बंगलादेशको टोलीमा नाइजेरियन फरवार्ड

ढाका । माल्दिभ्समा अर्को साता सुरु हुने साफ च्याम्पियनसिपका लागि बंगलादेशले आफ्नो प्रारम्भिक टोलीमा नाइजेरियन फरवार्ड एलेटा किंग्सलेलाई समावेश गरेको छ । सन् २०२१ जुनमा बंगलादेशी पासोपोर्ट प्राप्त गरेका उनले फिफाको स्वीकृति भने प्राप्त गर्न बाँकी छ । विगत एक दशकदेखि बंगलादेशको घरेलु फुटबलमा खेलिरहेका किंग्सलेले बंगलादेशको नागरिकता लिइसकेका छन् । सन् २०११ मा आराम्बागबाट खेल्दै बंगलादेश पसेका उनले सन् २०१२ मा नै बंगलादेशी नागरिकसँग विवाह गरेका थिए । त्यसयता निरन्तर बंगलादेशमा रहँदै आएका उनले बंगलादेशबाट खेल्ने इच्छा राख्दै आएका थिए । ८ वर्षको छोरी समेत रहेका उनले यसअघि नै अन्तर्राष्ट्रिय फुटबलमा बंगलादेशबाट खेल्ने इच्छा रहेको बताएका थिए ।

बंगलादेशले बुधबार पत्रकार सम्मेलनमार्फत २६ सदस्यीय प्रारम्भिक टोली घोषणा गरेको हो । हाल बसुन्धरा किंग्सबाट खेल्दै आएका किंग्सलेसहित १० खेलाडी सोहि क्लबका रहेका छन् । बंगलादेशले यसपटक साफ च्याम्पियनसिपका लागि बसुन्धराकै प्रशिक्षक ओस्कार ब्रुजोनलाई टोलीको प्रशिक्षक बनाएको छ । नियमित प्रशिक्षक जेमी डेलाई दुई वर्ष विश्राम दिँदै बंगलादेशले ओस्कारलाई जिम्मेवारी सुम्पिएको हो ।

साफका लागि अन्तिम २३ सदस्यीय टोली केहि दिनपछि घोषणा हुने बंगलादेशले जनाएको छ । नेपाल र बंगलादेशबीच राउण्ड रोबिन लिगको अन्तिम चरणमा प्रतिस्पर्धा हुनेछ । यसपटक साफमा ५ टोलीको मात्र सहभागिता रहेको हुँदा राउण्ड रोबिन लिगको शीर्ष २ स्थानमा रहने टोलीले फाइनल खेल्नेछन् । बंगलादेशले सन् २००३ मा आफैं आयोजना गर्दा साफ च्याम्पियनसिपको उपाधि जितेको थियो । सन् १९९९ र २००५ मा भने टोली सेमिफाइनलमा पराजित भएको थियो । सन् २०१८ मा घरेलु मैदानमा आयोजित प्रतियोगितामा भने बंगलादेश समूह चरणबाट नै बाहिरिएको थियो ।

प्रतिक्रिया