‘मेरो नेतृत्वमा मात्र पार्टीले पुनर्जीवन पाउँछ’

काठमाडौं । कांग्रेसका सभापतिका उम्मेदवारहरूले राज्यशक्तिमा आफ्नो पकड र पार्टीको रुपान्तरण मुख्य एजेन्डा बनाएका छन् । चार वर्षअघि २०७४ को निर्वाचनमा प्रत्यक्षतर्फ तेस्रो स्थानमा खुम्चिएको पार्टीलाई बहुमतसहितको पहिलो पार्टी बनाउने सबै प्रत्यासीको चुनावी एजेण्डा बनेको छ । पार्टी सभापतिमा दोहोरिन चाहेका प्रधानमन्त्री शेरबहादुर देउवाले आइतबार आफ्नो प्यानलको कार्यक्रम र प्रतिनिधिहरूसँगको छलफलमा प्रधानमन्त्री पदको चिन्ता व्यक्त गरे ।

आफू सभापति र प्रधानमन्त्री भए मात्रै तीनै तहको सरकार कांग्रेसको बन्ने देउवाले दाबी गरे । आफूले सभापति नजितेको अवस्थामा प्रधानमन्त्रीमा समेत बस्न नैतिक रूपले नमिल्ने तर्कअघि सारेका छन् । ’मैले सभापतिमा हारेको खण्डमा प्रधानमन्त्री बस्न पाइँदैन भनेर होहल्ला गर्नेछन् । सभापति हारेको मान्छेले के देश चलाउँछ भन्नेछन् । गाउँदेखि माथिसम्म कांग्रेसको सरकार बनाउन मलाई अत्यधिक मतले विजयी गराउनुस्,’ उनले प्रतिनिधिहरूसँग भनेका छन् ।

मुलुकलाई कम्युनिस्ट शासनबाट मुक्त गराउनका निम्ती पनि आफूले सभापति जित्नुपर्ने उनको तर्क छ । एमाले अध्यक्ष केपी शर्मा ओलीले अझै पनि राज्यसत्ता कब्जा गर्न खोजेको भन्दै देउवाले त्यसलाई आफूले मात्रै रोक्न सक्ने दाबी गरेका छन् । सभापति र प्रधानमन्त्री एउटै भए मात्र पार्टीमा स्थायित्व हुने भएकाले आफूलाई सभापतिमा निर्वाचित गराउन उनले प्रतिनिधिलाई अपिल गरे । ’म प्रधानमन्त्री भएपछि ओलीको डर र त्रासको शासनबाट सबै मुक्त भए । ओलीले राज्यसत्ता कब्जा गर्न खोजिरहेका छन् । त्यसलाई मैले मात्रै रोक्न सक्छु । सभापति र प्रधानमन्त्री एउटै भए मात्रै सजिलो हुन्छ, पार्टीमा स्थायित्व हुन्छ,’ उनले भने ।

देउवाले पार्टीमा प्रजातन्त्रको सुदृढीकरण र रुपान्तरण गर्न पनि आफ्नो अनुभव सहयोगी हुने बताएका छन् । देउवालाई सहयोग गरेका नेता कृष्णप्रसाद सिटौलाले पनि सभापतिमा हारेका प्रधानमन्त्रीलाई लिएर निर्वाचनमा जाँदा उत्साह नहुने भन्दै जिताउन प्रतिनिधिसँग आग्रह गरे । ’सभापतिमा हारेको व्यक्तिले उत्साहका साथ सबैलाई समेटेर निर्वाचनमा जान अप्ठ्यारो हुन्छ । शेरबहादुर देउवाजीले त त्यो आत्मविश्वास राख्नुहोला तर मलाई त्यस्तो लाग्दैन,’ सिटौलाले प्रतिनिधिलाई प्रश्न गरे ’सभापतिमा हारेको प्रधानमन्त्री लिएर निर्वाचनमा जाने वा जितेको व्यक्ति ?’

देउवाको अनुभव र युवा प्रदीप पौडेलको जोसले कांग्रेस रुपान्तरणको एजेण्डालाई सम्भव बनाउने तर्क सिटौलाले गरेका छन् । सभापतिमा प्रत्यासी रहेका शेखर कोइरालाले पार्टीलाई जवाफदेही, पारदर्शी र उत्तरदायी बनाउनका निम्ति आफ्नो समूहले उम्मेदवारी दिएको बताए । महाधिवेशनपछि प्रधानमन्त्रीबाट हट्नुपर्ने चिन्ता देउवाले गरेको भन्दै उनले सरकारबारे चिन्ता नलिन देउवालाई सुझाएका छन् । उनले भने, ’शेरबहादुरजी तपाईंको सरकार ढल्दैन, चिन्ता नगर्नुस्, तपाईंलाई सभापतिमा हराउने हो तर प्रधानमन्त्रीबाट हटाउने होइन ।’

