कांग्रेस महाधिवेशन : बिहान ८ बजेबाट मतदान हुँदै

काठमाडौं । यही शुक्रबारदेखि भृकुटीमण्डपमा जारी नेपाली कांग्रेसको १४औँ महाधिवेशनअन्तर्गत नयाँ नेतृत्व चयनका लागि आज बिहान ८ बजेबाट मतदान हुने भएको छ ।

एक सभापतिका लागि हुने मतदानमा ५ जना, दुई उपसभापतिका लागि ७, दुई जना महामन्त्रीका लागि ६ र ८ जना सहमहामन्त्रीका लागि १९ जनाको उम्मेदवारी परेको निर्वाचन समितिले जनाएको छ ।

शनिबार नयाँ केन्द्रीय समितिको पदाधिकारी र केन्द्रीय सदस्य गरी १३४ पदका लागि ५४८ जनाले मनोनयन दर्ता गराएका थिए । तीमध्ये पदाधिकारीमा उम्मेदवारी दिएका २ जना र केन्द्रीय सदस्यमा उम्मेदवारी दिएका ५८ जनाले मनोनयन फिर्ता लिएका छन् । प्रदेश २ बाट दुई केन्द्रीय सदस्यमा रमेश रिजाल र आनन्दप्रसाद ढुंगाना भने निर्विरोध भएका छन् । ।

आज हुने मतदानका लागि तीन मतदान केन्द्र कायम गरिएको छ । राष्ट्रिय सभागृहमा दुईवटा र भृकुटीमण्डपमा एउटा बुथ कायम गरिएको निर्वाचन समितिले जनाएको छ ।

ती मतदान केन्द्रमा करिब एक हजार एक सय बुथ व्यवस्था गरिएको छ । महाधिवेशनबाट नयाँ केन्द्रीय समिति चयनका लागि सोमबार विहान ८ देखि साँझ ५ बजेसम्म मतदानको समय तोकिएको छ ।

प्रतिक्रिया