उपनिवेशकालीन भारतमा यौनांग परीक्षण नगर्दा जेल !

छिमेकी मुलुक भारत केही समय ब्रिटिसको उपनिवेश भयो । ब्रिटिसले भारतमा शासन मात्रै गरेन त्यहाँका महिलाको अस्मितामाथि समेत आफूखुसी नियम बनायो । कुन जात, वर्ग र समुदायका महिलाको गोपनीयतालाई कसरी परिभाषित गर्ने उसको मर्जीजस्तै थियो । उनीहरूले आफूले चाहेका वर्गका महिलालाई वेश्याको संज्ञा दिने र उनीहरूको यौनांग परीक्षण गराउनेजस्तो घृणित कार्यसमेत गरे ।

सन् १८६८ मा कलकत्ता (अहिलेको कोलकाता) सहरमा ब्रिटिस प्रहरीले सुखीमोनी रौर नाम गरेकी एक नगरवधूलाई चिकित्सकीय परीक्षण नगराएको अभियोगमा जेल पठाइदिएका थिए । त्यतिबेला पञ्जीकृत वेश्याहरूले आफ्नो यौनांग अनिवार्य रूपमा परीक्षण गराउनुपथ्र्यो । त्यो ब्रिटिस उपनिवेशको एक प्रकारले बर्बराताको पराकाष्ठा थियो । त्यतिबेला भारतमा ब्रिटिस उपनिवेश भएकाले शासन पनि उसैले चलाउथ्यो । के गर्न कसलाई आफ्नो नियन्त्रणमा लिने वा अपमान गर्ने उसका लागि सामान्यजस्तै थियो ।

यौन गतिविधिबाट फैलिने रोग रोकथाम गर्न ब्रिटिस शासनकालमा संक्रामक रोगसम्बन्धी एउटा कानुन बनेको थियो । त्यसअन्तर्गत यौनकर्मीले प्रहरीचौकीमा आफ्नो नाम पञ्जीकरण गराई स्वास्थ्य परीक्षण गराउनुपथ्र्यो । यसमा उनीहरूलाई लागेको मर्जी चल्थ्यो । महिलाहरूको कुनै अस्तित्व थिएन ।

सुकीमोनी रौरले पक्राउ परेपछि आफूलाई अन्याय परेकाले आफ्नो रिहाइ माग गर्दै अदालतमा निवेदन दिइन् । ‘मैले महिनामा दुईपटक हुने परीक्षण गराइनँ । किनभने म वेश्या होइन,’ उनले आफ्नो निवेदनमा उल्लेख गरिन् । सुखीमोनीका अनुसार प्रहरीले त्रुटिवश उनलाई वेश्याको सूचीमा राखेको थियो । त्यो सानो त्रृटीले उनको समाजिक रूपमा गुमेको प्रतिष्ठा र मानसिकरूपमा भोगेको पीडाको कसैले वास्ता गरेन ।

सन् १८६९ मार्चमा कलकत्ता उच्च अदालतले उनको पक्षमा निर्णय सुनायो । अदालतले सुखीमोनी पञ्जीकृत वेश्या नभएको र कसैलाई वेश्याका रूपमा पञ्जीकरण गर्न बाध्य बनाउनु नहुने ठहर गर्यो । पञ्जीकरण स्वेच्छापूर्वक हुनुपर्ने उसको आदेश थियो । उनको पक्षमा भएको फैसलाले उनलाई र उनीजस्ता धेरै महिलाका लागि राहत मिल्यो ।

हार्भर्ड युनिभर्सिटीमा लिंग, महिला र यौनिकता विषय प्राध्यापन गर्ने दरबा मित्राले ब्रिटिस शासनकालका अभिलेखहरूको अध्ययन गरेकी छन् । उनका अनुसार त्यतिबेला हजारौँ महिलालाई यौनांग परीक्षण नगराएको आरोपमा पक्राउ गरिएको थियो । प्राध्यापक मित्राको नयाँ पुस्तक ‘इन्डियन सेक्स लाइफ’ प्रिन्सटन युनिभर्सिटी प्रेसले प्रकाशित गरेको छ । त्यसले उनले त्यति बेला महिलाले भोगेका नारकीय जीवनका बारेमा उल्लेख गरेकी छन् ।

