विकास, पर्यावरण र निजगढ विमानस्थल

मोहनप्रसाद सापकोटा

अहिले निजगढ विमानस्थल बन्न अवरोध हुँदा एकपटक अरुण तेस्रो आयोजनालाई सम्झन अनुरोध गर्दछु । अहिले आयोजना विशेषलाई समर्थन गर्नेहरूले त्यसबेला दाता संस्थालाई पत्र नै लेखेर सहयोग नगर्नु भनेका होइनन् र ? यिनले भू–उपग्रहबाट बिजुली निकालेर बेचिनेछ भनेका आयोजना गएर महाकालीमा एकपटक हेर्नुहोस् । हरेक देशभक्त नागरिकका आँखाबाट आँशु आउँदछ । विकास आयोजना बन्दा त्यसको प्रयोजन र निर्विवाद प्रयोगको सुनिश्चितता पहिलो प्राथमिकतामा पर्नुपर्दछ । त्यसपछि टिकाउपन, सुरक्षा आदि कुरालाई प्राथमिकतामा राखिनुपर्दछ ।

चलचित्रहरूका खलनायकहरू आफ्ना कुत्सित नियत सफल बनाउन सतही लाभका कुरा गरेर धेरै नै प्रसिद्धि कमाउँदछन् । तिनकै नियतलाई सहयोग गर्ने किसिमले प्राविधिक प्रतिवेदन तयार हुन्छ । लामो समयपछि अन्तमा जब त्यो आयोजना कार्यान्वयन हुन थाल्दछ तब मात्र कुटिल नियतका बारेमा थाहा पाइन्छ । तर, त्यसबेला थाहा पाएर पनि केही गर्न सक्ने अवस्था हुँदैन । कोसी बाँध, गण्डक बाँध, शारदा बाँध आदि मात्र होइन मध्य पहाडी भेगका तराईसँग जोडिने प्रमुख राजमार्गहरू पनि नेपाललाई घाटा हुने किसिमले नै बनाइएका छन् । जति घुमाउरा र लामा बाटा बनायो त्यति धेरै विदेशी सामानको खपत बढ्दछ । स्थानीय बस्तीलाई मात्र मध्य नजर गरेर छोटो सोचले बन्ने आयोजनाहरू राष्ट्रिय आयोजना हुन सक्दैनन् । काठमाडौंलाई जोड्ने घुमाउरा सडक जसले जहिले जति लगानी गरेर बनाइदिए, त्यति खर्चले त्यहीबेला बन्दथ्यो । सोच नभएको पनि होइन, कान्ति राजपथले देखाउँदछ । तैपनि बनेन बनाइएन, बन्न दिइएन ।

हामी दुई विशाल देशको च्यापोमा छौँ । हाम्रो मानसिकता पराधीन छ । हामीसँग कसैले केही दिए प्रशंसा गर्ने र नदिए सराप्ने आदत छ । दिँदा वा नदिँदा त्यसको भित्री कारण खोतल्ने आदत छैन । दिएका कुरा पकाएर खाने ढंग छैन । जसोतसो खान्छौँ र खाएपछि दिसा गर्दछौँ । अनि त्यो पनि अरूले नै आएर सोहोरीदेओस् भनेर बस्दछौँ । अर्थात् विदेशीले बनाइदिएका विकासका आयोजनाहरूको संरक्षण गर्ने र अझ विकसित गर्दै जाने क्षमता हामीसँग छैन । यस्ता क्षमता भए पनि ती कुण्ठित र निराश हुने गर्दछन् ।

राहदानी बोकेर विदेश जान र विदेशबाट ह्विस्की ल्याएर खान मात्र अन्तर्राष्ट्रिय विमानस्थलका बारेमा बहस केन्द्रित हुन थालेका छन् । पूर्वमा भयो पश्चिममा छैन, पश्चिममा भयो उत्तरमा छैन, उसको प्रदेशमा भयो मेरो प्रदेशमा छैन आदि जस्ता कुरा बहसका विषय हुने गरेका छन् । पर्यावरण, अदालतका निर्णय, राजनीतिक बहसभन्दा पनि आयोजनाको दूरगामी असर बहसको विषय हुनुपर्दछ । कुन जातको स्याल कताबाट कराउँदछ, त्यो जातका स्याल त्यसरी नै त्यतै फर्केर कराउने शैलीमा समर्थन वा विरोध गरेर हुँदैन ।

