बाँसगढीको लगातार दोस्रो जित

काठमाडौं । अमिशा कार्कीले तेहोरो ह्याट्रिक पुरा गरेपछि बर्दियाको बाँसगढी नगरपालिकाले उपमेयर कप राष्ट्रिय महिला लिग छनोट प्रतियोगितामा लगातार दोस्रो जित दर्ता गरेको छ । सातदोबाटोस्थित एन्फा कम्प्लेक्सको खेल मैदानमा आइतबार भएको खेलमा बाँसगढीले पुतलीबजार नगरपालिका स्याङ्जालाई १८–० को भारी गोल अन्तरले पराजित गर्दै लगातार दोस्रो जित निकालेको हो । बाँसगढीको जितमा अमिशा कार्की एक्लैले ९ तथा रेनुका हमालले ५ गोल गरिन् । दुर्गा कुमारी चौधरीले दुई तथा सुस्मिता चौधरी र मनिका घर्ति मगरले समान एक गोल गरिन् । यसअघि बाँसगढीले पहिलो खेलमा भक्तपुर नगरपालिकालाई १२–० ले पराजित गरेको थियो ।

यस्तै झापाको शिवसताक्षी नगरपालिकाले देवचुली नगरपालिकालाई १–० ले पराजित गर्दै छनोटमा लगातार दोस्रो जित निकालेको छ । शिवसताक्षीको जितमा शर्मिला राईले निर्णायक गोल गरिन् । उनले खेलको ३०औं मिनेटमा गोल गरेकी थिइन् । शिवसताक्षीले यस अघि पहिलो खेलमा जानकी नगरपालिकालाई ४–० ले पराजित गरेको थियो । यस्तै अर्काे खेलमा काठमाठौं महानगरपालिका र रोङ गाँउपालिकाले गोलरहित बराबरी खेल्दै अंक बाँडेका छन् ।

प्रतिक्रिया