नवप्रवर्तन कोष स्थापना गर्ने प्रधानमन्त्री प्रचण्डको घोषणा

काठमाडाैं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले सरकारले आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम र बजेटमा नवप्रवर्तन कोष स्थापना गर्ने घोषणा गरेका छन् । बिहीबार काठमाडौंमा राष्ट्रिय सूचना तथा सञ्चार प्रविधि दिवसका अवसरमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै प्रधानमन्त्री प्रचण्डले कोषका निम्ति आवश्यक कानुन तर्जुमा गर्ने गृहकार्य अगाडि बढाइसकेको बताएका हुन् । उनले कोषबाट हुने कामले यस क्षेत्रमा गुणात्मक फड्को मार्ने बताए ।

प्रधानमन्त्री प्रचण्डले नेपालको इतिहासमा पहिलोपटक नवप्रवर्तनको निम्ति भनेर पुँजीगत बजेटको १ प्रतिशत छुट्याउन लागेको बताए । उनले युवालाई देशभित्र आशा जगाउन र अर्थतन्त्रमा गुणात्मक सुधार गर्न पनि कोषले भूमिका खेल्ने बताए । उनले सञ्चार तथा सूचना प्रविधिको विकास, बिस्तार र प्रयोगबाट नै आर्थिक, सामाजिक रुपान्तरण गर्न सकिन्छ भन्ने सरकारको दृढ विश्वास रहेको बताए ।

प्रधानमन्त्री प्रचण्डले सूचना प्रविधिको विकास, बिस्तार र सुरक्षित प्रयोगलाई सुनिश्चित गर्न आवश्यक नीतिगत तथा कानुनी व्यवस्थाका लागि प्रतिबद्ध रहेको बताए । उनले सूचना तथा सञ्चार प्रविधि नीतिको परिमार्जन र सूचना प्रविधि तथा साइबर सुरक्षासम्बन्धी कानुन निर्माणको प्रक्रियामा रहेको जानकारी दिए । उनले दिनानुदिन बढ्दै गइरहेको साइबर अपराधसम्बन्धी घटना, संवेदनशील प्रणालीमाथिको अनाधिकृत पहुँच, व्यक्तिगत एवं संस्थागत डाटा दुरुपयोगको विषयलाई नियमन तथा व्यवस्थापन गर्न तथा साइबर सुरक्षाको बढ्दो चुनौतीलाई मध्यनजर गर्दै नीति, कानुन र संरचना निर्माण कार्यलाई सरकारले उच्च प्राथमिकतामा राखेको बताए ।

प्रधानमन्त्री प्रचण्डले आगामी बजेटमा देशभित्रै केही गर्ने युवाका निम्ति सुवर्ण अवसर सिर्जना हुने बताए । स्टार्टअप कार्यक्रमलाई एकीकृत गरी प्रभावकारी कार्यान्वयन गर्न सरकार गम्भीर रहेको उनको भनाइ छ ।

प्रतिक्रिया