टि२० विश्वकप : नामिबिया सुपर १२ मा

लण्डन । नामिबियाले टेस्ट टोली आयरल्यान्डलाई ८ विकेटले हराउँदै आइसिसी टि२० विश्वकप २०२१ को सुपर १२ मा स्थान पक्का गराएको छ । डेब्यू टि२० विश्वकप खेलेको नामिबियाले सानदार प्रदर्शनका साथ सुपर १२ मा स्थान पक्का गरेको हो । जितको लागि १ सय २६ रनको सामान्य विजयी लक्ष्य पछ्याएको नामिबियाले १८.३ ओभरमा २ विकेट गुमाउँदै पूरा गर्यो । नामिबिया जितमा कप्तान गेरहार्ड इरास्मस ४९ बलमा ३ चौका र १ छक्का सहित सर्वाधिक ५३ रनमा अविजित रहे । डेविड विसे १४ बलमा १ चौका र २ छक्का सहित २८ रनमा अविजित रहे । ओपनर क्रेग विलियम्स १६ बलमा ३ चौका सहित १५ रनमा क्याच आउट भएका थिए । आयरल्यान्डका कर्टिस क्याम्फरले ३ ओभरमा १४ रन खर्चेर २ विकेट लिए ।

त्यसअघि शारजाह क्रिकेट मैदानमा टस जितेर पहिला ब्याटिङ रोजेको आयरल्यान्डले निर्धारित २० ओभरमा ८ विकेट गुमाउँदै १ सय २५ रन बनाएको थियो । आयरल्यान्डका ओपनर पाउल स्टर्लिङले २४ बलमा ५ चौका र १ छक्का सहित सर्वाधिक ३८ रन बनाए । केभिन ओ ब्रायनले २४ बलमा २ चौका सहित २५ रन बनाए । आयरल्यान्डलाई ओपनर स्टर्लिङ र केभिन ओ ब्रायनले ७.२ ओभरमा ६२ रनको साझेदारी गर्दै राम्रो सुरुवात दिलाएका थिए ।

स्टर्लिङ क्याच आउट भएसँगै आयरल्यान्डले एकपछि अर्को विकेट गुमाएपछि समस्तैमा समेटिएको थियो । कप्तान एन्डी बालबर्नी २८ बलमा २ चौका सहित २१ रन बनाए । ग्रेथ डेलानी ९, कर्टिस क्याम्फर ४, ह्यारी टेक्टर ८ र निल रक ५ रनमा आउट भए । नामिबिया जन फ्रिलिंकले ४ ओभरमा २१ रन खर्चेर ३ विकेट लिए । डेविड विसेले ४ ओभरमा २२ रन खर्चेर २ विकेट लिए ।

पहिलो चरणको समूह ए मा रहेको नामिबिया सुपर १२ को समूह बी मा रहनेछ । श्रीलंका २ खेलमा २ मानै जितका साथ शीर्षस्थानमा छ । श्रीलंकाले आज अन्तिम खेलमा नेदरल्यान्ड्ससँग खेल्दैछ । उक्त खेलमा विजयी भएमा श्रीलंका ६ अंकका साथ शीर्षस्थानमा रहनेछ । पराजित भएमा पनि श्रीलंका शीर्षस्थानमै रहने समिकरण छ । श्रीलंका नेटरनरेट प्लस ३.१६५ छ । नामिबिया ३ खेलमा २ मा जित र १ मा हार सहित दोस्रो स्थानमा छ । नामिबिया नेटरनरेट माइस ०.५२३ मा छ । जसले गर्दा श्रीलंका समूह विजेता र नामिबिया उपविजेता हुन औपचारिकता मात्र बाँकी छ ।

नामिबियाले सुपर १२ को समूह बी मा भारत, पाकिस्तान, न्युजिल्यान्ड, अफगानिस्तान र पहिलो चरणको समूह बी को विजेता स्कटल्यान्डसँग प्रतिस्पर्धा गर्नेछ । सुपर १२ को समूह ए मा अष्ट्रेलिया, इंग्ल्यान्ड, दक्षिण अफ्रिका, वेस्टइन्डिज, समूह बी को उपविजेता बंगलादेश र समूह ए को विजेता श्रीलंका रहनेछन् । सुपर १२ का शीर्ष दुई दुई टोलीले सेमिफाइनलमा स्थान बनाउनेछन् ।

प्रतिक्रिया