दोस्रो चरणको मतदानमा देउवाविरुद्ध एक हुन्छौं : निधि

काठमाडौं । कांग्रेस सभापतिका उम्मेदवार विमलेन्द्र निधिले जारी १४ औं महाधिवेशन अन्तर्गतको चुनावमा पहिलो चरणमा सभापतिका कुनै उम्मेदवारले जित्न नसक्ने दाबी गरेका छन् । निधिले भोलि हुने पार्टीको चुनावमा कसैले पनि जित्न नसक्ने दाबी गरेका हुन् । कांग्रेस महाधिवेशनस्थल भृकुटीमण्डपमा आइतबार पत्रकारहरुसँग कुरा गर्दै सभापतिका उम्मेदवार निधिले दोस्रो चरणको चुनावमा शेरबहादुर देउवाइतर समूहले जित्ने बताए ।

दोस्रो चरणको चुनावमा आफू, शेखर कोइराला र प्रकाशमान सिंह एकै ठाउँमा उभिएर नयाँ नेतृत्व चयन गर्ने बताए । नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेललाई सभापतिमा निर्बिरोध प्रस्ताब गरेको भए पार्टीको तल्लो तहमा नयाँ सन्देश जाने उनको भनाइ थियो । देउवाको नेतृत्वमा पौडेललाई अलग्याउने कोशिस भएको निधिले उल्लेख गरे ।

उनले सहमतिका लागि निर्वाचन कार्यक्रम एक दुई दिन स्थगित गरेर अझै पनि पौडेलको नाममा सहमति गर्न सकिने ठाउँ रहेको बताए । कांग्रेस महाधिवेशनपछि सरकारको नेतृत्व परिवर्तन हुने निधिले बताए । त्यतिबेला कांग्रेसभित्रबाट वा पाँच दलको कुनै नेता प्रधानमन्त्री हुने उनको भनाइ थियो ।

प्रतिक्रिया