परिवर्तन भनेकै यही हो ?

मोहनप्रसाद सापकोटा

विदूरनीति, चाणक्यनीति, शुक्रनीति आदिजस्ता शास्त्रीय नीति तथा साम्यवाद, समाजवाद, पुँजीवाद आदि जस्ता आधुनिक नीति, कुनै नीतिबाट पनि यहाँको राजनीति चलिरहेको छैन । राजनीति कस्तो हुन्छ ? त्यसलाई चलाउनेमा के कस्ता गुण हुनुपर्दछ ? आदि कुरा शास्त्र मान्नेले शास्त्रबाट र भौतिकवादमा विश्वास गर्नेले समृद्ध देशबाट सिक्न सकिन्छ । ती देशबाट पठाइएका जासुस र लखेटिएका तस्कर हाम्रा गुरु बनिरहेका छन् ।

तन्त्रले परिवर्तन हुँदैन । परिवर्तन तन्त्रका संवाहकले गर्ने कुरा हो । कुनै पनि तन्त्रमा गलत प्रवृत्ति दण्डित भएन भने त्यो असफल हुन्छ । क्रान्तिका बेलामा गलत काम गर्नेलाई मृत्युदण्ड दिने नगरिएको भए वा गलत कुरा दण्डित हुने पद्धति बसाइएको भए, चीनले अहिलेको प्रगति गर्न नै सक्दैनथ्यो । यहाँ हाम्रो सोच कति पतित भएको छ भनेर तुलना गर्न नै नसकिने भइसक्यो । राजनीति आफैँ उसले उसलाई र उसले उसलाई चोर, फटाहा आदि अनेक आरोप लगाउँदछ, हामी यिनैका पछाडि लागेर हिँडिरहेका छौँ र आफूलाई सज्जन बताइरहेका छौँ । कहिल्यै कोही दण्डित भएन ।

राजतन्त्र होस् वा गणतन्त्र सबै तन्त्रका विधि हुन्छन् । तन्त्र चलाउने व्यक्तिहरूले पालना गर्नुपर्ने आचार संहिता हुन्छ । जब चलिरहेको तन्त्रको विधिले समेट्न नसक्ने व्यक्तिहरूबाट तन्त्र चल्न थाल्दछ तब देश उल्टो गतिमा हिँड्दछ । देश र जनतालाई डाँकाहरूको हातबाट जोगाउनुको साटो भागेर जंगल छिर्ने राजा, विवाहिता श्रीमतीलाई बेवास्था गरी जहाँ गयो त्यहाँ स्वास्नी बटुल्दै र लागुपदार्थ सेवन गर्दे मन लागेको गरेर हिँड्ने राजकुमारबाट देश विकास र शान्तिको आश गर्नेहरू, तन्त्र विशेषको भलाइका लागि नै कुरा गरिरहेका छन् भनी सोच्नु नै मूर्खता हुन्छ । यही मूर्खता अन्य तन्त्र र त्यसका समर्थकहरूबाट पनि भइरहेको छ । यसैबाट बुझिन्छ कि यहाँ हरेक तन्त्रको सञ्चालन र नियन्त्रण तस्करहरूबाट भइरहेको छ ।

विदूरनीति, चाणक्यनीति, शुक्रनीति आदिजस्ता शास्त्रीय नीति तथा साम्यवाद, समाजवाद, पुँजीवाद आदि जस्ता आधुनिक नीति, कुनै नीतिबाट पनि यहाँको राजनीति चलिरहेको छैन । राजनीति कस्तो हुन्छ ? त्यसलाई चलाउनेमा के कस्ता गुण हुनुपर्दछ ? आदि कुरा शास्त्र मान्नेले शास्त्रबाट र भौतिकवादमा विश्वास गर्नेले समृद्ध देशबाट सिक्न सकिन्छ । ती देशबाट पठाइएका जासुस र लखेटिएका तस्कर हाम्रा गुरु बनिरहेका छन् ।

अरूले भन्दाबढी भाडा दिएर तथा घरभेटीलाई माया गरेर कोठामा भाडामा बस्ने व्यक्तिको आचरण वैयक्तिक स्वतन्त्रता हो भनिरहँदा पनि के उसले छिमेकीप्रति गर्ने गलत व्यवहारको असर घरभेटीलाई पर्दैन र ? एमसिसीलाई त्यसरी नै लिनुपर्ने हुन्छ । हामीलाई केही गर्नै पर्दैन छिमेकीलाई चलायो भने डँडेलो लाग्दछ र त्यसबाट करोडौँ व्यक्ति मर्न पुग्दछन् । त्यसको दोष डँडेलोबाट बाँचे पनि मरे पनि हामीमाथि नै लाग्दछ । विश्वभर डँँडेलो लगाउन खप्पिस संस्कारलाई अत्यन्त संवेदनशील यो क्षेत्रमा सल्कन नदिनु नै बुद्धिमानी हुनेछ ।

