मिथिला कलामा नयाँपन

देवेन्द्र थुम्केली

सुमनले कलाको प्रायोजन अभिव्यक्ति, यश प्राप्ति, हृदय तत्वको प्रधानता, धनोपार्जन, सेवा, आनन्द प्राप्ति, विश्व कल्याण आदि हुने बताए । उनले कलाले मानिसलाई समृद्ध बनाउने विचार व्यक्त गर्दै मानव कल्याणका लागि यसको विशिष्ट भूमिका रहने जिकिर गरे । हुनत उनले समाजका लागि कलाकारले कलाबाटै नै योगदान दिनुपर्ने सुनाउँदै विकृति, विसंगति तथा खराब कुरालाई सिर्जनात्मक अभियानमार्फत चिर्नुपर्ने बताए

मौलिक परम्परालाई जीवन्त बनाउने कार्यमा स्रष्टाको भूमिका विशिष्ट रहेको हुन्छ । एक पुस्ताबाट अर्को पुस्तामा सीप, श्रमको ज्ञान र संस्कृति हस्तान्तरण गर्ने साधकलाई कलाकार अथवा विज्ञ पनि भनिन्छ । नेपाली लोककला परम्परामा मिथिला कलालाई जीवन्त राख्न तथा यसको मौलिकतालाई विश्वव्यापीकरण गर्ने कार्यमा कलाकार सुबोध चन्द्र दास कायस्थ ‘एससी सुमन’ को विशिष्ट भूमिका रहेको छ । वि.सं. २०१८ साल भदौ ५ गते सिरहाको बेतहा, भवानीपुर–१ मा जन्मिएका सुमनले हजारौं वर्षदेखि परम्परित मिथिला लोककलालाई संरक्षण, प्रवद्र्धन तथा संवद्र्धन गर्न निरन्तर काम गर्दै आइरहेका छन् । बुबा इन्द्रनारायण दास र आमा नन्दनीदेवी दासका सुपुत्र सुमनले मिथिलाकलामा नयाँपन दिँदै यसको वैचारिक बहसलाई बाहिर ल्याउन भूमिका खेलिरहेका छन् । साथै यसको व्यवसायीकरणमा समेत उनले प्रत्यक्ष÷परोक्ष रुपमा योगदान दिएका छन् । कलाकार सुमन भन्छन्, ‘लोककला संस्कृतिको महत्वपूर्ण भाग हो ।

लोककला संस्कृतिको पहिचान हो । जहाँसम्म नेपाली लोक संस्कृतिको कुरा हो यसमा लोककलाको विशेष महत्व छ । कलाको प्रायोजन अभिप्रायः यश प्राप्ति, हृदय तत्वको प्रधानता, धनोपार्जन, सेवा, आनन्द प्राप्ति, विश्वकल्याण आदि हुनसक्छ ।’ उनले लोकसंस्कृतिमा चित्रको प्राचीनता, भाषाभन्दा पनि प्राचीन रहेको जिकिर गरे । उनले लोकसंस्कृतिमा कला मानवको सहचरीको रुपमा सधैंसँग रहिरहने बताए ।

हाल मोरङको विराटनगर महानगरपालिका–१२, तथा शिव पन्चायन मार्ग, ताहाचल, काठमाडौंमा रहेर कलाकर्म गरिरहेका उनले मिथिला लोककला शैलीमा सयौं चित्र बनाइसकेका छन् । उनको कलायात्रा सिरहाको बेतहा, भवानीपुर–१ बाट भएको हो । सुमनको लालनपालन संयुक्त परिवारमा भएको हो । परिवारमा आमाबुवाका साथ काकाकाकी र हजुरआमासँगै थिए । खेतिपाती राम्रो थियो । काकाहरुले खेतिपाती हेर्थे । बुवा नेपाल बैंकको जागिरे थिए । सुमनको बाल्यकालको धेरै समय मामाको घर (विराटनगर) र बेतहाको नजिक लहानमा बित्यो ।

बेतहामा प्राथमिक विद्यालय मात्र थियो जहाँ कक्षा तीनसम्मको पढाइको सुविधा थियो । जागिरको क्रममा बुवाको सरुवा भइरहने हुनाले पढाइको सुरुवात् घरमा नै भएको उनले बताए । विद्यालयको पढाइ कक्षा तीन र चारबाट सुरु भएको थियो जुन पढाई राजविराजको प्राथमिक विद्यालयबाट भयो । कक्षा पाँचको पढाइ सत्यनारायण विद्यालय विराटनगरबाट पूरा गरी एसएलसीसम्मको पढाई पशुपति व्यावसायिक माध्यामिक विद्यालय लहानबाट पूरा गरे । उनी पढाइमा सामान्य भए पनि अतिरिक्त क्रियाकलापमा भने प्रायः भाग लिइरहने उनले सुनाए ।

