‘ए’ डिभिजन लिग : सातदोबाटोको सानदार जित

काठमाडौं । अजयी मार्टिनले ह्याट्रिकसँगै सातदोबाटो युथ क्लबले कतार एअरवेज सहिद स्मारक ए डिजिभन लिगमा आफ्नो विजय यात्रालाई जारी राखेको छ । अघिल्लो खेलमा थ्री स्टार क्लबलाई स्तब्ध पारेको सातदोबाटोले शुक्रबार विभागिय टोली नेपाल एपिएफ फुटबल क्लबलाई ४–१ को फराकिलो अन्तरले हराएको छ । जारी लिगमा यो सर्वाधिक गोल भएको खेल हो । यो जितसँगै सातदोबाटो ७ अंकका साथ अंक तालिकाको शीर्षस्थानमा उक्लेको छ । एपिएफले भने लगातार तेस्रो खेलमा हार बेहोरेको छ । पहिलो हाफको अन्त्यतिर मार्टिनले सातदोबाटोका लागि २ गोल गरेका थिए ।

४२ औं मिनेटमा मार्टिन कप्तान मानबहादुर तामाङको फ्रिकिक प्रहारलाई पेनाल्टी बक्सबाट एपिएफका खेलाडीले बल क्लियरको प्रयास गरे । त्यहि रिबाउन्डमा प्राप्त बललाई सुदीप गुरुङले पास निकाले र त्यहि बलमा मार्टिनले पेनाल्टी बक्सबाट एपिएफका परिवर्तित गोलकिपर दिलकुमार लिम्बुलाई कुनै मौका नदिइ गोल गरेका थिए ।

मार्टिनले नै ६ मिनेट पहिलो हाफको इन्जुरी समयको अन्तिम मिनेटमा अर्को गोल थपेका थिए । पासाङ लामाले दिएको पासमा मार्टिनले प्रहार गरेको बललाई दिलकुमारले नियन्त्रणमा लिन सकेनन्, त्यहि बलमा मार्टिनले हेड गर्दै अग्रतालाई दोब्बर पारे । दोस्रो हाफको सुरुमै एपिएफले गोल गर्दै खेलमा फर्कने संकेत गरेको थियो । ४८ औं मिनेट आशिष लामाले दिएको बलमा विकी तामाङले बललाई पोष्टको दिशा दिएका थिए । त्यहि बल रोक्ने क्रममा विश्वास उदासको आत्मघाती गोल हुन पुगेको थियो । त्यसको दुई मिनेट वित्न नपाउँदै शुसिल राईले गोल गर्दै सातदोबाटोलाई अग्रतालाई बढाए । एपिएफका तीन रक्षकलाई छक्काउँदै शुसिलले बललाई पोष्टको दिशा दिएका थिए ।

मार्टिनले ५८ औं मिनेटमा अर्को गोल गर्दै ह्याट्रिक पूरा गरेका थिए । सुदीप गुरुङको पासलाई किपरले पूर्ण रुपमा नियन्त्रणमा लिन नसकेपछि नजिक रहेका मार्टिनले सहजै गोल गरेका थिए । जारी लिगमा ह्याट्रिक गर्ने मार्टिन पहिलो खेलाडी बनेका छन् । त्यसअघि ५५ औं मिनेटमा मार्टिनले वान भर्सेन वानमा प्रहार गरेको बललाई दिलकुमारले रोकेका थिए ।

१९ औं मिनेटमा एपिएफका पहिलो रोजाईका गोलकिपर अमृत चौधरी घाइते हुनु एपिएफका लागि महंगो सावित भयो । खुट्टामा चोट लागेपछि उनको ठाँउमा दिलकुमारले पोष्ट सम्हालेका थिए । अघिल्लो खेलमा थ्री स्टार क्लबलाई १–० ले नै स्तब्ध पारेको सातदोबाटोले ३९ औं मिनेटमा गोलको राम्रो अवसर पाएको थियो । दुई पटकको प्रहारलाई एपिएफका गोलकिपर दिलकुमारले सफल हुन दिदएनन् । पाँचौं मिनेटमा आभाष लामिछानेले प्राप्त मौका सदुपयोग गर्न नसक्दा एपिएफ अग्रता लिनबाट चुक्यो । २४ औं मिनेटमा सातदोबाटोका मानबहादुरको प्रहार पोष्ट माथिबाट बाहिरियो । सातदोबाटो अघिल्लो दुई खेलमा अपराजित रहेको थियो । पहिलो खेलमा फ्रेन्ड्ससँग बराबरी खेलेको सातदोबाटोले दोस्रो खेलमा थ्री स्टारलाई स्तब्ध पारेको थियो । ब्रिगेड ब्वाइज क्लबसँग पहिलो खेलमा ३–२ को हार बेहोरेको एपिएफले दोस्रो खेल च्यासलसँग १–० ले गुमाएको थियो ।

प्रतिक्रिया