जसले जतिसुकै तर्क दिए पनि यो देशमा हुने ठूला विकास आयोजनाहरूप्रति दुवै छिमेकी देशको गहिराइसम्म चासो हुने गर्दछ । हामीसँग भएको मगन्ते स्वभावमा पीपलपातेपन भएकोले जे गर्दा पनि छिमेकी देशहरू शंका गर्ने गर्दछन् । किनकि माग्नेमा जसले बढी दिन्छ उसैको पछि लाग्ने स्वभाव हुन्छ । विषै मिसाएर दिइए पनि जसले मिठो वचनले मिठो कुरा दिन्छ उसैका पछि पछि लाग्ने बानी हुन्छ ।

हाम्रो देशको भूवनोट र विगत सय वर्षको हाम्रो राजनीतिक स्वभावलाई हेर्दा यहाँ सञ्चालन हुने विकासका आयोजनाहरूमा यहाँको प्रतिनिधि–राजनीति नै निर्णायक हुन्छ भनेर सोच्नु मूर्खता हुन्छ । अहिले निजगढ विमानस्थल बन्न अवरोध हुँदा एकपटक अरुण तेस्रो आयोजनालाई सम्झन अनुरोध गर्दछु । अहिले आयोजना विशेषलाई समर्थन गर्नेहरूले त्यसबेला दाता संस्थालाई पत्र नै लेखेर सहयोग नगर्नु भनेका होइनन् र ? यिनले भू–उपग्रहबाट बिजुली निकालेर बेचिनेछ भनेका आयोजना गएर महाकालीमा एकपटक हेर्नुहोस् । हरेक देशभक्त नागरिकका आँखाबाट आँशु आउँदछ ।

विकास आयोजना बन्दा त्यसको प्रयोजन र निर्विवाद प्रयोगको सुनिश्चितता पहिलो प्राथमिकतामा पर्नुपर्दछ । त्यसपछि टिकाउपन, सुरक्षा आदि कुरालाई प्राथमिकतामा राखिनुपर्दछ । कोसी ब्यारेजमा जस्तै सुरक्षा व्यवस्था पनि विदेशीलाई वा तिनका स्थानीय एजेन्टलाई दिनेगरी बनाइने विकास आयोजना हाम्रा लागि बनेका हुँदैनन् । कोसी ब्यारेज बन्ने क्रममा चतरासम्म रेलका लिकबन्दा खुसी भएका धराने जनता प्रयोजन थाहा पाएपछि निरीह बन्न पुगे । अहिले कतिपय ठाउँमा लिकको पनि अस्तित्व छैन । यसैले प्रयोजन र आवश्यकता के हो भनेर पहिले स्वतन्त्र र गम्भीर तरिकाले सोचिनु पर्दछ ।

सानो देश छ तर मानव सभ्यताको उत्पत्तिस्थल भएकाले यहाँ हुने गतिविधिले विश्वलाई नै असर गर्दछ । त्यस्ता गतिविधि प्राकृतिक, धार्मिक वा सामरिक जे सुकै भए पनि ती मानव सभ्यतासँग जोडिएका हुन्छन् । हामीले नियत र प्रयोजनमा फरक थाहा पाउन जानेनाँै भने त्यसले सर्वनाश गर्दछ । हामीले पूर्व–पश्चिम रेलका कुरा गरिरहेका छौँ, बिजुली निकालेर बेच्ने तर्क गरिरहेका छौँ तर मेचीदेखि पश्चिम महाकाली एक घण्टामा छिचोल्न सक्ने विद्युतीय सुपर रेलका कुरा गरिरहेका छैनौँ । वृद्धभत्ता वितरण गर्नुलाई आधार बनाएजस्तै गरेर विकासका आयोजनालाई मत माग्ने आधार बनाइँदै छ । मेलम्ची बने जसरी देशभर बन्ने आयोजना हाम्रै पैसाले र हामीलाई ऋणको कागजातमा तमसुक गराएर बनिरहेका हुन्छन्, तर संकीर्ण सोचले गर्दा हामी यो सत्यतथ्यबाट विमुख हुने गर्दछौँ ।

हाम्रो राजनीतिसँग नेपालको भूगोल र पर्यावरणका बारेमा कति जानकारी छ भन्नेकुराको ज्वलन्त उदाहरण मेलम्ची आयोजना छ । यहाँका पर्यावरणका बारेमा चिन्ता हुने तथाकथित विशेषज्ञको स्तर पनि यसैबाट देखिन्छ । नेपाली माटोको गुणस्तर वा मौलिकता अक्सफोर्ड विश्वविद्यालयमा पढ्दैमा थाहा नहुँदो रहेछ । यसैले पर्यावरणका कुरा गर्नेहरू पनि सही नै हुन् भन्नु गलत हो । जंगलकै चिन्ता हुँदो हो त रेलको लिक बनाउन काटिएका रुखलाई पनि यिनले रुख नै हुन् भनेर देख्ने थिए । तैपनि तराईको जंगल नेपालमा रहेको त्यस जंगलभन्दा उत्तरतिरको भूभागलाई जोगाउने प्राकृतिक पर्खाल हो भन्ने कुरालाई हामीले बिर्सनु हुँदैन । आजभन्दा दुई, तीन सय वर्षअघि नेपाल आई विदेशीले लेखेका पुस्तकमा समेत तराईको जंगललाई ‘प्राकृतिक किल्ला’ उपनाम दिइएको पाइन्छ ।