चित्र कोर्नु, नाटकमा अभिनय गर्नुका साथै लेखन निर्देशन तथा मञ्चनका काममा उनको क्रियाशीलता बढी नै हुन्थ्यो । उनले विद्यालयमा पढ्दा पनि चित्र बनाएर प्रदर्शनी गर्ने गरेको सम्झिए । त्यतिबेला कलम, कापी, पेन्सिल जस्ता पुरस्कार जितिन्थ्यो । वास्तवमा उनले स्वअध्ययनले नै चित्रकारिता सिके । उनी घरको जेठो छोरा भएकाले आमाबुबाको सपना डाक्टर बनाउने थियो । सुमन भने विद्यार्थीजीवनदेखि नै कलाकारितातिर आकर्षित थिए । कलाकारिता गर्न थालेपछि आफ्नो जीवनलाई कसरी अगाडि बढाउँला भन्ने चिन्ता बुबामा परेको थियो । किनभने विज्ञानको विद्यार्थी भएर पनि उनले कलाकारितालाई कहिल्यै छोडेनन् । परिवारको दायित्व पूरा गर्नको लागि अन्य काम पनि गर्नुपर्दथ्यो तर जुन सन्तुष्टि उनलाई चित्र बनाउँदा प्राप्त हुन्थ्यो अन्य काम गर्दा कहिल्यै नभएको उनले बताए । अहिले भने उनी परिवारले गर्व गर्ने अवस्थामा छन् । यो ठाउँमा आइपुग्न उनले ३० वर्षको निरन्तर मिहिनेत गर्नुपर्यो ।

उनले विज्ञान विषयमा स्नातक गरेका छन् । हजुरआमाबाट कला ज्ञान सिकेका उनले लहानबाट एसएलसी पास गरेपछि आमाबुबाले देखेको डाक्टर बन्ने सपना पूरा गर्न बिहारको मिथिला विश्वविद्यालयमा भर्ना भए । आइएस्सी पास पनि भए । तत्पश्चात् मेडिकलमा प्रवेश हुन सकेनन् । पढाइलाई निरन्तरता दिन बिएससीको पढाइ गरे । उनले बिएससीको जाँच सकेलगत्तै राजविराजको माध्यमिक विद्यालयमा विज्ञान शिक्षकको रुपमा जाँगिर गरे । आफ्नो अगाडि एमएससी पढने इच्छा थियो तर विज्ञानको स्नातकोत्तर पढ्न काठमाडौ नै जानुपर्ने बाध्यता भयो । वुबाले काठमाडौंमै बसेर पढाउन नसक्ने अवस्था थियो । यसो हेर्दा बुबाले धान्न नसक्ने परिवारिक बोझ थियो । यिनै परिस्थितिबाट पार पाउन जिम्मेवारीको दवावले गर्दा अशोक टेक्सटाइल इण्डस्ट्रिजको गुणस्तर विभागमा जागिरे जीवन सुरु गरे । जागिरकै क्रममा मिथिलाकलालाई निरन्तरता दिन थाले । उनले दैनिक १६ देखि १८ घण्टासम्मको काम गरेको सम्झिए । निजी कपड़ा कारखानाको काम (निजी फ्याक्ट्रीको जागिर) निकै संघर्षपूर्ण समय थियो । तथापि मिथिलाकलाको बिक्रीले अप्ठयारोलाई अलि सहज बनाउँदै लगेको उनले सुनाए । सुमनले टेक्साइल डिजाइनिङ र रेडियो प्रस्तोताका रुपमा समेत काम गरे ।

हजुरआमाले बनाउने कलाबाट प्रभावित भएर मिथिला लोककलामा लागेको सुमनले मैथिल लोकचित्रकला प्रदर्शनीभन्दा तिनले दिने सन्देश ठूलो कुरा भएको बताउँछन् । सन् १९९१ देखि व्यावसायिक कला यात्रा थालेका सुमनले भारत, जापान, नेदरल्यान्ड, अस्ट्रेलिया, फ्रान्स, जर्मनी, चीन, बंगलादेश, कोरिया लगायतका विभिन्न देशमा मैथिली कलाको एकल प्रदर्शनी गरिसकेको जनाए ।

