कुवेतमाथि नेपालको सहज जित

काठमाडौं । आइसिसी वुमन्स टि२० विश्वकप एसिया क्षेत्र छनोटमा नेपालले तेस्रो खेलमा कुवेतलाई ९ विकेटले पराजित गरेको छ । जितको लागि २८ रनको सामान्य विजयी लक्ष्य नेपालले ३.३ ओभरमा १ विकेट गुमाउँदै पूरा गर्यो । नेपालको जितमा कप्तान रुविना क्षेत्री बेलबासे १० बलमा १ चौकासहित १२ रनमा अविजित रहिन् । इन्दु बर्मा ८ बलमा १ चौका सहित १३ रनमा अविजित रहिन् । ओपनर सीता राना मगर शून्यमा आउट भएकी थिइन् ।

त्यसअघि आइसिसी एकेडेमी दुबईमा टस जितेर पहिला ब्याटिङ थालेको कुवेत १५.४ ओभरमा २७ रनमा अल आउट भएको थियो । कुवेतकी ओपनर प्रियदा मुरलीले सर्वाधिक १० रन बनाईन् । अन्य कुनैपनि ब्याटरले दोहोरो अंकमा रन बनाउन सकेनन् । कुवेतका ७ खेलाडीले खाता खेल्न सकेनन् । तीव्र गतिकी बलर सरस्वती कुमारी चौधरीले दोस्रो ओभरको पहिलो बलमा जिफा जिलानीलाई शून्यमा कविता जोशीबाट क्याच गराएकी थिइन् । पाँचौं ओभरको पहिलो बलमा मुरली १० रनमा रन आउट भइन् । मुरली रन आउट हुँदा कुवेत १२–२ को अवस्थामा थियो । त्यसपछि कुवेतले निरन्तर विकेट गुमाउन पुग्यो ।

कप्तान अम्ना तारिकलाई स्पिनर करुणा भण्डारीले ७ रनमा कट एण्ड बोल्ड आउट गरिन् । करुणालेनै मरिवा जैस्वीलाई ५ रनमा कट एण्ड बोल्ड आउट गरेकी थिइन् । खाजिजा खलिल, सिओभान गोमेज र मरियम हैदरले खाता खोल्न सकेनन् । एक समय ९.५ ओभरमा २४–४ को अवस्थामा रहेको कुवेतले बाँकी ४ रन जोड्न ६ विकेट गुमाएको थियो ।

नेपालकी स्पिनर संगिता राईले २.४ ओभरमा २ मेडन सहित कुनै रन नदिई ३ विकेट लिइन् । स्पिनर करुणा भण्डारीले ३ ओभरमा ८ रन खर्चेर २ विकेट लिइन् । रुविना क्षेत्रीले ३ ओभरमा २ मेडन सहित १ रन खर्चेर २ विकेट लिइन् । सरस्वती कुमारीको नाममा १ विकेट रह्यो । नेपाल पहिलो खेलमा हङकङसँग ६ विकेटले पराजित भएको थियो । दोस्रो खेलमा भुटानलाई ८ विकेटले हराएको थियो । नेपाललाई अव शुक्रबार मलेसिया र आइतबार युएईसँग खेल्नेछ । शीर्ष स्थानमा रहेर अगामी वर्ष हुने टि२० ग्लोबल क्वालिफायर खेल्न नेपालले बाँकी दुबै खेलमा सानदार जित हात पार्नुपर्ने हुन्छ ।

नेपाल ३ खेलमा २ मा जित र १ मा हार सहित ४ अंकका साथ शीर्षस्थानमा छ । युएई २ खेलमा ४ अंकका साथ नेटरनरेटका आधारमा दोस्रो स्थानमा छ । मलेसिया, हङकङ र भुटान समान २ अंकका साथ तेस्रो, चौथो र पाँचौं स्थानमा छन् ।

प्रतिक्रिया