लिगका नौं चरणका खेलतालिका सार्वजनिक हुँदै

काठमाडौं । कतार एअरवेज सहिद स्मारक ए डिभिजन लिगको नौं चरण सम्मको खेल तालिका सोमबार सार्वजनिक हुने भएको छ । दशरथ रंगशालासहित ४ वटा मैदानमा खेलाउने योजनाका साथ लिग सुरु गरेको एन्फाले केहि प्राविधिक कठिनाईका कारण खेल तालिका सार्वजनिक नगरेको लिग कमिटीका निर्देशक सञ्जिव मिश्रले जानकारी दिए ।

‘९ राउन्ड सम्म कुन कुन क्लबीच प्रतिस्पर्धा हुन्छ भन्ने यसअघि नै तय भइसकेको छ । सबै क्लबलाई त्यस बारेमा जानकारी दिइसकेका छौं, उनले भने,‘खाली मिती र मैदानका कारण हामीले सार्वजनिक नगरेका हौं । मैदान पछि तय गर्ने गरि भएपनि सोमबार सम्म ९ राउन्ड सम्मको खेल तालिका सार्वजनिक गर्ने गरि तयारी गरिरहेका छौं ।

दशरथ रंगशाला, एन्फा कम्प्लेक्सको क्रितिम मैदान, च्यासल मैदानसहित एन्फाले मनाङ मस्र्याङ्दी क्लबको प्रस्तावमा केहि खेल पोखरा रंगशालामा खेलाउने योजना सार्वजनिक गरेको थियो । च्यासल मैदानको हकमा अहिले सम्म पनि राष्ट्रिय खेलकुद परिषद् (राखेप) लाई नै हस्तान्तरण नभएकोले तत्काल खेलाउने सम्भावना कम रहेको मिश्रले बताए ।

दशरथ रंगशालामा अघिल्लो लिगको दाँजोमा दर्शकको उपस्थिति उल्लेख भएकोले बढी खेल त्यहि मैदानमा खेलाउने विषयमा पनि एन्फाले छलफल अघि बढाइरहेको मिश्रले बताए । यद्दपी केहि खेल भने एन्फा मैदानमा गर्नैपर्ने उनको तर्क छ । पोखरामा लिग खेलाउने सवालमा भने मनाङको प्रस्तावलाई अन्य क्लबले स्वीकार गरेको अवस्थामा मात्र हुने मिश्रले प्रष्ट पारे । ‘ नौं चरण भित्र मनाङले खेल्नुपर्ने क्लबहरु खेल्न तयार भएको लिखित सहमति पत्र प्राप्त भएको अवस्थामा मात्र पोखरामा केहि खेल हुनेछन्,’ मिश्रले भने ।

माघ १० गते देखि १८ गते सम्म फिफा डेटमा दशरथ रंगशालामा अन्तर्राष्ट्रिय मैत्रीपूर्ण खेल हुने सम्भावना रहेको छ । यदि मैत्रीपूर्ण खेल हुने भएको अवस्थामा केहि समय मैदान मर्मतका लागि पनि दिनुपर्ने हुँदा लिगका केहि खेल सातदोबाटोस्थित एन्फा मैदानमा गरिने मिश्रले प्रष्ट पारे ।

अखिल नेपाल फुटबल संघ (एन्फा) ले पहिलो चरणको खेल तालिका सार्वजनिक गर्दै मंसिर ३ गते लिग सुरु गरेको थियो । दोस्रो चरणका ३ खेल बाँकी छ । जसअनुसार आइतबार जावलाखेल युथ क्लब र नेपाल पुलिस क्लबबीच प्रतिस्पर्धा हुँदैछ । त्यस्तै ब्रिगेड ब्वाइज क्लब र न्यूरोड टिम एनआरटी तथा त्रिभुवन आर्मी फुटबल क्लब र साविक विजेता मछिन्द्र क्लबबीच सोमबार प्रतिस्पर्धा भएसँगै दोस्रो चरणको खेल सकिनेछ । एन्फाले पहिलो पटक विकेन्ड लिगको अवधारण अनुसार शुक्रबारदेखि सोमबार सम्म खेल गराउँदै आएको छ । शुक्रबार र शनिबार समान २ , आइतबार १ र सोमबार फेरि २ खेलका आधारमा एन्फाले पहिलो दुई चरणको खेल सार्वजनिक गरेको थियो ।

प्रतिक्रिया