सुमनले ७ कक्षामा पढ्ने बेला विद्यालयले चित्रकला प्रतियोगिता गरेको थियो । उत्कृष्ट हुनेलाई मन्त्रीबाट पुरस्कार दिने घोषणा गरिएको थियो । त्यत्तिवेला चित्रकलालाई महिलाले घरका भित्तामा गर्ने कामसँग तुलना गरिन्थ्यो । बुबाले पनि चित्र बनाएकै कारण गाली गर्लान् भन्ने डर उनमा थियो । उनलाई चित्रमा आफू प्रथम भएको कुरा बुवाले थाहा नपाए हुन्थ्यो भन्ने मन लागेको थियो । हुनत उनले लुकीलुकी एउटा चित्र बनाएर प्रतियोगितामा सहभागी भएको जीवनमै त्यो चित्रले पहिलो बाजी मा¥यो । यसरी मन्त्रीको हातबाट पहिलो पटक कलम, मसी र किताब पुरस्कार थापेको सुमनले त्यो खबर घरमा नपुगोस् भन्ने चाहे पनि एक शिक्षकले बुबालाई सुनाइदिएछन् । घरमा बुवाले छोरालाई न स्याबासी दिए न त गाली नै । स्कुलेजीवनको यो मैथिली कला मोह उनले दरभङ्गा विश्वविद्यालयमा पढ्दासमेत कायम राखे । उनले आफूले हजुरआमाको सिको गर्दै कुची समाउन सिकेको बताए । हजुरआमाबाटै रङसँगको पहिलो परिचय पाएको बताउँदै कलाकार सुमनले प्राकृतिक रङ बनाउने प्राविधिक ज्ञान पनि हजुरआमाले नै सिकाएको सुनाए ।

कला सिर्जनाको विकासक्रममा विविध संस्कृति र कलाको बीचमा आफ्नो अलग पहिचान र अस्तित्वसहित उनले मिथिला चित्रकलालाई नयाँपन र शैलीमा प्रस्तुत गर्दै आएका छन् । उनले मिथिला नाट्य्कला परिषद् जनकपुरधामबाट २०२१ मा महामूर्ख सम्मानसमेत पाएका छन् । नेपाल सरकार संस्कृति मन्त्रालयबाट प्रतिभा पुरस्कार पाएका उनले नेपाल ललितकला संस्था (नाफा) बाट राष्ट्रिय तथा विशेष पुरस्कारसमेत प्राप्त गर्न सफल भएका छन् । यस्तै, उनी विभिन्न संघ संस्थाबाट सम्मानित तथा पुरस्कृत भएका छन् ।

उनी नेपाल ललितकला प्रज्ञा प्रतिष्ठानको प्राज्ञपरिषद् सदस्य तथा लोककला विभाग प्रमुख भएर काम गरिसकेका छन् । त्यस्तै, ललितकला संगम विराटनगर, सिद्धार्थ आर्ट फाउन्डेसन, शिवाता लभ फाउन्डेसन, मैथिली सेवा समिति विराटनगर लगायतका संघ संस्थामा आबद्ध रही कलाकर्मलाई समेत उत्तिकै रुपमा गतिशील बनाउँदै आइरहेका छन् । उनले पहिलो पटक २०४२ सालमा बनाएको कलाकृतिको मिथिला कलामा सरस्वती हो । उनले उक्त चित्र घरको भित्तामा झुण्डयाउने प्रयोजनका लागि बनाएका थिए ।
उनको नेदरल्यान्डमा पहिलो पटक प्रदर्शनी भएको थियो । त्यसपछि जर्मनी, फान्स, बंगलादेश, चीन, युके, अमेरिका लगायतका देशमा उनले चित्र प्रदर्शनी गरेका छन् । त्यहाँबाट उनले पुरस्कारसमेत पाएका छन् । विभिन्न देश विदेशका संग्रहालयमा पनि उनका कलाकृति राखिएको छ ।

महाभारत तथा रामायणका कुरामा मात्र कलाकार नअड्किएर, चित्रमा सामाजिक विषयवस्तु समेटिने क्रम बढ्दो छ । जसका लागि चित्रकला सम्बन्धी कार्यशाला, गोष्ठी, छलफल, प्रदर्शनीजस्ता कार्यक्रम समय–समयमा सञ्चालन गरिनुपर्ने आवश्यकता रहिआएको छ ।

उनले कलाको प्रायोजन अभिव्यक्ति, यश प्राप्ति, हृदय तत्वको प्रधानता, धनोपार्जन, सेवा, आनन्द प्राप्ति, विश्व कल्याण आदि हुने बताए । कलाकार सुमनले कलाले मानिसलाई समृद्ध बनाउने विचार व्यक्त गर्दै मानव कल्याणका लागि यसको विशिष्ट भूमिका रहने सुनाए । हुनत उनले समाजका लागि कलाकारले कलाबाटै नै योगदान दिनुपर्ने जिकिर गर्दै विकृति, विसंगतिलाई सिर्जनात्मक अभियानमार्फत चिर्नुपर्ने बताए । उनी भन्छन्, ‘कलाले समाज रुपान्तरणका लागि भूमिका खेल्न सक्नुपर्दछ ।’

प्रतिक्रिया