छातीमा हात राख्नुहोस् र सोच्नुहोस् । डाँडा डाँडा चिथोर्दै घरघरमा बाटो लगेर हामी कति आत्मनिर्भर हुन सक्यौँ ? त्यो बाटोबाट हुने फाइदा वास्तविकरूपमा कहाँ गइरहेछ भनेर पनि गम्भीर ढंगले सोच्नुहोस् । त्यसपछि कहाँ विमानस्थल किन बन्दछन् र किन बनाइन्छन् अनि त्यसको वास्तविक लाभ कसलाई र कसरी भइरहेछ भनी थाहा पाउनु हुनेछ । समर्थन र विरोध किन हुन्छन् भनेर पनि थाहा पाउनुहुनेछ ।

हवाई यातायातको विस्तारमा लुकेको प्रयोजन पहिचान गर्न सकिएन वा नियत सफा हुन सकेन भने त्यो विमानस्थल सैनिक विमानस्थल बन्न पुग्दछ । देशलाई पूरा संकटग्रस्त बनाई यस्ता कुरामा मोलतोल हुने गर्दछन् । देशको सबभन्दा पुरानो विमानस्थलका बारेमा समेत दिनहुँ एउटा न एउटा गम्भीर गुनासो आइरहेका छन् । सुरक्षाका विषयमा विश्वस्त हुन सकिरहेका छैनौँ । सामानदेखि मानिससम्मलाई अवैध ओसारपसार हुनबाट रोक्न हामी सक्षम हुन सकेका छैनौँ । हामी ठूलठूला कुरामा उडिरहेका छौँ । अप्टिमम प्वाइन्टमा नपुग्दासम्म विकास भइरहन्छ र त्यसपछि विनास हुन्छ । तर, बेलैमा बुद्धि लगाइएन भने समय अगावै विनाश हुन्छ । हामीले जेसुकै विकास गर्दा पनि त्यो विनासको जग वा सिँढी नबनोस् भनेर ध्यान दिनुपर्दछ । आत्मनिर्भरता विकास सँगसँगै हिँड्न सक्नुपर्दछ, नत्र त्यो विकास विनाशकारी हुन पुग्दछ । यताकालाई विदेश लखेट्ने र अन्तकालाई लेराएर प्रतिस्थापन गर्ने गूढ नीतिप्रति समयमै सजग हुन सकेनौँ भने यो देशको अस्तित्व हाम्रै हातबाट सकिनेछ ।

अझ त्यसमाथि हाम्रो देशमा विकासको नाममा बजेट सिध्याउने खेल वर्षैपिच्छे हुँदै आइरहेको छ । जब बर्खा लाग्छ अनि विकासे काम गरी टोपल्छौँ । हामीलाई बर्खा लागेपछि बाढी र पहिरो आउनु प्रकृतिको नियम हो भन्ने कुरा थाहा नभएको हो र ! यसलाई नियन्त्रण गर्न सकिन्न तर यसको गतिमा अवरोध नगरे क्षति कम हुन्छ । आफ्नै तटबन्द बनाउनुभन्दा भएजति प्राकृतिक सम्पदा बेच्न पाउँदा हाम्रा नीतिलाई फाइदा हुन्छ । देशका युवा जमातलाई देशमै टिकाएर राख्नुभन्दा राहदानी बनाएर बाहिर खेद्दा हाम्रा नीतिलाई फाइदा हुन्छ । हामी निरीह जनता यी दुवैलाई नियति मान्दै आयौँ, बाध्यता भन्दै आयौँ । बाढी र पहिरोको नाउँमा वर्षैपिच्छे कसले र कसरी फाइदा लिइरहेछ भनेर हेर्न नै चाहेनौँ न त तिनको नियततिर ध्यान दियौँ ।
खेतीको सिजन आएपछि रासायनिक मल नपाउनु, उत्पादन भएपछि उचित मूल्य र बजार नपाउनु, चुनाव सकिएपछि महँगी उर्लनु आदिलाई पनि हामीले नियतिसरह मान्दै आएका छौँ । मासुभात र बियरमा रमाउँदा यसभित्रको चलखेलतिर हामीले कहिल्यै ध्यान दिएनौँ । यो खर्च भोलि मेरै थाप्लोमा बझारिनेछ भनेर सोचेनौँ ।

