मनाङ हारबाट जोगियो

काठमाडौं । इन्ज्युरी समयमा फ्रान्कलिन कोटेटालाले दर्शनीय गोल गरेपछि उपाधि दावेदार नेपाल आयल निगम मनाङ मस्याङ्दी क्लब हारबाट जोगिएको छ । खेलमा दुईपटक पछि परेपनि मनाङले संकटा क्लबसँग २–२ गोलको बराबरी खेल्दै हारबाट जोगिएको हो । त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा शनिबार भएको खेलमा संकटाका निरज बस्नेत र उत्तम राईले गोल गरे । मनाङका दयानन्द सिंह र फ्रान्कलिन कोटे टालाले गोल फर्काए । प्रतिस्पर्धात्मक खेलको २४औं मिनेटमा दिनेश राजवंशीको फ्रिकिक पोष्ट माथिबाट बाहिरिदाँ मनाङ अग्रता लिनबाट चुक्यो । २६औँ मिनेटमा दयानन्द सिंहको क्रसमा अफिज ओलावालेको प्रहार संकटाका डिफेन्डरले क्लियर गरिदिए । ३०औं मिनेटमा संकटाका गोलकिपर राजाबाबु थापा विट भइसकेको अवस्थामा मनाङ कप्तान अन्जन विष्टको प्रहारलाई निरज बस्नेतले गोललाइनबाट क्लियर गर्दा मनाङ अग्रता लिनबाट चुक्यो । लगत्तै ३१औं मिनेटमा निरज बस्नेतको गोलबाट संकटाले अग्रता लिन सफल भयो ।
३१औं मिनेटमा लक्ष्मण रुचालको फ्रिकिकमा निरजले हेडरमार्फत बललाई पोष्टको दिशा दिएका थिए । तर, संकटाको त्यो अग्रता लामो समय टिकेन । ३५औं मिनेटमा मनाङका लागि दयानन्द सिंहले बराबरी गोल फर्काए । पुजन उपरकोटीको फ्रिकिकमा ओलावालेको हेडर पासलाई दयानन्दले पनि हेडरमार्फत गोल गर्न सफल भएका थिए ।

३८औँ मिनेटमा मनाङका पुजनको फ्रिकिक प्रहार किपरले पन्च गर्दै बचाए । ५०औं मिनेटमा संकटाका टम्पी अर्नेष्टको प्रहार फितलो बन्यो । ६१औं मिनेटमा ओलावाले आफिजको प्रहार गोलरक्षक राजाबाबु थापा बिट भइसकेको अवस्थमा दोस्रो बारतर्फबाट बाहिरिदा मनाङले अग्रता लिन सकेन । ७०औं मिनेटमा उत्तम राईले गोल गर्दै संकटालाई २–१ को अग्रता दिलाए । फोड फोफानाको क्रसमा अनमार्क रहेका उत्तमले सिक्स यार्ड बक्सभित्रबाट हेडरमार्फत सहज गोल गरेका थिए । ७५औं मिनेटमा प्रवेश कुँवरको पेनाल्टी बक्सबाहिरको प्रहारलाई संकटाका गोलरक्षक राजाबाबुले पञ्च गर्दै बचाउँदा मनाङ बराबरीबाट चुक्यो । इन्ज्युरी समयको थप गरिएको चौथो मिनेटमा फ्रान्कलिन कोटे टालाले पेनाल्टी बक्सबाहिरबाट भलीमार्फत दर्शनीय गोल गर्दै मनाङलाई हारबाट जोगाए ।

जारी लिगमा मनाङको यो पहिलो बराबरी हो । यसअघि मनाङले जावलाखेल र हिमालयन शेर्पालाई समान १–० ले पराजित गरेको थियो । यस्तै अपराजित संकटाले पहिलो खेलमा शेर्पासँग १–१ गोलको बराबरी खेल्दा दोस्रो खेलमा फ्रेन्ड्समाथि २–१ को पूनरागमन जित निकालेको थियो । संकटा र मनाङलाई दुई पोखरेली प्रशिक्षकले सम्हालिरहेका छन् । संकटामा विष्णु गुरुङ तथा मनाङमा राजेन्द्र तामाङ रहेका छन् । विष्णु संकटाका तथा राजेन्द्र मनाङका पुर्व खेलाडीसमेत हुन् । बराबरीसँगै अपराजित रहेको मनाङले शीर्षस्थानको सातदोबाटो युथ क्लबसँग अंक बराबरी गरेको छ । मनाङको ३ खेलबाट ७ अंक पुगेको छ । संकटाको ३ खेलबाट ५ अंक छ ।

प्रतिक्रिया