खेल-खेलाडी

लक्ष्मण र हुमी च्याम्पियन

सौर्य अनलाइन २०७८ मंसिर १९ गते ८:४८ मा प्रकाशित

रसुवा । लक्ष्मण मल्ल र हुमी बुढामगरले पहिलो संस्करणको हाइ अल्टिच्युड रसुवा माउन्टेन बाईक च्यालेन्जको उपाधि जितेका छन् ।
शनिबार रसुवाको कालिकास्थानमा भएको ३१ किलोमिटरको दौड मल्लले १ घण्टा २९ मिनेट १९ सेकेन्डमा पार गर्दै विजेता बनेका हुन् । पुरुष स्पर्धामा सुरज राना मगर दोस्रो र प्रकाश थापा मगर तेस्रो भए । सुरजले १ घण्टा २९ मिनेट ४२ सेकेन्ड र प्रकाशले १ घण्टा २९ मिनेट ५७ सेकेन्डमा निर्धारित दुरी पार गरे । हिक्मत बिके चौथो, अच्युत कृष्ण खरेल पाँचौ, प्रचित थापा मगर छैटौं, किरण राई सातौं, मानबहादुर तामाङ आठौं, बिनोद सापकोटा नवौं र मिलन श्रेष्ठ दशौं स्थानमा आए ।

महिलातर्फ विजेता बनेकी हुमीले १३औं सागकी स्वर्णपदक विजेता लक्ष्मी मगरलाई २ सेकेन्डले पछि पार्दै उपाधि जितिन् । हुमीले निर्धारित दुरी १ घण्टा ५३ मिनेट १३ सेकेन्डमा पार गरिन् । दोस्रो भएकी लक्ष्मीले १ घण्टा ५३ मिनेट १५ सेकेन्डमा पुरा गरिन् । तेस्रो बनेकी इन्द्रकला नेम्वाङले २ घण्टा २ मिनेट ४८ सेकेन्डमा निर्धारित दुरी पुरा गरिन् । सोही स्पर्धामा उषा खनाल चौथों, इन्द्रकुमारी तामाङ पाँचौं, बिदिशा चौधरी छैटौं र सकुन्तला बुढा मगर सातौं भईन् ।

पुरुष तथा महिला स्पर्धामा च्याम्पियन बनेका खेलाडीले समान ४० हजार रुपैयाँ हात पारेका छन् । दोस्रो भएकाले २० हजार, तेस्रोले १५ हजार, चौथोले ७ हजार, पाँचौंले ६ हजार, छैटौंले ५ हजार, सातौंले ४ हजार, आठौंले ३ हजार, नवौंले २ हजार र दशौं स्थान हात पार्ने खेलाडीले १ हजार रुपैयाँ नगद प्राप्त गरे । प्रतियोगिताको मास्टर्स विधामा हर्क लामा विजेता बने । उनले निर्धारित दुरी १ घण्टा ४५ मिनेट २४ सेकेन्डमा पार गरे । दोस्रो बनेका नयन मानन्धरले १ घण्टा ४९ मिनेट ५६ सेकेन्डमा दुरी पुरा गरे । पेम्बा शेर्पाले २ घण्टा ५ मिनेट १८ सेकेन्डमा दुरी पार गर्दै तेस्रो बने ।

जुनियर स्पर्धाको विजेता किरण लिम्बु बने । उनले १ घण्टा ३८ मिनेट ३८ सेकेन्डमा दुरी पार गरे । आशिष तामाङ १ घण्टा ४६ मिनेट २१ सेकेन्डमा दुरी पार गर्दै दोस्रो बने । तेस्रो बनेका राहुल वाइबाले १ घण्टा ५० मिनेट ०२ सेकेन्डमा दुरी पार गरेका थिए । मास्टर्स र जुनियर विधाका विजेताले मेडलसहित १५ हजार, दोस्रोले १० हजार र तेस्रोले ७ हजार रुपैयाँ प्राप्त गरे ।

१६ सय मिटर उचाईको कालिकास्थानबाट सुरु भएको दौड घुम्तिबजार, लामाटोल, गुम्बाडाडाँ, स्याउबारी हुँदै २३ सय मिटर उचाईको लोकिल पुगेर आलुखर्क, गोर्मु, सस्र्युङ, किमाजोङ, खाल्चेट, जिवजिबे हुँदै कालिकास्थानमै आएर टुङ्गिएको थियो । प्रतियोगितालाई प्रदेश खेलकुद परिषद् बागमती प्रदेश र नेपाल साइक्लिङ संघले संयुक्त रुपमा आयोजना गरेका हुन् । प्रतियोगितामा जिल्ला साइक्लिङ संघ रसुवा र जिल्ला खेलकुद विकास समिति रसुवाले समन्वयको भुमिका निर्वाह गरेका थिए ।

बागमती प्रदेशलाई खेलकुदमार्फत पर्यटनसँग जोड्ने उद्धेश्यले प्रदेश खेलकुद परिषद् बागमती प्रदेशले हाई अल्टिच्युड प्रतियोगिता सञ्चालन गर्दै आएको छ । यसअघि प्रदेश खेलकुद परिषद् बागमती प्रदेशले दोलखामा राष्ट्रिय रिङ रेस्लिङ र सिन्धुपाल्चोकमा पाँचपोखरी अल्ट्रा ट्रेल हाफ म्याराथन प्रतियोगिता संयुक्त रुपमा आयोजना गरेको थियो ।

पूर्व खेलकुद मन्त्री हितबहादुर तामाङले विजेता खेलाडीलाई मेडल र नगद सहित पुरस्कृत गरेका थिए । जिल्ला खेलकुद विकास समिति रसुवाका अध्यक्ष दावा तामाङले अर्को वर्ष जिल्लामा साइक्लिङको अन्तराष्ट्रिय प्रतियोगिता आयोजना गरिने जानकारी दिए । प्रदेश खेलकुद परिषद् बागमती प्रदेशका सदस्य सचिव सुर्यलाल भण्डारीले खेलकुदसँगै प्रदेशको पर्यटनलाई प्रबद्र्धन गर्न हाई अल्टिच्युड प्रतियोगितालाई निरन्तरता दिईने बताए ।’

प्रतिक्रिया

पछिल्ला अपडेट्स

लोकप्रिय