मित्राका अनुसार ब्रिटिस शासनकालमा ब्रिटिस अधिकारी र भारतीय बुद्धिजीवीहरूले भारतमा आधुनिक समाजलाई नियन्त्रण गर्न महिलाको कामुकता नियन्त्रण गर्नुपर्ने विचार व्यक्त गरेका थिए । महिलालाई यौनकर्मीका रूपमा पञ्जीकरण र आफ्नो यौनांगकोे चिकित्सकीय परीक्षण गर्न लगाउनु कामुकता नियन्त्रण गर्ने एउटा उपाय थियो । त्यो त्यहाँका महिला माथि गरिएको ठूलो अपमान थियो । त्यसलाई न ब्रिटिस अधिकारीले सोच्यो न भारतका बुद्धिजीवी भन्नेहरूले ।

सन् १८६९ को जुलाईमा कलकत्ताका केही यौनकर्मीले पञ्जीकरण र यौनांग परीक्षणविरुद्ध निवेदन दर्ता गरेर त्यस्तो प्रावधान नारीत्वको उल्लंघन भएको दाबी उनीहरूले गरेका थिए । चिकित्सक र अन्य कर्मचारीका अगाडि नग्न हुनुपर्ने परीक्षणको उनीहरूले विरोध गरे । तर अधिकारीहरूले सुनुवाइ गरेनन्, बरु निवेदन नै खारेज गरिदिए । उनीहरू महिलाका कुनै पनि कुरा सुन्ने र उनीहरूको अस्मिताको ख्याल गर्ने सोचमा देखिएनन् ।

कलकत्ताको एउटा अस्पतालका प्रमुख रहेका डा. रोबर्ट पेनले यौनकर्मीलाई नियमन गर्न लगभग असम्भव भएको तर्क गरेका थिए । इच्छाविपरीत भए पनि उनीहरूलाई पञ्जीकरण गर्नुपर्ने उनको भनाइ थियो । यसले पनि उति बेलाका बौद्धिक भनिनेहरूको मानसिकता कस्तो थियो भन्ने देखाउँछ ।

डा. मित्राका अनुसार सन् १८७० देखि १८८८ को अवधिमा प्रतिदिन औसत १२ महिलालाई कानुन उल्लंघन गरेको आरोपमा पक्राउ गरिन्थ्यो । प्रहरीले निगरानी गरेको थाहा पाएपछि धेरै महिलाहरू सहर छोडेर अन्यत्र जान थालेको अधिकारीहरूलाई थाहा थियो । उनीहरू आफ्नो अस्मितामाथि उठाइने प्रश्न र इच्छ विपरीत गरिने परीक्षणबाट भाग्न बाध्य थिए ।

बंगालको प्रहरीले गर्भपतन गराएको आशंका भएका महिलाको यौनांग परीक्षण गराउने विषयमा संघीय सरकारमा छलफल पनि भएको थियो । एक अधिकारीले अनिवार्य यौनांग परीक्षण नगरी बलात्कारको मिथ्या मुद्दा र गर्भपतन बढ्ने तर्क गरेका थिए । यस्तै अर्का एक जनाले परीक्षणका लागि महिलाको सहमति लिँदा न्यायिक प्रशासन कमजोर हुने आशंका व्यक्त गरेका थिए । उनीहरू जबर्जस्त परीक्षण गराउन चाहान्थें भन्ने यसले पनि प्रष्ट्याउँछ ।

बंगालका एक वरिष्ठ अधिकारीलाई पठाएको पत्रमा प्रहरी आयुक्त स्टुअर्ट हगले कानुनको सीमाका कारण महिलाहरूले पुरुषलाई संक्रमण सार्ने क्रम चलिरहेको उल्लेख गरेका थिए । तर भारत र ब्रिटेनमा निरन्तर भइरहेको विरोधका कारण उक्त आपत्तिजनक कानुन सन् १८८८ मा फिर्ता भयो ।

