प्रतिनिधिसभाको अर्को बैठक पुस ६ गते बस्ने

काठमाडौं । प्रतिनिधिसभाको अर्को बैठक आगामी पुस ६ गते बस्ने गरी आजको बैठक स्थगित भएको छ । सभामुख अग्निप्रसाद सापकोटाले अर्को बैठक पुस ६ गते मंगलबारका दिन दिउँसो १ बजे बस्ने गरी आजको बैठक स्थगित भएको जानकारी दिए ।

आजबाट सुरु भएको प्रतिनिधिसभाको १० अधिवेशनको पहिलो बैठकमा प्रमुख प्रतिपक्षी दल नेकपा एमालेले अवरोध गरेको थियो । लामो समयदेखि प्रतिनिधिसभा बैठकमा अवरोध गर्दै आएको एमालेले आज पनि अवरोध गरेको हो ।

गत साउन १ गते एमालेका तत्कालीन नेता माधवकुमार नेपालसहित १४ जना सांसद्लाई कारबाहीको लागि सिफारिश गरिएकामा सभामुखबाट त्यसको सुनुवाइ नभएको आरोप एमालेले लगाउँदै आएको छ ।

मंगलबार दिउँसो बैठक सुरु भएलगत्तै एमालेका सासंदहरूले नाराबाजी सुरु गरेका थिए । तर, बैठकमा सरकारको तर्फबाट कानून न्याय तथा संसदीय मामिलामन्त्री दिलेन्द्रप्रसाद बडुले नेपाल प्रहरी र प्रदेश प्रहरी (कार्यसञ्चालन, सुपरिवेक्षण र समन्वय) (पहिलो संशोधन) अध्यादेश २०७८ पेश गरेका छन् ।

उनले नै तेजाब तथा अन्य घातक रासायनिक पदार्थ (नियमन) अध्यादेश २०७८ र सामाजिक सुरक्षा (पहिलो संशोधन) अध्यादेश २०७८ पेश गरेका छन् ।

त्यस्तै रेल्वे अध्यादेश २०७८, यौन हिंसाविरुद्धका केही ऐनलाई संशोधन गर्ने अध्यादेश २०७८ र फौजदारी कसूर तथा फौजदारी कार्यविधिसम्बन्धी केही ऐन संशोधन गर्ने अध्यादेश पनि संसदमा पेश भएको छ ।

प्रतिक्रिया