खेल-खेलाडी

भारतले हात पार्याे साफ च्याम्पियनसिपकाे उपाधि

सौर्य अनलाइन २०७८ असोज ३० गते २२:४७ मा प्रकाशित

काठमाडौं । फाइनलमा नेपाललाई ३-० गोलको नतिजामा पराजित गर्दै भारत आठौं पटक साफ च्याम्पियनसिपको विजेता बनेको छ । शनिबार भएको १३औं संस्करणमा पहिलो पटक फाइनलमा पुगेको नेपालले पहिलो हाफमा भारतलाई गोल गर्नबाट रोकेको थियो ।

तर, दोस्रो हाफमा सम्हालिन नसक्दा नेपालले एक मिनेट नबित्दै दुई गोल खायो । ४९‍औं मिनेटमा भारतीय कप्तान सुनील क्षेत्रीले पहिलो गोल गरेका थिए । त्यसको एक मिनेट नबित्दै ५०औं मिनेटमा सुरेश वाङ्जामले अर्को गोल थप्दै भारतको अग्रता दोब्बर पारेका थिए । दोस्रो हाफमा लगातार गोलका लागि आक्रमण गरेको भारतका लागि तेस्रो गोल सहाल समादले इन्जुरी समयमा गरेका थिए ।

पहिलो हाफमा दुवै टोलीले गोलका लागि निरन्तर प्रयास गरे पनि स्पष्ट मौका भने सिर्जन गर्सन सफल भएका थिएनन् । दोस्रो हाफमा भने भारतीय आक्रमणसामु नेपाल सम्हालिन नसक्दा उपाधि नजिक पुगेर पनि च्याम्पियन बन्न सकेन ।

समूह चरणका दुई खेलमा पहेँलो कार्डको सामना गरेका मुख्य प्रशिक्षक अब्दुल्लाह अल्मुताइरी र फरवार्ड अञ्जन विष्ट भने स्ट्यान्डमा बसेर आजको खेल हेरेका थिए । नेपालमा आफ्नो सम्मान नभएका कारण रुष्ट देखिएका अब्दुल्लाहले आफ्नो नेतृत्वमा यो खेल नै अन्तिम हुने र नेपाल नफर्किने घोषणा गरिसकेका छन् ।

प्रतियोगिताको सदाबहार दाबेदार मानिए पनि अन्डर डग्स रहेको नेपाल १३औं संस्करणमा पहिलो पटक फाइनल पुगेको थियो । पहिलो पटक नेपालको प्रशिक्षकको रूपमा सार्वजनिक हुँदै अब्दुल्लाहले नेपाललाई फाइनल पुर्याउने आफ्नो प्रमुख लक्ष्य रहेको बताएका थिए ।

र, उनले अन्तत: त्यो वाचा पूरा गरेर नेपाली टोलीको नेतृत्व छाड्ने निर्णय गरेका हुन् । अक्टोबर १ देखि सुरु भएको साफको पहिलो खेलमा माल्दिभ्सविरुद्ध १-० को सनसनीपूर्ण जित निकालेको नेपालले दोस्रो खेलमा श्रीलंकालाई ३-२ गोलको नतिजामा पराजित गरेको थियो ।

तेस्रो खेलमा भारतसँग १-० ले पराजित भए पनि अन्तिम खेलमा बंगलादेशसँग १-१ गोलको बराबरी खेल्दै नेपालले पहिलो पटक फाइनलमा पुगेको हो । नेपालले भारतलाई पछिल्लो ८ वर्षयता हराउन सकेको छैन ।

प्रतिक्रिया

पछिल्ला अपडेट्स

लोकप्रिय