आफ्नो प्यानलको पत्रकार सम्मेलनमा सम्बोधन गर्दै उनले पार्टीको रुपान्तरणका लागि आफ्नो समूह सक्षम रहेको बताए । महाधिवेशनबाट आफूहरू निर्वाचित भए हालको गठबन्धन र पार्टी दुवैलाई बलियो बनाउने उनले बताएका छन् । संघीय लोकतान्त्रिक गणतन्त्रलाई सुदृढ बनाउन र संविधानलाई परिमार्जन गर्ने उद्देश्यसहित आफूहरू उत्रिएको उनको भनाइ छ । ’पाका नेताहरूको अनुभव र युवानेताहरूको ऊर्जाको मिश्रणले पार्टीलाई गतिशील बनाउँछौँ । पार्टीभित्रको सबै विकृति अन्त्यका लागि र जवाफदेही नेतृत्वका लागि हामी तयार छौँ,’ कोइरालाले भनेका छन् ।

सभापतिका प्रत्यासी प्रकाशमान सिंहले पार्टीलाई तीनै तहको निर्वाचनमा विजयी गराउँदै कांग्रेसको नेतृत्वमा सबै तहको सरकार आफ्नो मुख्य प्राथमिकता रहेको बताएका छन् । पार्टीभित्रको आन्तरिक लोकतन्त्र सुदृढीकरण र अन्यायमा परेका कार्यकर्तालाई न्याय दिलाउनु आफ्नो मुख्य ध्येय रहेको बताएका छन् । ’पार्टीलाई नियम र विधि सङ्गत रूपले चलाउन मेरो उम्मेदवारी हो । अन्यायमा परेका कार्यकर्ताहरूलाई न्याय दिलाउन क्रियाशील हुनेछु । देशभरबाट अन्याय सहेर यहाँ आउनुभएका प्रतिनिधिहरूलाई त्यसविरुद्ध निर्णय लिने मौका छ,’ उनले भनेका छन् ।

आफू निर्वाचित भए तीनै तहको सरकार कांग्रेसको नेतृत्वमा बनाइने सिंहको दाबी छ । यस्तै, सभापतिका अर्का उम्मेदवार विमलेन्द्र निधिले पार्टीमा पुस्तान्तरणको एजेण्डा सफल बनाउँदै तीनै तहमा पार्टीको सरकार बनाउने उद्देश्य रहेको बताएका छन् । ’युवाहरू भनेको पुराना नेताहरूको झोला बोक्ने मात्रै होइन, नेतृत्वमा पनि आउन सक्छन् भन्ने पुष्टि गर्नु छ । पार्टीमा पुस्तान्तरण सम्भव छ भन्ने देखाउन उम्मेदवारी दिएको हुँ,’ उनले भनेका छन् ।

उनले निर्वाचन दोस्रो चरणमा प्रवेश गर्ने दाबीसहित त्यसमा देउवालाई रोक्ने दाबीसमेत गरेका छन् । ’निर्वाचन दोस्रो चरणमा प्रवेश गर्छ, देउवालाई दोस्रो चरणबाट रोक्दै यो महाधिवेशनले कांग्रेसलाई नयाँ नेतृत्व दिनेछ,’ निधिको भनाइ छ ।

उम्मेदवारको भड्किलो प्रचार
नेपाली कांग्रेसको महाधिवेशनको शुक्रबार औपचारिक उद्घाटन भयो, सोमबार मतदान हुँदैछ । कांग्रेसको नेतृत्वका लागि पाँच जना उम्मेदवार मैदानमा छन् । कल्याण गुरुङबाहेकका सभापतिका उम्मेदवारले छुट्टाछुट्टै प्यानल बनाएर महाधिवेशनको मैदानमा होमिएका हुन् । १३ जना पदाधिकारीका लागि ३७ जनाले प्रतिस्पर्धा गरिरहेको कांग्रेस मैदानमा १३४ सदस्यीय केन्द्रीय कमिटीका लागि पाँच सयभन्दा बढीले प्रतिस्पर्धा गरिरहेका छन् ।

कांग्रेसको प्रदेश अधिवेशन र केन्द्रको महाधिवेशनबीचको समयावधि कम भएको र आफू कुन पदमा उम्मेदवारी दिने भन्ने निश्चित नभएका कारण पदाधिकारी र केन्द्रीय समितिमा प्रतिस्पर्धा गर्ने उम्मेदवारहरुलाई प्रचारको अवधि निकै कम भएको हो । तर, उनीहरुले यस छोटो अवधिमा पनि प्रचारशैली हेर्ने हो भने निकै भड्किलो देखिन्छ ।

