एसी मिलान शीर्षस्थानमा उक्लियो

इटाली । इटालियन सिरी ‘ए’ मा एसी मिलान र इन्टर मिलानले सफलता हात पार्दा नेपोलीले हार बेहोरेको छ । घरेलु मैदानमा सालेरनीटानालाई २–० ले पराजित गर्दै मिलान शीर्षस्थानमा उक्लिएको छ । मिलानको जितमा फ्रान्क केस्सी र एलेक्सिस साइलमेकर्सले गोल गरे । दुवै गोल पहिलो हाफमा १४ मिनेटको अन्तरमा भएको थियो । मिलानोमा शनिबार राति भएको खेलको पाँचौ मिनेटमा फ्रान्क केस्सीको गोलबाट घरेलु टोलीले अग्रता लिएको थियो । १८औं मिनेटमा एलेक्सिसले ब्राहिम डियाजको पासमा गोल गर्दै मिलानको अग्रता दोब्बर पारे । त्यसपछि मिलानले आफ्नो अग्रतालाई जोगाउँदै जित निकाल्न सफल भयो । सालेरनीटानाले मिलानको पोस्टमा खासै आक्रमण बुन्न सकेन ।

जितसँगै शीर्षस्थानमा उक्लिएको मिलानको १६ खेलबाट ३८ अंक पुगेको छ । पराजित सालेरनीटाना ८ अंक जोडेर पुछारमा रहेको छ । अर्काे खेलमा इन्टर मिलानले रोमालाई उसकै मैदानमा ३–० ले पराजित गरेको छ । इन्टरको जितमा हकान चलहानोग्लु, इडेन जेको र डेन्जल डमफ्रेजले गोल गरे । सबै तीन गोल पहिलो हाफमा भएको थियो । यो जितसँगै इन्टर मिलान १६ खेलबाट ३७ अंक जोडेर दोस्रो स्थानमा यथावत रहेको छ । पराजित रोमा २५ अंक जोडेर पाँचौ स्थानमा रहेको छ । यस्तै अर्काे खेलमा नेपोलीले घरेलु मैदानमा एटलान्टासँग ३–२ को हार बेहोरेको छ । एटलान्टाको जितमा रुस्लान मालिनोभ्स्की, मेरिह डेमिरल र रेमो फ्रिउलेरले गोल गरे । नेपोलीका पिओटर जिलेन्स्की र ड्रिएस मेर्टिन्सले गोल गरे । यो हारसँगै नेपोली तेस्रो स्थानमा झरेको छ । नेपोली मिलान र इन्टर मिलानसँग पछि परेको हो । नेपोलीलाई हराएको एटलान्टा ३४ंक जोड्दै शीर्ष चारमा रहेको छ ।

प्रतिक्रिया