‘गभर्निङ जेन्डर एन्ड सेक्सुुएलिटी इन कलोनीअल इन्डिया’ नामक पुस्तककी लेखिका तथा इतिहासकार जेसिका हिन्चीका अनुसार यौनांगको परीक्षण सन्दिग्ध यौनकर्मीमा मात्र सीमित थिएन । उनका अनुसार सन् १८७१ मा पारित एउटा विवादास्पद कानुनअन्तर्गत किन्नर समुदायमा पनि त्यस्तो परीक्षण गरिन्थ्यो । उक्त कानुनले केही जातीय समुदायलाई परम्परागत रूपमै अपराधी मानिन्थ्यो ।

डा. हिन्चीले भनिन्, ‘यो कानुनको उद्देश्य किन्नरहरूलाई अनिवार्य प्रहरीसमक्ष पञ्जीकरण गराउन, नाचगान गर्न नदिन र महिलाको वस्त्र लगाउन रोक्न अनि हिँजडा परिवारबाट बलपूर्वक बच्चा लैजान, किन्नर गुरुशिष्य परम्परा रोक्न र विभिन्न उपायबाट बिस्तारै हिँजडा परम्परा समाप्त पार्नु थियो ।’

संक्रामक रोगको उक्त कानुनलाई भारतीय औपनिवेशिक इतिहासमा एउटा नराम्रो अध्याय मानिन्छ । औपनिवेशिक अधिकारीहरूका अनुसार सबै भारतीय महिलालाई कुनै न कुनै रूपमा सम्भावित यौनकर्मी मान्न सकिन्थ्यो । उनीहरू महिलालाई यति धेरै तल्लो स्तरबाट हेर्दथें ।
एक शीर्षस्थ अधिकारी एजी हाइल्सको तर्क थियो, ‘अविवाहित सबै महिला जो उच्च जातका हैनन्, तिनलाई यौनकर्मी मान्न सकिन्छ ।’ उनको भनाइअनुसार समाजले तल्ला जात भनेर वर्गीकरण गरेका महिलाप्रति अपमान गरिन्थ्यो । उनीहरूका नजरमा तल्लो जातका सबै यौनकर्मी थिए । शीर्ष भनिने अधिकारीहरूको सोच कति निच थियो !

प्रा. मित्राका अनुसार औपनिवेशिक भारतमा हिन्दू वर्णव्यवस्थामा उच्च जातकाबाहेक सबै महिलालाई यौनकर्मी मानिन्थ्यो । तिनमा नर्तकी, विधवा, बहुविवाह गरेका हिन्दू तथा मुस्लिम महिला, घुमन्ते महिला, फ्याक्ट्रीमा काम गर्ने महिलाहरू पनि पर्थे । सन् १८८१ मा बंगालमा गरिएको जनगणनामा १५ वर्षमाथिका अविवाहित महिलालाई यौनकर्मी मानिएको थियो । कलकत्तामा गरिएको पहिलो जनगणनामा महिलाको कुल संख्या १४ हजार ५ सय थियो । तीमध्ये १२ हजार २ सय २८ लाई यौनकर्मी मानिएको थियो ।

सन् १८९१ को जनगणनमा यौनकर्मीहरूको संख्या २० हजार थियो । प्रा. मित्राले भनिन, ‘यो कानुन भएपछि एउटा महत्वपूर्ण परिवर्तन भयो । त्यसमा भारतीय नागरिकको यौन व्यवहार ब्रिटिस औपनिवेशिक राज्यको रुचिको केन्द्र बन्यो ।’ तर पुरुषहरूको यौन व्यवहारमा भने राज्यसत्ताको दृष्टि परेन । मित्राले भनिन, ‘महिलाको कामुकता नियन्त्रण र उन्मूलन भारतीयहरूको दैनिक जीवनमा हस्तक्षेप गर्न ब्रिटिस शासकका लागि महत्वपूर्ण भयो ।’ यसले प्रष्ट पार्छ महिलाले भोगेका ती दुःखद् अवस्थामा भारतीय मुकदर्शक जस्तै थिए । (बिबिसी)

प्रतिक्रिया