मोदीद्वारा राष्ट्रपति बाइडेनलाई भारत भ्रमणको निम्तो

वासिङ्टन । भारतका प्रधानमन्त्री नरेन्द्र मोदीले अमेरिकाका राष्ट्रपति जो बाइडेनलाई भारत भ्रमणका लागि निमन्त्रणा गरेका छन् । अमेरिकी राष्ट्रपतिको कार्यालय ह्वाइट हाउसमा भएको भेटवार्ताका क्रममा प्रधानमन्त्री मोदीले बाइडेनलाई निमन्त्रणा गरेका हुन् ।

गत जनवरी २० मा राष्ट्रपतिको पद सम्हालेपछि उनिहरुका बीचमा पहिलो पटक भौतिकरुपमा भेटवार्ता भएको जनाइएको छ । संयुक्त राष्ट्रसंघको महासभामा सहभागी हुन अमेरिका आएका बेला उनिहरुका बीचमा भेटवार्ता भएको हो ।

प्रधानमन्त्री मोदीको प्रस्तावलाई राष्ट्रपति बाइडेनले सकारात्मकरुपमा लिएको भारतको विदेश मामिला मन्त्रालयद्वारा जारी वक्तव्यमा उल्लेख गरिएको छ । उनिहरुका बीचमा पूर्वनिर्धारित तालिका अनुसार नै भेटवार्ता भएको र भेटवार्ता उपलब्धीमुलक भएको मन्त्रालयले जनाएको छ ।

‘प्रधानमन्त्री मोदीले राष्ट्रपति बाइडेनलाई भारत भ्रमणको निमन्त्रणा दिनुभएको छ, त्यसलाई राष्ट्रपति बाइडेनले सकारात्मकरुपमा लिँदै धन्यवाद दिनुभएको छ,’ वक्तव्यमा लेखिएको छ ।

भारतीय विदेश सचिव हर्षवर्धन श्रीङ्गलाले भेटवार्तामा उनिहरुले साझा चासो, दुई पक्षीय हित, आपसी सहकार्य तथा सम्वन्धलाई अझ बलियो बनाउनेलगायतका विषयमा कुराकानी गर्ने भएको जानकारी दिए ।

प्रधानमन्त्री मोदी र राष्ट्रपति बाइडेनबीच कट्टरपन्थीलाई रोक्ने र आतङ्कवादसँग लड्ने उपायबारे छलफल भएको जनाइएको छ । उनिहरुबीच रक्षा, व्यापारिक सम्बन्ध, सुरक्षा सहयोग र स्वच्छ ऊर्जा साझेदारीलाई थप गर्ने बारेमा पनि छलफल भएको उनले बताए ।

प्रधानमन्त्री मोदी र बाइडेनबीच अफगानिस्तानको हालको घटनाक्रमपछिको वर्तमान र क्षेत्रीय सुरक्षा स्थिति बारे पनि छलफल भएको बताइएको छ । बुधवार अमेरिका आएका मोदीले क्वाड शिखर सम्मेलनमा भाग लिने र संयुक्त राष्ट्रसंघको महासभालाई सम्बोधन गर्ने कार्यक्रम रहेको छ ।

उनले न्यूयोर्कमा हुने संयुक्त राष्ट्रसंघको ७६औंँ महासभालाई शनिबार सम्वोधन गर्ने भ्रमण तालिका पनि रहेको छ । तीन दिने अमेरिका भ्रमणका क्रममा उनले अन्य देशका शिर्ष नेतासँग पनि भेटवार्ता गर्ने विदेश मन्त्रालयले जनाएको छ । प्रधानमन्त्री मोदीले सेप्टेम्बर २२–२५को अमेरिका भ्रमणको क्रममा व्यापारिक अन्तरक्रिया पनि गर्ने अधिकारीले जनाएका छन् ।

प्रतिक्रिया