मतदानमा स्वविवेक प्रयोग गर्नुस् : शशाङ्क कोइराला

काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री डा. शशाङ्क कोइरालाले १४औँ महाधिवेशनका प्रतिनिधिलाई स्वविवेक प्रयोग गरेर मतदान गर्न आग्रह गरेका छन् ।

महाधिवेशनको मतदानस्थल भृकुटीमण्डपमा आज सञ्चारकर्मीसँग कुरा गर्दै महामन्त्री कोइरालाले आफूले पनि तटस्थरुपमा आफ्नो स्वविवेक प्रयोग गर्ने भन्दै सबै मतदातालाई पनि स्वविवेक प्रयोग गर्न आग्रह गरेका हुन् ।

उनले सभापति र पदाधिकारीका लागि हाल प्रतिस्पर्धामा रहेका कुनै प्यानलमा पनि आफू नरहेको र आफूले स्वतन्त्ररुपमा आफ्नो मतदानको प्रयोग गर्ने बताए । कांग्रेस महाधिवेशनअन्तर्गत आज मतदानको कार्यक्रम तोकिएको छ । बिहान ८ बजेदेखि मतदान सुरु हुने भनिए पनि मतपत्र छाप्न ढिलाइ भएकाले ढिलागरी मतदान सुरु भएको हो ।

कांग्रेसको १४औँ महाधिवेशनका लागि चार हजार ७४३ जना महाधिवेशन प्रतिनिधि मतदाता छन् । यी प्रतिनिधिले आगामी चार वर्षका लागि कांग्रेसको नयाँ नेतृत्व छनोट गर्नेछन् ।

महाधिवेशनमा सभापतिका लागि कांग्रेसका सभापति एवं प्रधानमन्त्री शेरबहादुर देउवा, पार्टी उपसभापति विमलेन्द्र निधि, पूर्वमहामन्त्री प्रकाशमान सिंह, केन्द्रीय सदस्यद्वय डा. शेखर कोइराला र कल्याणकुमार गुरुङले उम्मेदवारी दिएका छन् ।

प्रतिक्रिया