पूर्व कप्तान खड्काविरुद्ध अख्तियारमा मुद्दा

काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले प्रहरी सेवामा रहँदा झुट्टा प्रमापत्र पेश गरेको भन्दै राष्ट्रिय फुटबल टोलीका पूर्व कप्तान हरि खड्काविरुद्ध बुधबार आरोप पत्र दायर गरेको छ । अख्तियारले सरकारलाई हानि नोक्सानी पुर्याई आफू समेतलाई लाभ हुने बदनियत राखी गरेको र उक्त कार्य साविक भ्रटाचार निवारण ऐन र प्रचलित भ्रष्टाचार निवारण ऐन अनुसार कसुर गरेको प्रमाण पुष्टि हुन आएकोले दण्ड सजाय हुन मागदाबी गरि आरोप पत्र दायर गरेको जनाएको छ ।

महानगरीय प्रहरी गण नं २ मा दरबन्दी भई राष्ट्रिय प्रहरी प्रशिक्षण प्रतिष्ठानको केन्द्रिय खेलकुद समितिमा कार्यरत प्रहरी नायब निरिक्षक खड्काको शैक्षिकत योग्यता आइएको प्रमाणपत्र नक्कली रहेको भन्नु उजुरीका आधारमा अनुसन्धान हुँदा झुट्टा प्रमाणपत्र पेश गरेको र सोही प्रमाणपत्रका आधारमा २०५५ कात्तिक १ गते प्रतिस्पर्धाबाट प्रहरी सायक निरिक्षक पदमा नियुक्त भएको अख्तियारले उल्लेख गरेको छ ।

त्यस्तै प्रहरी सेवामा निरन्तर वहाल रहि २०५९ पुस १४ गते खड्का प्रहरी नायब निरीक्षक पदममा बढुवा भइ सरकारलाई हानी नोक्सानी पु¥याई लाभ हुने बदनियत राखेको अख्तियारद्वारा बुधबार जारी विज्ञप्तीमा उल्लेख गरिएको छ । खड्काले प्रहरी सेवामा माध्यामिक शिक्षा परिषद् बाराणशी उत्तरप्रदेश भारतको शैशिक्षक योग्यता आइएको झुट्टा प्रमाण पत्र पेश गरेको आरोप लगाएको छ । खड्का राष्ट्रिय फुटबल टोलीबाट सर्वाधिक १३ गोल गर्ने २ खेलाडी मध्येका एक हुन् । उनी हाल अखिल नेपाल फुटबल संघ (एन्फा) का महिला विभागका प्रमुख हुन् ।

महिला राष्ट्रिय टोलीको मुख्य प्रशिक्षक समेत रहिसकेका खड्का सन् २०१५ मा राष्ट्रिय पुरुष टोलीको सहायक प्रशिक्षक समेत रहेका थिए । खड्काको कप्तानीमा नेपाल पुलिस क्लबले २०६३ सालमा सहिद स्मारक ए डिभिजन लिग जितेको थियो । २०६४ मा उनी लिगका सर्वोत्कृष्ट खेलाडी समेत घोषित भएका थिए ।

प्रतिक्रिया