पर्थलाई चौथो पटक बिग ब्यास लिगको उपाधि

सिड्नी । पर्थ स्कोचर्सले बिग ब्यास लिग २०२१/२२ को उपाधि जितेको छ । पर्थले शुक्रबार साँझ सम्पन्न फाइनलमा सिड्नी सिक्सर्सलाई ७९ रनले हराउँदै चौथो पटक बिग ब्यास लिगको कीर्तिमानी उपाधि जितेको छ । योसँगै पर्थ बिग ब्यासमा चौथो पटक उपाधि जित्ने पहिलो टोली बनेको छ । १ सय ७२ रनको विजयी लक्ष्य पछ्याएको सिड्नी १६.२ ओभरमा ९२ रनमा अल आउट भयो । सिड्नीका ड्यानियल हग्सले ३३ बलमा २ चौका र १ छक्कासहित सर्वाधिक ४२ रनको योगदान दिए । अन्य कुनैपनि ब्याटरले राम्रो प्रदर्शन गर्न सकेनन् । ८ खेलाडी दोहोरो अंकमा रन नबनाई पेभेलिएन फर्केका थिए ।

पर्थका तीव्र गतिका बलर एन्ड्रयू टाईले ३ ओभरमा १५ रन खर्चेर ३ विकेट लिए । झेय रिचर्ड्सनले २, जेसन बेहरनडोफ, एश्टन टर्नर र एश्टन अगरले १–१ विकेट लिए । त्यसअघि मेलबर्नमा टस हारेर ब्याटिङ थालेको पर्थले निर्धारित २० ओभरमा ६ विकेट गुमाउँदै १ सय ७१ रन बनाएको थियो । पर्थका लौरी इभान्सले ४१ बलमा ४ चौका र ४ छक्कासहित ७६ रनको अविजित विजयी इनिङ खेले । कप्तान एश्टन टर्नरले ३५ बलमा ४ चौका र १ छक्कासहित ५४ रनको इनिङ खेले ।
एक समय ६ ओभरमा २५–४ को कमजोर अवस्थामा पुगेको पर्थलई पाँचौं विकेटका लागि टर्नर र इभान्सले १ सय ४ रनको उत्कृष्ट शतकीय साझेदारी गर्दै बलियो योगफलमा पुर्याएका थिए । सिड्नीका नाथन लायन र स्टिभ ओकिफले २–२ विकेट लिए । पर्थले यसअघि २०१४, २०१५ र २०१७ मा उपाधि जितेको थियो । पर्थपछि सिड्नी सिक्सर्सले तीन पटक उपाधि जितेको छ । सिड्नीले २०१२, २०२० र २०२१ मा उपाधि जितेको थियो ।

प्रतिक्रिया