसकिने, बर्खाले दुःख दिने आदि तर्क सुन्न थालिएको छ । अर्बौं स्वाहा बनाएपछि यस्ता तर्कहरू आउन थालेका छन् । अब तपाईं नै भन्नुहोस् बलि बोकाकै ठीक रहेछ त । नेपालको भूवनोट कति संवेदशील छ भन्ने कुरा ७२ सालको भूकम्पछि गरिएका विभिन्न अनुसन्धान प्रतिवेदनबाट थाहा हुन्छ । यहाँ अन्धाधुन्ध विदेशीको नक्कल गरेर सञ्चालन गरिने कुनै पनि विकासका आयोजना प्रयोगका दृष्टिकोणले सही भए पनि दिगो विकासका लागि काम लाग्दैनन् । जति ठूलो आयोजना त्यति धेरै कमिसन । चाँडो बन्नुमा भन्दा ढिला बन्नुमा फाइदा । चल्नुभन्दा बिग्रनुमा फाइदा ।

हामीहरूको सोच कसरी राजनीतिक तस्करतन्त्रको जालोमा फसिरहेछ भन्ने कुरा म मेरै वडाको एक प्रसंगबाट प्रष्ट पार्न चाहन्छु । मेरो वडा गोकर्णेश्वर–७ हो । यहाँ गोकर्ण जंगलको दक्षिणी मूलढोका नजिकबाट एउटा खहरे बग्दछ । लोभले खहरेलाई खायो । दुवै किनारबाट पेल्दै पेल्दै खहरेलाई कुलो जस्तो बनाइयो । यतिले पुगेन स्वार्थहरू थपिए र खहरेमाथि अनि तल पिँधमा पनि ठाउँठाउँमा ढलान गरियो । पुल हो कि बाँध हो के हो थाहा नपाउने गरी स्वार्थी जमात मिलेर एउटा संरचना बनाए ।

१०÷१५ घरको स्वार्थका कारण ५०÷६० घरका हामी बासिन्दा बर्सेनि डुबानमा परेर लाखौँ नोक्सान सहन बाध्य बनाइयौँ । खहरे माथि र तल ढलान गर्न अनि बाँध बनाए जसरी पानीको प्रवाह छेकिने गरी पुलेसो बनाउन कुन कानुनले कसलाई अधिकार दिन्छ त्यो बनाउने र बनाउन लगाउनेहरूलाई थाहा होला । सहरी विकास आयोजना, वाग्मती संरक्षण आयोजना आदिको आँखा के कारणले यस्ता कुरा नदेख्ने बनाइए त्यो पनि तिनै जानुन् । यथार्थता यही हो र वर्षा लागेपछि हामी निरापराध जनता अपराधीबाट गरिएको कामबाट सन्त्रस्त हुन बाध्य छौँ ।

भर्खर चुनाव सकियो । यो समस्याका लागि एउटा गजबको योजना सुनियो । दक्षिणढोकाको पानीमाथि गोकर्णसम्म खुल्ला नहर बनाएर लगी मिसाउने । छँदाछँदैको खहरे मिचेर खाइएको छ । कानुनतः बनाउन नमिल्ने संरचना बनाइएका छन् । त्यससर्फ राज्यलाई मतलब छैन तर मिनी मेलम्चीको सोच भने कति चाँडो आउँदछ आउँदछ । यस्तै खुराफाती सोच सर्वत्र हुन्छन् । देख्दा विकासजस्ता तर राज्यलाई चुस्ने क्षेत्र अनेक थरी निकालिन्छन् । कतै तपाईंकातिर पनि यस्तै योजना सुरु हुन आँटेका त छैनन् ? भए बधाई छ । तपाईंलाई पनि राजनीति गर्ने मन भए अहिले सुरु भइरहेको वा हुन आँटेको योजनाको विकल्पतिर ध्यान गई हालोस् । राज्यको पैसा भनेको पनि मेरै पैसा हो भन्ने सोच नपलाउने जनता भएसम्म तस्करहरूले विभिन्न माध्यमबाट जनतालाई यसरी नै भुटिरहने छन्, भुटि रहनेछन् ।

