कृतिका नेपाली महिला यू–१९ टोलीको कप्तान

काठमाडौं । नेपाल क्रिकेट संघ (क्यान) ले युवा स्पिनर कृतिका मरासिनीलाई यू–१९ टोलीको कप्तानमा नियुक्त गरेको छ । १७ वर्षीय कृतिकाले लुम्बिनी प्रदेशबाट घरेलु क्रिकेट खेल्ने गर्दछिन् ।

२०१९ मा चीनमा भएको बि एण्ड आर कप प्रतियोगितामा कृतिका सर्वोत्कृष्ट बलर चुनिएकी थिइन् । घरेलु क्रिकेटमा उनले लगातार राम्रो सम्भावना देखाउँदै आएकी छन् ।

मलेसियामा हुने यू–१९ वुमन्स विश्वकप एसिया क्षेत्रको छनोटको लागि नेपालले कृतिकालाई कप्तानमा नियुक्त गरेको हो । अर्को वर्ष पहिलो पटक दक्षिण अफ्रिकामा हुन लागेको यू–१९ विश्वकपको नेपालले एसिया क्षेत्र जित्नु पर्ने हुन्छ ।

जुन पहिलो साता मलेसियामा हुने एसिया क्षेत्र छनोटमा नेपाल, युएई, मलेसिया, कतार, चीन, भुटान, म्यानमार र थाईल्यान्ड छन् । शीर्ष स्थानमा रहने टोलीले २०२३ मा दक्षिण अफ्रिकामा पहिलो पटक हुने यू–१९ टि२० वुमन्स विश्वकप खेल्न पाउनेछ ।

उमेर नपुग्दा नेपालका प्रमुख पाँच खेलाडीले भने एसिया क्षेत्र गुमाउने छन् । आइसिसीको नियममा १५ वर्षभन्दा कमका खेलाडीले सहभागीता जनाउन नपाउने भएपछि ज्योत्स्निका मरासिनीसँगै टिका शाह, सावित्री धामी, प्रतिमा शाह र मनिषा चौधरीले कम उमेरका कारण यू–१९ विश्वकप गुमाउने भएका हुन् ।

प्रतिक्रिया