शिक्षा क्षेत्र शैक्षिक जनशक्ति बढाउनमा केन्द्रित छ कि अन्य उद्देश्यमा ? स्वास्थ्य क्षेत्र रोग लाग्न नदिन केन्द्रित छ कि रोगी बढाउन ? हामीले कहिल्यै सोच्यौँ र ? अहँ सोचेनाँै । जसले जति बिल काटे पनि चुपचाप भाग्यलाई कोस्दै भुक्तानी गर्दै आयौँ । आफू भएको विभाग वा मन्त्रालयबाट सरुवा हुनुअघि अथवा मन्त्री पद खुस्कनुअघि भएभरको कमिसन आफैँ खान कहिले हेलमेटसम्बन्धी, कहिले सवारी साधनको नम्बर प्लेटसम्बन्धी, कहिले अर्बौं रकम तलमाथि हुने किसिमले तेल आदिका मूल्यसम्बन्धी र कहिले करका दरसम्बन्धी निर्णय हुने गरे । हामीले यस्ता नीतिगत भ्रष्टाचारलाई पनि नियति नै मान्दै आयौँ । दुई दिन बिदा दिएर हुन्छ कि साइकल चढेको देखाएर हुन्छ, खर्च कम गरेको बहानामा हुने नाटकहरू पनि हामीलाई नियति नै लाग्दै आए । यसभित्रको कुटिल चाललाई कहिल्यै सोच्न चाहेनाँै ।

ज्योतिषीका लागि, अमुक दलका लागि र अमुक अदृश्य प्रभूका लागि बनाइएका प्रधानमन्त्रीहरू पनि हामीलाई भाग्यमानी नै देखिए । किनकि हामी सत्तामा पुग्नुलाई भगवानको कृपा मानिदिन्छौँ । कति वर्ष जेल बस्यो, कति मान्छे मारेर आयो, कति पैसा दिन सक्दछ जस्ता कुरा पद र योग्यताको मापदण्ड हुँदा पनि हामीले त्यसलाई विधाताकै खेल मान्दै आयौँ । जो बढी झूट बोल्न सक्दछ, जो ठूलो स्वरले कराउँदछ त्यही नै हामीलाई सही हुँदै आयो, उसको नियत खोतल्ने बानी नै बसालेनाँै । जो गीत गाएर महिला र पुरुषलाई आकर्षित गरी पैसा झार्न जान्दछ ऊ नै महापण्डित हुने जमाना आयो । यो पनि हाम्रालागि भाग्यकै खेल भइरहेछ ।

भित्रभित्रै कीरा परेको र बाहिर सग्लो देखिने काँक्रा फर्सी जस्तै छ हाम्रो अर्थतन्त्र, तैपनि नक्कली तथ्यांकलाई सही मानेर सुमसुम्याउन र बाहिर बाहिर ओखती छर्न छाडेनाँै । यसलाई पनि भाग्यकै खेल मान्दै आयौँ । न कुनै उद्दण्ड इतिहास छ, न कहिल्यै जेलनेल खपेको छ, न पैसा भरिएका ब्रिफकेस बोक्ने ढंग छ । यस्ता मूला योग्यताविहीन नेता पनि नेता हुन्छन् ? बालेनवाद तिमीहरू राजिनामा गर, नेता हुन योग्य छैनौँ । हामी जनता दास नबनाउने नेता चाहँदैनाँै । तिमीहरूले जितेका हुनाले काठमाडौं गनाइरहेछ, मल पाइन छाडेको छ अनि महँगी उरालिएको छ । पैसा खर्च नगरी चुनाव कसैले जिते यस्तो दुर्भाग्य आउँदो रहेछ, खुरुक्क भोलि नै राजिनामा देऊ । हाम्रो भाग्यमा विश्वास गर्ने आदत मास्न नखोज । राजनीतिको दोषी चस्मा लागएर देखिएको यो कटु सत्य होइन र ? अब मल छैन, महँगी बढ्यो आदि आदि भनेर रोइलोचाहीँ किन गरिएको होला ? खुरुक्क भाग्यलाई दोष दिएर, प्रभूहरूको भजन गाउँदै थच्चिए हुन्न र ? हाम्रा प्रभूहरू अघाए, हामीले पनि डकार्दै बसे हुन्न र ?

प्रतिक्रिया