कांग्रेसको महाधिवेशनको उद्घाटनस्थलमा नै मतदान हुने भएकोले महाधिवेशनस्थल वरपर ५ सय मिटर क्षेत्रभित्र निर्वाचनसँग सम्बन्धित कुनै पनि ब्यानर, भित्तेलेखन, पोस्टर, तुल, पम्प्लेट आदि राख्न नपाइने आचारसंहिता बनाएको छ । यही कारण भृकुटीमण्डभित्र भने कुनै पनि प्रचारप्रसारका ब्यानर तथा पोस्टरहरु छैनन् । तर, प्रदर्शनीमार्ग क्षेत्रमा पनि समर्थकहरुले आफ्नो उम्मेदवारहरुको ब्यानर टाँगिरहेका छन् भने पम्पलेट तथा प्रचारहरु बनाएर महाधिवेशन प्रतिनिधिहरुलाई वितरण गरिरहेका छन् ।

प्रदर्शनी मार्गमा पदाधिकारी तथा केन्द्रीय सदस्यका उम्मेदवारका समर्थकहरुले नारा लगाउँदै आफ्नो नेताका लागि मत मागिरहेका छन् । सभापतिका उम्मेदवर प्रकाशमान सिंहका समर्थकहरुले छाताको वरिपरि ’प्रकाशमानलाई मतदान गरौं’ लेखिएका पम्पलेटहरु टाँगेर उनको पक्षमा नाराबाजी गरिरहेका थिए । त्यसैगरी गगन र शेखर कोइरालाका समर्थकहरुले पनि उनको पक्षमा नाराबाजी गरिरहेका थिए ।

प्रदर्शनीमार्गमा हेर्दा गगन थापाका समर्थकहरुले उनको समर्थन हुने गरी गीतहरु बजाइरहेका थिए । प्रदर्शनीमार्गमा राखिएको ठूलो स्क्रिनमा गगनको समर्थनमा बनाइएका भिडियो तथा गीतहरु बजाइएका थिए । त्यसैगरी विभिन्न समूहमा विभाजित भएर नाराबाजीसमेत गरिरहेका थिए । अन्य उम्मेदवारहरुको तुलनामा गगन थापाका समर्थकको प्रचारशैली भड्किलो देखिन्थ्यो ।
करिब एक किलोमिटरको क्षेत्रमा पाँच सयभन्दा बढी उम्मेदवारहरुका हजारौं समर्थकहरुले मत मागिरहेका थिए । तर, उनीहरुले कसैको विरोध भने गरेका थिएनन् । उनीहरुले आफ्नो उम्मेदवारहरुलाई अब्बल देखाउन अन्य उम्मेदवारका समर्थकलाई निषेध गर्ने, प्रतिवाद गर्ने र अर्को पक्षको उम्मेदवारलाई होच्याउनेजस्ता कुनै गतिविधिहरु देखिएनन् ।

एक महाधिवेशन प्रतिनिधले भने, ‘कांग्रेसको सुन्दरता नै यही हो । हामी यही क्षेत्रमा पाँच सय उम्मेदवारका समर्थकहरु छौं । हरेक उम्मेदवारका कम्तीमा पनि २० जना समर्थकहरु विभिन्न समूह बनाएर मत मागिरहेका छौ ं। तर, हामीले कम्युनिस्टजस्तो अर्कोलाई होच्याउने र निषेध गर्ने गतिविधि गरेका छैनौं ।’

उनले भनेजस्तै कांग्रेसका उम्मेदवारहरुको प्रचारशैली भड्किलो देखिएको भए पनि कांग्रेसीहरु भने निकै संयमित र मर्यादित देखिन्थे । कांग्रेसले समितिले कसैको पनि व्यक्तिगत चरित्रमा लाञ्छना लाग्ने गरी प्रचार प्रसार गर्न नपाइने, मर्यादित, अनुशासित र संयमित भई शान्तिपूर्ण तरिकाले निर्वाचन प्रचार प्रसार गर्नुपर्ने आचारसंहिता नै जारी गरेको थियो । महाधिवेशनको प्रचारस्थल बनाइएको प्रदर्शनीमार्गमा पनि सहिष्णु र संयमित कांग्रेसीहरु देखिएका थिए ।

८१४ बुथबाट मतदानको तयारी
नेपाली कांग्रेसको जारी १४औँ महाधिवेशनमा सोमबार नयाँ केन्द्रीय कार्यसमिति सदस्यका लागि निर्वाचन हुँदै छ ।
शुक्रबार सुरु भएको महाधिवेशनमा सोमबार १३ पदाधिकारीसहित १३४ नयाँ कार्यसमिति सदस्य चयनका लागि निर्वाचन हुन लागेको हो । सोमबार बिहान ८ बजेबाट मतदान प्रक्रिया सुरु हुने कांग्रेस निर्वाचन समितिले जनाएको छ ।

समितिका अनुसार भृकुटीमण्डप ५१४ र राष्ट्रियसभा गृह र पुलिस क्लबमा ३०० बुथ निर्माण भइरहेको छ । ८१४ बुथबाट सोमबार ४७ सयभन्दा बढी प्रतिनिधिले कांग्रेसको नयाँ केन्द्रीय कार्यसमिति सदस्य चयनका लागि मतदान गर्ने छन् ।

प्रतिक्रिया