गल्ती र शास्त्र अनि नेपाली भाडाको राजनीति

मानव भएर गल्ती नगर्ने व्यक्ति शायद नै कोही होला । जानेर वा नजानेर गल्ती त हुन्छन् नै । देवताले त गल्ती गरेका यथेष्ट प्रसंग पाइन्छन् भने जाबो मानिसको के कुरा गर्नु ? तर फरक छ । देवताले गरेका गल्तीमा आफूले त्यसको दुःखदायी नतिजा भोगेर पनि धेरैको कल्याण गरिरहेका हुन्छन् । तर, मानवले गर्ने गल्तीमा अपवादमा बाहेक यस्तो देखिन्न, क्षणिक वा सीमित स्वार्थ पूर्ति गर्न नै ऊ गल्ती गर्ने गर्दछ । अहल्यालाई इन्द्रले मुनिको भेषमा गमन गर्नुका पछाडिको कारण अर्कै भेटिन्छ । ‘बदमास इन्द्र’ भन्न धेरै सजिलो छ । अहिल्याले त्यसभन्दा पूर्व नै पति नुहाउन गएका बेलामा आफ्नो कुटीमा पानी माग्न आएका एक जना पुरुषसँग सहवास गर्न चाहिन् । जबर्जस्ती उसलाई गएर म्वाइ खाँदा पनि उनले मानेनन् । नमानेपछि श्राप दिइन् । तिनले पनि श्राप दिए । त्यही श्रापको परिणाम थियो अहल्या र इन्द्रको समागम र पत्थर भएर बस्नुपर्ने कारण ।

त्रेतायुग ताका रामचन्द्र, सीता र लक्ष्मण वनवासमा रहेका बेलामा वनमा दुःख पाउँदै घुमिरहेका थिए । त्यो देखेर कैलाशमा शिवलाई पार्वतीले खै गरिन् । ‘साक्षात् भगवान् भएर पनि यस्तो दुःख खपेर भौँतारिँदै हिँड्छन् त ?’ भनेर तर्क गर्न थालिन् । ए बूढी ती साक्षात् नारायण नै हुन् भनेर शिवले बुताले भ्याएसम्म सम्झाए । तर भित्र शंका पसेपछि उनको पो के लाग्दथ्यो र ? पार्वती सीताको रूप लिएर राम भएका ठाउँमा पुगिन् लज्जित भएर फर्कनु परो । यो कुरा सबै कुरा आँखा चिम्लेपछि थाहा पाउन सक्ने शिवसँग लुकाइन्, फलस्वरूप देवाधिदेवको दाम्पत्य जीवनमा धेरैपटक धेरै थरी विवाद आइरहे । यहाँसम्मकी ‘मलाई मन नपरेर …सीता बनेकी थियौ, अहिले धाक लगाउँदछ्यौ’ सम्मका कुरा शिवले पार्वतीसँग बेलाबेलामा गरेका प्रसंगसमेत पाइन्छन् । देवताहरू नाटक मञ्चन गर्दछन् र त्यो नाटकमार्फत लोकलाई शिक्षा दिइरहेका हुन्छन् । शिक्षा कसले कस्तो पाउँदछ, त्यो व्यक्तिको सोचमा भर पर्दछ । कसैले श्रीकृष्णलाई फुँडो भन्दछन् त कसैले महान् समाज सुधारक ।

गल्ती हुन्छन्, गरिन्छन् । गल्ती गर्नेले त्यसलाई आफैँ भन्दछ भने त्यसलाई सामान्य कुरा मानिने गर्दछ अर्थात् गरिएको गल्ती गर्नेबाट भनिएपछि पछुताएको मानी क्षमा गरिन्छ । पछुताएपछि उसले त्यो वा त्यस्तो गल्ती भविष्यमा गर्दैन भनी विश्वास गरिन्छ । तर, जब त्यो गल्ती अरूका मुखबाट सुनिन्छ तब त्यो अक्षम्य र कठोर दण्डनीय हुन पुग्दछ । नेपालका सबै खालको राजनीतिले गल्ती गर्दै आइरहेको छ । तर ऊ यसलाई स्वीकार्न चाहँदैन । कुतर्क दिएर जे गरेँ ठिक गरेँ मात्र भन्दछ । धेरै दबाब परे ‘मैले गल्ती गरेको जस्तो लागे, मैले क्षमा मागेँ भन्ठान्नू’ पो भन्दछ । यही भएर म त भन्दछु यस्तो बूढो गधे राजनीतिबाट देश उँभो लाग्दैन । बहरहरू दाइन तयार हुनुपर्दछ । तर मेरो यो स्खलित राजनीति बहरलाई समेत गधा बनाउनमै तल्लिन हुने गर्दछ । नयाँ जोश र सोच भएका नेतालाई बहरजस्तो देखेर राम्रैरी जोत्ला नि त भन्ने आशमा जिताएर पठायो तर उ केही वर्षमै गधा बन्ने गर्दछ । मान्छे मार्दा त गल्ती भयो भन्दैनन् भने अरू कुरामा यी पछुताउँदछन् र सुध्रिन्छन् भनी सोच्नु नै मूर्ख हुनु हो ।

प्रतिक्रिया