बाढी आएर आफ्ना जनता मरिरहँदा समेत बाँधको ढोका खोल्न समेत नपाइने गरी कोसीमा बाँध बनाउन लेराइएको सात सालको प्रजातन्त्र, पहिले पुलको बीचमा राखिएका दुई देशका झण्डा झिकेर फाली बाँधको सुरक्षाका लागि भन्दै एक किलोमिटर वरसम्म विदेशी सेना स्थायी रूपमा बस्दासम्म चुपचाप सहन बाध्य हुनेगरी महाकालीमा बाँध बाँध्ने बहुदलीय प्रजातन्त्र र आफूले गरेका गल्तीका कारण वीरेन्द्र वा मदनआश्रित वा सुशीलको जस्तै हालत हुन्छ कि भनी विवेक बेचेर विदेशीका अगाडि छुलछुली मुत्ने अनि आफ्नो क्षेत्रमा पछाडि फर्कंदै कुकुर भुकेजसरी भुक्दै आफ्नालाई तुजुक देखाउने वर्तमान गणतन्त्र उस्तै हुन् । जात, धर्म, संस्कार, लिंगसमेत नहुने तस्करलाई हामी यो वा त्यो सही वा गलत भनेर समर्थन र विरोध गरिरहेका छौँ । हामीलाई भेडा नभनेर कसलाई भन्ने ?

विकासवादीहरूलाई पनि सोचमा पुनर्विचार गर्न अनुरोध गर्दछु । के हामीले दानमा वा ऋणमा पाएका विकास हाम्रो भौगर्भिक अवस्थासँग मेल खाने गरी नै बनाइएका छन् त ? म गलत पो छु कि ? तर मेलम्ची आयोजना हेर्दा म यहाँका विकास आयोजना पनि प्रयोग र परीक्षणका लागि तस्करहरूले चलाइरहेका छन् भन्न वाध्य छु । दलीय वा तन्त्रगत सोचभन्दा माथि गएर सोच्न सिकौँ ।

एकताका प्रहरीले दिएको जानकारीअनुसार काठमाडौं उपत्यकामा मात्र ५० हजारभन्दा बढी विभिन्न खालका पाकेटमारहरू छन् । कुनै दिन तिनले संगठन बनाए, जुलुस निकाले, चुनाबमा उठे भने तिनलाई जिताउने कि नजिताउने ? हामीले चुनावलाई संकीर्ण मानसिकताको तराजुमा तौलन सिक्यौँ । कहिले विमलमान सिंह त कहिले नानीमैयाँ दाहाल हामीलाई प्रिय भए । जे गरे पनि पद्धति बसेन, बसाइएन । आखिर किन ?
संस्थाहरू वा कार्यालयहरूले आफू डुबेर भए पनि आफ्ना कर्मचारीलाई मोटो बनाउन सिके । महेन्द्रका पालादेखि छिरेका एनजिओ र आइएनजिओहरूले पैसा आफूले कमाए देशलाई द्वेष र वितृष्णा मात्र दिए । सात सालदेखिको कुनै पनि राजनीतिले पद्धति बसाउन चाहेन, सकेन, राजनीतिलाई पेसा बनाउन मात्र सिकायो ।

जनता विचराहरू, गाईजस्ता खान दिए पनि नदिए पनि, पिटे पनि बिहानबेलुकी दूध दिएजस्तै भोट दिने भएपछि कुनै पनि व्यवस्थाको कुनै पनि राजनीति सुध्रँदैन । अर्काको बालीनालीतिर पल्कने वा गौंडो चहार्ने गाईलाई समेत घाँडो भिराइन्छ । हाम्रा नेतालाई नियन्त्रण गर्ने तुरुन्तको उपाय के छ ? पाँच वर्षसम्म यिनले जे गरे पनि त्यो हामीले नै गरेको मान्नुपर्ने हो ? यदि तेसो हो भने पाँच वर्षसम्म यिनले जे गरे पनि विरोध किन गर्नू ? ‘हामीले गर्नु भनेकै जनताले गर्नु हो’ त यिनलै भनिरहेकै छन् । राजनीति फोहोर नहुँदो हो त यसरी झिँगा भन्किँदै भन्किँदैनथे ।

पद्धति बसेका देशमा राजनीतिसँग पनि नैतिकता हुन्छ । भर्खरै मात्र पनि एउटा देशका स्वास्थ्यमन्त्रीले कोभिड नियन्त्रण गर्न नसकेको भनी राजीनामा दिए । अर्काे देशकाले स्वास्थ्यका कारण राजीनामा दिए तर यहाँ हराइएका भातेहरू पनि डुक्रँदै र कुर्लंदै सदन वरिपरि मडारिने गर्दछन् । के यी डुकुलण्ठकलाई आजीवन पाल्ने ठेक्का हामी जनताले लिएका हौं ? कि परिवर्तन भनेकै यही हो ?

प्रतिक्रिया